सभामुख देवराज घिमिरेलाई नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले शिष्टचार भेट गरेका छन् । बुधबार सभामुख घिमिरे र राजदूत एलेजान्ड्रोबीच सिंहदरबारमा भेट भएको हो ।
सभामुख घिमिरेसँगको भेटमा राजदूत एलेजान्ड्रो सिमानकास मारिनले संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।
शिष्टचार भेटमा सभामुख घिमिरेले नेपाल र क्युवाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास व्यक्त गरेका थिए । साथै, उनले महाभूकम्पको बेला क्युवाको चिकित्सक टोलीले पु¥याएको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।
क्युवाको संसदमा पहिलोपटक क्युवा–नेपाल मैत्री समूह गठनको तयारी भएको बताउदै राजदूत एलेजान्ड्रोले नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरेको बताइएको छ । उनले अमेरिकाले दुई वर्षअघि क्युवामाथि लगाएको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल उभिएको स्मरण गर्दै नेपालको समर्थनप्रति धन्यवाद व्यक्त गरेका थिए ।
सभामुख घिमिरेले क्युवाको संसदको हालै भएको निर्वाचनमा निर्वाचित अध्यक्ष र सांसदहरुलाई शुभकामना दिँदै दुई देशका संसदबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र संसदीय आदान प्रदान गर्न नेपाल तयार रहेको राजदूत एलेजान्ड्रोसँगको भेटमा बताएका थिए ।