Advertisement Banner
Advertisement Banner

०६ शनिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

मिसन ८४ को सनसनी किन ?

२६ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

मिसन ८४ को सनसनी किन ?

हरेक साना ठूला पार्टी मिसन ८४ भनेर डिङ हाँकिरहेका छन् । मिसन संविधानसभाले के भयो, मिसन संविधानले के परिवर्तन आयो, मिसन ०७४ को आमनिर्वाचनपछि जे भयो, मिसन ०७९ को निर्वाचनको परिणाम पनि त्यही हो, कुशासन र भ्रष्टाचार । राजनीतिको अपराधिकरण, अपराधिको राजनीतिकरण । अब मिसन ०८४ पछि सुशासनको आशा गर्न सकिने अवस्था किन छैन भने ०४६ साल र ०६३ सालको परिवर्तनपछि राजनीतिमा, संसद र सत्तामा जो छन्, आज पनि तिनै नेता छन्, तिनै कार्यकर्ताको हालीमुहाली छ, भ्रष्टाचार झन झन बढेर गएको छ । अनि मिसन ०८४ ले के ल्याउँछ  भनेर आमनागरिकले आशा गर्ने, प्रतिक्षा गर्ने ?
मिसन ८० भ्रष्टाचारमय छ, तस्करी र अपराधमय छ । मिसन ८१, ८२ र ८३ मा पनि यही प्रवृत्ति हावी हुने संकेत हो मिसन ८४ ?
यदि राम्रो काम र सही परिणामका लागि मिसन ८४ को नारा लगाइएको र जनतालाई आशा देखाइएको हो भने अदालतमा न्याय सम्पादन किन सही तरिकाले भइरहेको छैन ? सेवाग्राहीले पाउनै पर्ने प्राथमिक सेवा किन पाइरहेका देखिदैनन् ? किन कोरोनापछि भूकम्प र बाढीपहिरोको चपेटामा परेका नागरिकले राहत पाउन सकेनन्, अझै छटपटीमा छन् । कतिपय बिरामी, बालबालिका, बृद्ध र सुत्केरीले समेत छटपटीमा बाँच्नु परिरहेको छ ? प्रभावकारी र प्रभावशालीले जे गरे पनि छुट हुने, सुविधा पाउने, आमनागरिकले कुनै पनि सुविधा नपाउने, पाउनैपर्ने सेवाको पनि कटौती हुने अवस्था छ भने मिसन ८४ को नारा अर्को भ्रमजालमात्र हो ।
काम गर्नेका लागि मिसन ८४ भन्नै पर्दैन । अहिले नै १० दलका हातमा सत्ता छ, ढुकुटी छ, जेसुकै निर्णय र काम गर्न सक्छन् । काम नगर्नेका लागि मिसन ०४६, मिसन ६३ वा मिसन ०७९ ले के लछारपाटो लगाएन, अब मिसन ८४ ले पनि कुनै तात्वीक अन्तर आउनेवाला छैन ।
चाहिने नेतृत्वमा नीति र नैतिकता हो, जनता र देशप्रतिको जवाफदेहीता हो । एउटै कोठामा प्रजातन्त्रवादी र सर्वहारावादी अटाएका छन्, चोचोमोचो मिलाएका छन् भने यिनको मिसन ८४ अर्को भ्रमजालमात्र हो । जनतालाई भ्रमित पारेर आफ्नो हातको सत्ता र शक्ति टिकाउने प्रपञ्चमात्र हो ।
सत्ता र संसदले चाहने हो भने मिसन भुइँमान्छेको सेवा चलाउन सक्छन्, मिसन उद्यम, समृद्धिको अभियान चलाउन सक्छन्, देश विकास र रोजगारीका लागि मेची महाकाली यात्रा चलाएर प्रत्येक प्रदेशमा ठूला ठूला उद्योग  सञ्चालन गर्न सक्छन् । नयाँ सोच केही पनि छैन । केही पनि नभएको राजनीतिले गर्ने र चलाउने भनेको भ्रम फैलाउने मात्र हो । अहिले कुनै छेकबार छैन, राम्रो काम गर्न सके गिर्दो आर्थिक अवस्था दह्रो हुनसक्छ । छैन, केही पनि गतिलो योजना छैन । किन देशको आर्थिक मेरूदण्ड भाँचियो, असफल राष्ट्र हुनतिर लागियो भनेर बिज्ञ, विशेषज्ञहरू बोलाएर छलफल गर्ने सम्मको काम पनि हुनसकेन । बरू सुन तस्करीमा, एनसेलको जालझेलमा, ठूला योजनाबाट कमिशनमा, राष्ट्रिय सम्पत्तिको दुरूपयोग गरेर स्वार्थ शिद्ध गर्नेतिर हरेक ठूला दल र नेताहरू संलग्न भएका समाचार आइरहेका छन् । योभन्दा दुर्भाग्यको परिदृश्य अरू के हुनसक्छ । जनताले सडकमा विद्रोहको आवाज उठाए भने प्रतिगमन सलबलायो, राजतन्त्रले टाउको उठाउन थाल्यो भनेर हुइया मच्चाउँछन् । राम्रो काम गरेको भए, जनताको अपेक्षालाई संवोधन गरेको भए जनताले सडकमा आउनुपथ्यो र ? जनतलो राजा आउ भन्नुपथ्र्यो र ? पार्टी र नेताको जयजयकार गर्थे । जनताले जुन प्रकारको विद्रोही आवाज उठाइरहेका छन्, त्यो यो पद्धति, यी नेतृत्वको असफलताको आवाज हो । यो आवाज दबाइयो भने अर्को सुनामी नहोला भन्न सकिन्न ।