Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सीमामा अवैध गतिविधि रोक्ने दुई देशका सुरक्षा अधिकारीको प्रतिबद्धता

१७ आइतबार , मंसिर २०८०२ बर्ष अगाडि

सीमामा अवैध गतिविधि रोक्ने दुई देशका सुरक्षा अधिकारीको प्रतिबद्धता

नेपाल-भारतको सीमामा हुने अवैध गतिबिधि रोक्न दुई देश बीचका सुरक्षा अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । दुई देश बीचका सुरक्षा अधिकारीहरूको जनकपुरधाममा सम्पन्न बैठकले उक्त प्रतिबद्धता जनाएको हो।

भारतको मधुवनी जिल्लासँग सीमा जोडिएका मधेस प्रदेशका चार जिल्लाका सुरक्षा अधिकारी सहभागि उक्त बैठकले द्विपक्षीय हकहितका लागि दुई देशका सुरक्षा चासोबारे सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताईएको छ ।

जनकपुरधाममा सम्पन्न बैठकले पुस १ गते जनकपुरमा हुने विवाह पञ्चमी मेलामा आउने तीर्थालु भक्तजनहरुको सहजीकरण गर्ने, सीमा क्षेत्रका अवैध क्रियाकलाप र सुरक्षा चुनौती, मदिरा तथा हातहतियार ओसारपसार नियन्त्रण, दशगजा क्षेत्रका अवैध संरचना हटाउनेलगायत विषयमा दुई देशका सुरक्षा अधिकारि सहमत भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए 

त्यस्तै नेपालका सबै नाका सवारी आवागमनका लागि खुला नरहेको अवस्थामा दुई देशका जनताबीच रहेको रोटीबेटीको सम्बन्ध, विवाह व्रतबन्धलगायत सामाजिक गतिविधिमा सहजीकरण गर्न दुवै पक्ष सहमत भएको बताईएको छ । साथै, नेपाली भूमितर्फको दशगजामा रहेका सीमास्तम्भको मर्मत तथा पुनःनिर्माण सुरु गरिसकेकाले भारतीय पक्षले चाँडै आफ्नो भागका सीमास्तम्भ मर्मत गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

हरेक चार–चार महिनामा नेपाल–भारतका सुरक्षा अधिकारीहरुबीच बैठक हुने गरेको छ भने प्रतेक महिनाको एक पटक सीमासँग जोडिएका जिल्लाका सुरक्षा निकायका प्रतिनिधिबीच बैठक बस्ने गरेको छ ।