भारतले हिजो जाजरकोटका भूकम्प पीडितका लागि आपतकालीन राहत सामग्री नेपाल पठाएको छ । पहिलो खेपमा भारतले १० करोड भारतीय रुपैयाँ बराबरको आपतकालीन राहत सामग्री नेपाल पठाएको हो ।
भारतीय वायुसेनाको एक विशेष विमान सी-१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी गराएको छ । उक्त राहत सामग्री आइतबार नेपालगञ्ज आइपुगेको बताईएको छ ।
भारतले पठाएको राहत सामग्रीहरुमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् । राहत सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् ।
मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिवद्ध रहेको भारतीय दूतावासले जनाएको छ । राहत सामग्री लिएर अपरान्ह साढे ४ बजे नेपालगञ्ज आएको भारतीय वायुसेनाको विमान नेपालगञ्जको राँझा विमानस्थल बाट साढे ५ बजे नयाँ दिल्ली तर्फ उडेको थियो ।