Advertisement Banner
Advertisement Banner

०१ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल विदेशीहरूको निगरानीमा

२५ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

काठमाडौं । नक्कली भुटानी बनाएर नेपालीको नागरिकता नै समाप्त पार्नेगरी मानव बेचिबिखनको मुद्दाले देश विदेशीहरूको निगरानीमा पुग्यो । संसदको बजेट अधिवेशन चलिरहेको छ, यो अधिवेशनमा भुटानी शरणार्थी प्रकरण उठेको छ । सत्ता र प्रतिपक्ष दुबै यो मामिलामा मुछिएका छन् । सत्ता र प्रतिपक्षीका नेताहरू एकादोस्रालाई भेट्छन्, बाहिर निस्केपछि एकदोस्राप्रति खुइल्याउने खालका अभिव्यक्ति दिन्छन्, संसदमा आरोप प्रत्यारोप भइरहँदा एकआपसमा हेराहेर गर्छन् । २०४६ सालको परिवर्तनपछिको बहुदल असफल भएकै थियो, २०६३ को अर्को परिवर्तनले पनि नेतृत्वलाई असफल नै देखायो ।
नेतृत्व असफल भए बिस्थापन हुन्छ, देशै असफल भए के हुन्छ ?
राष्ट्र असफल हुने अनेक कारणहरू छन्, ती सबै कारण नेपालमा विद्यमान भएकाले राष्ट्र असफल हुने र अराजकताको डढेलो लाग्ने खतरा बढेको छ । अर्थविदमात्र होइन, समाजशास्त्रीदेखि राजनीतिक विज्ञ, विश्लेषकहरू समेत नेपालको नेतृत्व, पद्धति, संविधान, संसद, सरकार सबै असफल भएको निष्कर्ष निकाल्दै सुधार्ने र सुध्रने समय कम छ, सन्तुलनमा ल्याउने प्रयास कतै पनि देखिदैन, अझै राजनीतिज्ञ हुँ भन्नेहरू भ्रष्टाचारमै डुबिरहेका छन् । यो भनेको राष्ट्र असफल भए होस्, आफू सफल हुनुपर्छ भन्ने अहंकार हो । नेताहरूको यही अहंकारले राष्ट्र र जनतालाई डुबाउने खतरा दिनदिनै बढेर गइरहेको देखिदैछ ।
राजनीतिक र कूटनीतिक ज्ञाताहरूको मत छ– आन्तरिक राजनीतिमा दम छैन, सम्हाल्ने सामथ्र्य समाप्त भएको देखिन्छ । कूटनीतिक रूपमा असफल हुँदै गएको नेपालमा भुटानी शरणार्थीको नाममा मानव तस्करीको मामिला उठेपछि राष्ट्रको सुरक्षा, नागरिकको हक, राष्ट्रियनीति, मानवाधिकार, कानुन व्यवस्थादेखि संवेदनशील गृह मामिलाको राजनीतिक र प्रशासनिक माथिल्लो तह नै अन्तर्राष्ट्रिय ठगी र आपराधिक गतिविधिमा मुछिएको आपत्तिजनक प्रकरणले नेपाल यतिखेर विश्वशक्तिको निगरानीमा पुगेको छ । नेपालमा रहेको शरणार्थी आयोगको समेत मिलोमतोमा भुटानी शरणार्थीका रूपमा मानव बेचबिखन भएको प्रश्न समेत उठेको छ । तर, बिना अध्ययन किन र कसरी यति ठूलो काण्ड सम्भव हुँदासमेत ठगिएकाको उजुरी नभएसम्म कसैले थाहा पाएन, चासो बढेको छ ।
नेपाल प्रहरीको ल्याकत र ताकत विश्वमै उदाहरणीय छ भन्ने प्रमाण विकिनी किलर चाल्र्स शोभराजलाई कसैले पक्राउ गर्न सकेन, नेपाल प्रहरीले सफलता पायो भन्ने नै पर्याप्त छ । राजनीतिकरण नभएको भए सुनकाण्डदेखि हरेक बलात्कार र हत्याकाण्डमा प्रहरीले सफलता पाउने थियो । प्रहरीलाई बदनाम गराउने राजनीतिकरणले हो । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाइदिने नामको ठगी र मानवबेचबिखन गर्ने गिरोहसँग राजनीतिज्ञ जोडिन पुगेका छन् । यसमा अमेरिकी चासो झन बढेको छ । 
अब छानबिनको प्रक्रिया सुरू भएको छ । अपराध गर्ने नछुटुन्, निरपराध नपरून् भन्ने आवाज पनि उठेको छ । सबैको एउटै मत छ– अनुसन्धानमा लिपापोती नहोस् । भारत र चीनमात्र होइन, अन्य मित्रराष्ट्रहरूको हित र विश्वास कमजोर हुनगयो भने नेपालजस्ता साना मुलुकका लागि महावित्ति आउन बेर नलाग्नेमा विवेक पुगोस् ।
अहिलेसम्मको अनुसन्धानले यो काण्डमा पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (यसअघि गृह मन्त्रालयका सचिव), एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, थापा गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, उनका छोरा निरजसहितको संलग्नता देखाएको छ । संसदमा बालकृष्ण खाण, मञ्जु खाणदेखि आरजु देउवासम्म यस मामिलामा जोडिएको कुरा उठेको छ । पूर्व प्रधानमन्त्री केपी ओलीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने मामिला उठ्यो ।
सरसर्ती हेर्दा यो मामिलामा एमाले र माओवादीबाट एमाले भएका नेताजतिलाई ठेगान लगाउने नियत त होइन भन्ने प्रश्न उठ्ने ठाउँ छ । यहीकारण राप्रपादेखि स्वतन्त्र पार्टीले क्यान्टोनमेन्ट घोटाला, सुन काण्ड, बालुवाटार जग्गा प्रकरणदेखि वाइडबडी जहाज खरिदसम्मका सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने माग उठेको छ ।
आशंका गरिदैछ, भिआइपीलाई जोगाउने प्रपञ्च रचिदैछ । ठगी मुद्दामा उच्च कर्मचारी र नेताहरूकै संलग्नता देखिएकाले शीर्ष नेतावीच मोलमोलाई सुरू भइसकेको छ । प्रहरीले नै दश एघार जना तानिन सक्ने भनिए पनि त्योभन्दा धेरैको आन्द्रा जोडिएको भनिदैछ । पूर्व गृहसचिव महेश्वर न्योपानै, बहालवाला अख्तियार प्रमुख प्रेमकुमार राई, पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्ने सम्भाबना छ । यो प्रकरणमा ८ सय ७५ जनाबाट १० देखि ५० लाखसम्म असुली गरेको देखिएको छ ।