नेपाल–संयुक्त अधिराज्यबीच मैत्रीसन्धि कायम भएको एकसय वर्ष पुरा भएको छ । दुई देशबिचको मैत्रीसन्धिले एक सय वर्ष पुरा गरेको अवसरमा परराष्ट्र मन्त्रालयले हनुमानढोका दरबारमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
उक्त अवसरमा आइतवार हनुमानढोका दरबारमा आयोजित विशेष कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सन्धिका महत्वपूर्ण पक्षबारे मन्तव्य राख्दै त्यसले नेपाल-संयुक्त अधिराज्यबीच सम्बन्ध सुदृढीकरणमा ठूलो योगदान गरेको बताए ।
नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले सन्धिको महत्त्व तथा दुई देशबीचको सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए । त्यसैगरी प्राध्यापक त्रिरत्न मानन्धरले नेपाल–संयुक्त अधिराज्य सम्बन्धले वर्तमान अवस्थामा पुर्याउन मैत्रीसन्धिले गरेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालका तर्फबाट मन्त्रालयका सहसचिव तथा युरोप–अमेरिका महाशाखाका प्रमुख गणेश ढकालले दुईदेशीय सम्बन्धबारे मन्तव्य राखेका थिए । साथै, दुई देशबीचको सम्बन्ध तथा एकसय वर्षअघि भएको उक्त सन्धिका असाधारण तस्वीर पनि प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा सङ्घीय संसद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, सशस्त्र प्रहरी बल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रमुख पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा पत्रकारलगायतको उपस्थिति रहेको थियो ।