Advertisement Banner
Advertisement Banner

०१ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल-बंगलादेश उर्जा बैठक आजबाट सुरु हुने

३१ आइतबार , बैशाख २०८०२ बर्ष अगाडि

विद्युत व्यापार बारे छलफल गर्ने गरि नेपाल-बंगलादेश ऊर्जा बैठक सुरु हुने भएको छ । आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने गरि आजदेखि बंगलादेशमा नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक सुरु हुन लागेको हो ।

बैठकको पहिलो दिन आज संयुक्त कार्य समूहको बैठक बस्ने तयारी रहेको छ । दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्ने बताइएको छ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले गर्ने छन् भने बंगलादेशको तर्फबाट त्यहाँका ऊर्जा सचिव हाबिबुर रहमानले नेतृत्व गर्नेछन् ।

बंगलादेशमा लिखु ४ जलविद्युत आयोजनाको बिजुली बेच्ने प्रस्ताव छ । उक्त प्रस्ताव भारत सरकारले स्वीकृत गरेर आफ्नो प्रसारणलाइन प्रयोगको अनुमति दिएपछि बंगलादेशसँग आगामी वर्षायामअगावै विद्युत व्यापार गर्ने योजना रहेको छ । 

त्यसैगरि ६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी–३ को आयोजना विकासका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । उक्त परियोजना निर्माणका लागि नेपाल र बंगलादेशले सहमत भइसकेक छन् । नेपालले बंगलादेशलाई सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बंगलादेशलाई उपलब्ध गराउँदै यसबारे अध्ययन गरेर आयोजना अघि बढाउने सहमति अनुसार बैठकमा सुनकोशी–३ को निर्माणका लागि संयुक्त कम्पनी स्थापनाबारे पनि छलफल हुनसक्ने सम्भावना रहेको छ ।

२०७९ भदौ ९ गते बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको थियो । सो प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी तय गर्न बंगलादेशको सहमतिअनुसार अब आयोजनाका लगानीको मोडालिटीमाथि छलफल हुनेछ ।

बैठकमा बंगलादेशले सोलार बिजुली उत्पादनको अनुभव र नेपालले जलविद्युत आयोजना विकासको अनुभव पनि साटासाट गर्ने कार्यतालिका रहेको छ ।