एमसीसी पास हुनैहुन्न, मर्न मार्न तैयार छौं भनेर सडक आन्दोलनमात्र होइन, सडकमा टायर बालेर सनसनी फैलाउनेहरू ०७८ फागुन दोस्रो साता एकाएक तिनको ज्वालामुखी तातो सेलायो, नेताहरू संसदमा पुगे र ०७८ फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भयो । अचम्म त के देखियो भने को समर्थक, को बिरोधकर्तासमेत छुट्टिएन । साझा सहमतिमा एमसीसीलाई संसदले स्वीकार ग¥यो ।
एमसीसीका सम्बन्धमा एक चीन विज्ञले सामाजिक सञ्जालबाट खुलासा गरेका थिए– एमसीसीका खुला विरोधकर्ताहरू देव गुरूङ, भीम रावल, लीलामणि पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृका प्रसाद यादव, मणि थापा, घनश्याम भुसाल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, भरत दाहाल थिए भने नाङ्गा समर्थकहरू वर्षमान पुन, प्रदीप ज्ञवाली, विष्णु रिमाल, पुष्प कडेल सतहमा देखिए र अर्धसमर्थकहरू भीम आचार्य, सुरेन्द्रप्रसाद पाण्डे, रघुजी पन्तलगायत थिए । ०७८ फागुन १७ गतेपछि समर्थक, विरोधकर्ताहरू सबै मौन छन् । भरत दाहाल युट्युवबाट चिच्याइरहेका छन्, उनको आवाज सरकार, संसद, नेता कसैले पनि सुनेको अनुभूति हुँदैन ।
एमसीसी नेपालले स्वीकार ग¥यो । एमसीसीबारे सरकार, संसद, नेताहरूले बुझ्नुपर्छ, आमनेपालीलाई बुझाउनु पर्छ र कसरी नेपालको पक्षमा अनुदानको सदुपयोग गर्ने भन्ने सम्बन्धमा लाग्नुपर्छ, अब एमसीसीको विरोध गर्नुको औचित्य देखिदैन । किनकि जनप्रतिनिधिले यसलाई स्वीकार गरेका छन् । अर्को महिनादेखि कार्यान्वयनमा जाने र ५ वर्षभित्र एमसीसीको परियोजना सम्पन्न गर्ने दायित्व नेपाल सरकारले लिनुपर्छ । पूर्वाधार निर्माण, विद्युत प्रसारण लाइनमात्र होइन, जग्गाको अधिग्रहणका समस्यासमेत नेपाल सरकारले समाधान गर्न सघाउने बचन दिएको छ । असार २९ गते दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु कार्यान्वयनकै समस्याका बारेमा बुझ्न आएको बताइएको छ ।
एकदिने तुफानी भ्रमणमा आउका डोनाल्ड लुले एमसिसी अनुदानको परियोजना कार्यान्वयनमा लैजान सहयोग गरेकोमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्षलाई धन्यवाद दिएर गएका छन् । यसअघि आउँदा एमसीसी चाहियो भन्ने, चाहिन्छ कि चाहिन्न, नचाहिने भए चीनको दबाबमा अस्वीकार गरेको अर्थमा बुझ्नुपर्ने भयो भनेर आवेग देखाएका डोनाल्ड लुले यसपल्टको भ्रमणमा कृतज्ञता व्यक्त गरेका छन् । उनको धन्यवादले नेपाली नेतृत्व तहमा खुशीयाली छाएको हुनुपर्छ । परराष्ट्रमन्त्री एनपी साउदले समेत एमसीसी कार्यान्वयन हुने बताएका छन् ।
एमसीसी कार्यान्वयनमा जाने दिन एमसीसीका बरिष्ठ अधिकारीहरूले नेपाल भ्रमणमा आउने पनि बताएका छन् ।
धन्यवाद दिन आएको बताएका डोनाल्ड लुले एमसीसी कार्यान्वयनमा गएपछि नेपालको विकासका लागि थप सहयोग गर्ने बचन पनि दिएका छन् । नेपाली नेताहरूले एमसीसी कार्यान्वयनमा आ–आफ्ना दल र सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अमेरिकाले गरेको निरन्तरको सहयोगका लागि हार्दिक धन्यवाद दिएका थिए । जाँदाजाँदै डोनाल्ड लुले कतैबाट अवरोध नहुने विश्वास व्यक्त गरेका थिए ।
फैलिएको बाक्लो संशय हटाएर देशहितको वातावरण बनाउने जिम्मेवारी नेताहरूको हो । जवाफदेही हुनैपर्छ ।