नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकलाई नेपालले स्वागत गरेको छ । नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले उनिहरुलाई स्वागत गरेका हुन् ।
नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ उनिहरुलाई मन्त्री सुदन किराती र राजदूत सङ लगायतले खादा माला लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको बताइएको छ ।
हिमालय एयरलाइन्सको विमान चार्टर गरेर आज बिहान १८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् । भव्य स्वागत गरिएको पर्यटकहरुले नेपाल र चीनको झण्डा बोकेका थिए । कोरोना महामारीपछि चिनियाँ पर्यटकहरु पहिलो पटक सामूहिक रुपमा नेपाल भ्रमणमा आएका हुन् । चीनले नेपाललाई पनि पर्यटन गन्तव्य तोकेपछि उनीहरु आज बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
हाल कोरोनापछि दुई मुलुकबीच ठप्प भएको हवाई उडान, नाका सञ्चालन र आवतजावत पूर्ववत अवस्थामा फर्कन थालेको छ । नाकाहरु सञ्चालन र पर्यटक आगमनले नेपालको पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ