चिनियाँ राजदूत सोङले नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरू हुने जानकारी दिएका छन् । चीनले साततले दरवार र छेउछाउका धार्मिक तथा पुरातात्विक सम्पदा पुनःनिर्माण गरिदिने भनेको लामो समयपछि यस्तो सूचना दिएका हुन् । राजदूत सोङ नुवाकोट नै पुगेरै अब काम सुरू हुन्छ, काम सम्पन्न गरिनेछ भन्ने विश्वास दिलाएका हुन् ।
भूकम्पग्रस्ता नुवाकोटका ८ पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्व सम्पदा २०७६ जेठमा ४५ महिनाभित्र पुनःनिर्माण पूरा गर्ने भनेर नेपालका तर्फबाट पुरातत्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच सम्झौता गरिएको थियो । समया पूरा भइसकेपछि चीनले यसमा चासो देखाएर राजदूतमार्फत छिटै काम सुरू हुने जानकारी दिएको हो ।
ती ८ सम्पदामा साततले दरबार, तुलजा भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रङ्गमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरका लामपाटी र सेतोपाटी– रहेको पुरातत्वले बताएको छ । यसबारे चिनियाँ प्राविधिकले काम सुरू गर्नुपूर्व के कसरी अघि बढ्ने भनेर अध्ययन गरेका छन् । राजदूतले ती संरचनामा पहुँच मार्ग खुला गर्न, आइपरेका समस्या समाधान गर्न र स्थानीयले सहयोग गर्नुपर्ने भनेका छन् ।