Advertisement Banner
Advertisement Banner

०१ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पोखराबाट भारत उडानमा अनुमति दिन भारतको आनकानी

२६ मंगलबार , बैशाख २०८०२ बर्ष अगाडि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो शहरहरुमा भारतले अन्तर्राष्ट्रिय उडानको अनुमति दिन आनाकानी गरेको छ । बुद्ध एयरले पोखराबाट पहिलो चरणमा बनारसमा र त्यसपछि दिल्ली र देहरादुनका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उडान गर्न अनुमति मागेपनि भारतले उडान अनुमति दिन आनकानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमतिमा बुद्ध एयरले भारतका पर्यटकीय शहरहरुमा पोखराबाट उडान गर्ने योजना बनाएर नागरिक विमानन महानिर्देशनालय (डीजीसीए)सँग अनुमति मागेको बताइएको छ । हाल भारतले बुद्ध एयरको प्रस्तावलाई प्रक्रियामा रहेको जवाफ दिएर टारेको हो । पोखरा र भारतीय शहरहरुलाई हवाई सेवामा जोड्न भारत इच्छुक नभएको कारण अनुमति नदिएको हुनसक्ने प्रधिकरणले जनाएको छ । 

नेपाल र भारत सरकारबीच भएको हवाई सेवा सम्झौताअनुसार नेपाल र भारतका सबै शहरहरुमा उडान भर्न कुनै बाधा नहुने भन्दै बुद्ध एयरले पोखराबाट भारतमा छिट्टै उडान अनुमति पाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् ।

२०७९ पुष १७ गते उद्घाटन भएको पोखरा विमानस्थल २ फागुनमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रविधिको जडान सकेर पूर्ण सञ्चालनमा आएको हो । उदघाट्न भएकै दिन बुद्धले बनारसबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्न अनुमति मागेको भएपनि अनुमति नपाएपछि अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आन्तरिक उडानमार्फत गरिएको  ।

बुद्ध एयरले पोखराबाट भारतीय शहरमा उडान भर्ने अनुमतिका लागि भारतीय दूतावासमार्फत पनि भारतले यो कारणले अनुमति दिन सकिएन भनेको छैन, प्रक्रियामा छ भनेर टार्ने काम मात्रै गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णका अनुसर पोखराबाट वारणासीमा उडान भर्न सबै प्रक्रिया पुरा गरिएको र उडान अनुमतिको प्रतिक्षामा रहेको बताएका छन् । दोस्रो चरणमा भारतका दिल्ली र देहरादुनमा पनि उडान भर्न बुद्ध एयर ईच्छुक रहेको बताइएको छ ।

पोखरा विमानस्थल सञ्चालनमा आएको चार महिना भएपनि बुद्ध एयरबाहेक अन्य कुनै पनि वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका छैनन् । त्यस्तै एयर चाइना, थाइ स्माइल एयर, रोयल भुटान एयरलाइन्सले चासो दिएपनि उडान अनुमति लिने प्रक्रियाका लागि पत्राचार नगरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय एयरलाइन्सहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फिल्ड भिजिट गर्न आउने क्रममा जारी रहेको प्राधिरकणले जनाएको छ । पोखरा विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भएका कारण यो विमानस्थल भूराजनीतिक स्वार्थको चपेटामा पर्न सक्ने आकलन समेत गर्न थालिएको बताइएको छ ।

विमानस्थल चल्न चीन, भारत र अरु देशका पर्यटकहरुलाई सिधा उडानमार्फत पोखरा ल्याउनुपर्ने हुन्छ । पोखरा विमानस्थललाई बिजनेस दिन भारत र चीनका विभिन्न शहरबाट पर्यटकलाई सोझै पोखरा झार्नु सबैभन्दा बढी सम्भाव्य भएपनि चार महिनासम्म त्यसको कुनै संकेत नदेखिएको प्राधिकरणको भनाई छ ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा सीमित छ । काठमाडौंबाट बनारस उडान गरिरहेको बुद्ध एयरलाई पोखराबाट सोही गन्तब्यमा उडान अनुमति नदिएर भारतले चिनियाँ लगानीका नेपाली परियोजनाबारे आफ्नो दृष्टिकोण प्रष्ट गरेको अधिकारीहरु बताउँछन् ।

माग गरेको लामो समय भइसक्दा पनि भारतले अहिलेसम्म नेपालको हिमालय एयरलाइन्सलाई पनि भारतमा उडानका लागि ‘लेटर अफ अथोराइजेसन’ दिएको छैन । बुद्ध एयर र नेपाल एयरलाइन्सलाई उडानका लागि यस्तो आधिकारिता दिएपनि चिनियाँ लगानीकर्ता रहेको हिमालयले अहिलेसम्म भारतले उडान गर्ने मान्यता दिएको छैन ।

दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवालाई अत्यावश्यक रहेको पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका हवाई प्रवेश विन्दु र रुटबारे भारतले छलफल नै गर्न चाहेको छैन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि अब भारतीय शहरसँग उडानमार्फत जोडिने तयारीमा छ । हालसालै नेपाली एयरलाइन्सले भैरहवाबाट दिल्लीमा उडानका लागि पहिलोपटक भारतलाई प्रस्ताव गरेको छ ।

नेपाल एयरलाइन्सले १ जुनदेखि काठमाडौं–मलेसिया, मलेसिया–भैरहवा, भैरहवा–दिल्ली र दिल्ली–काठमाडौं उडानका लागि प्रस्ताव गरेको छ । यो प्रस्तावमा भारतको जवाफपछि भैरहवा विमानस्थलबारे भारतको धारणा प्रष्ट हुने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् । 

आईएलएसको समस्या प्राविधिक विषय भएकाले भविष्यमा सल्टिन सक्नेछ । तर,  भैरहवाबाट पनि भारतमा हुने उडान रोकियो भने विमानस्थलबारे भारत सकारात्मक छैन भन्ने बुझिन्छ ।