राजन कार्की - -
लोकतन्त्र चलाउने राजनीतिक दिमागमा भिरङ्गी सल्केपछि न मान रहनछ, न सम्मान ।
३ सेप्टेम्बर १६५८ मा मरेका बेलायती गणतन्त्रवादी शासक ओलिभर क्रमवेलको चिहान खनेर उसको टाउको लण्डनको वीचबजारमा झुण्ड्याइयो । निरकूशताको प्रमाणका रूपमा मरेको बाघको जुँगा उखेरलेको त्यो घटना तत्कालीन सभ्यताको सुरूआत मानियो । नेपालमा हिन्दुवाद र राजतन्त्रलाई राजनीतिक आवेगको किलामा ज्यूँदै झुण्ड्याएर धर्मनिरपेक्षता र गणतन्त्र लाइयो । हिन्दुवाद र राजतन्त्र यिनले लेखेको संविधानमा शव होला तर अहिले पनि बाँचेकै छ । संविधान शब बनेर गनाउँदा धर्मनिरपेक्षता र गणतन्त्रको साँप्रा लुछ्ने र जुकाले जसरी रगत चुस्नेहरू बास्ना आइरहेछ भनेर आँखा चिम्लिरहेका छन् ।
नेपालको इतिहास साक्षी छ— जननिर्वाचित सदस्य थिए रामराजाप्रसाद सिंह। बिखण्डनको कुरा गर्दा संसदमै उनलाई चड्कन हान्ने निस्किए । २०६५ सालमा गणतन्त्र कार्यान्वयन भएपछि पहिले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति मान्छु भन्ने प्रचण्डले मुख मोडे, आफै राष्ट्रपति बन्न चाहेको पोष्टर वाइसीएलमार्फत त्रिपुरेश्वरको मोडमा टाङ्न लगाए । गिरिजाप्रसाद र नेपाली कांग्रेसीको त्यतिबेला अनुहार हेर्न लायक थियो । सम्झना गर्दा हुन्छ । सिद्धान्तहीनताको त्यो पाप र पीपको पोखरी झै सुकेको छैन ।
चैत २० गते किनारा लगाएका राजाले सुनसरीबाट जनता अब जाग्नुपर्छ भन्दा जनताले ताली बजाए, लोकतन्त्रे नेताहरू लज्जाहीन बनेर हेरिरहे ।
२०६३ साल वैशाख ११ गते राजा र सात दलवीच कुनै प्रकारको राजतन्त्र मान्य हुने सहमति तोडेपछि कांग्रेसले हौसिएर आतंककारीको जुत्तामा खुट्टा हालेका थिए । हो, महेन्द्रको जुत्ता लगाएर माइलाछोरा ज्ञानेन्द्र सफल हुन सकेनन् । प्रचण्डको जुत्ता लगाएर गिरिजाप्रसाद तीन बल्ड्याङ् खाए । कांग्रेसजस्तो प्रजातन्त्रवादीले सर्वहारावादीको र मदन भण्डारी मान्ने पार्टीले सिद्धान्तलाई रेट्दा ऊ पनि सफल हुनसकेनन् । सफल व्यक्तिको जुत्ता लगाउँदैमा जुत्ता लगाउने अग्लो हुने होइन रहेछ । डा.रामवरण यादव कसरी राष्ट्रपति बने, विद्या भण्डारी कसरी सडकबाट शितल निवास पुगिन्, रामराजाप्रसाद सिंहलाई बोकेर हार खाएका प्रचण्डले कांग्रेसलाई मत हालेर रामचन्द्रलाई राष्ट्रपति बनाउनु परेको कथा हेर्नेहो भने नेपालको राजनीति र स्वस्थानीको लावण्य देश उस्तै उस्तै लाग्छ । यद्यपि प्रचण्ड ३२ सिटे भए पनि प्रधानमन्त्री छन्, निष्ठा र सिद्धान्तको कसीमा नेतृत्व माटो बनिसक्यो ।
८ वर्षमा जारी हुन नसकेको संविधान फास्ट ट्याकबाट ०७२ मा जारी गरियो र ०७४ चुनाव भयो । चुनावमा एमालेले कांग्रेसलाई भुइँमै सुताइदियो । त्यो ५ वर्ष झगडा र तानातानमै बित्यो । ०७९ को निर्वाचनमा एमाले पछाडि प¥यो, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी केही आशलाग्दा अनुहारसहित उदाए । तर राजनीति उही हानाहाना, तानातान र सेटिङमा छ । यतिबेला सत्तामा भेटिने माओवादी कांग्रेस र संसदमा देखिने एमाले र साना दलहरू एकदोस्रालाई खुइल्याउन अग्रसर छन् । यस्तै छ नयाँ नेपालको राजनीतिक थाङ्ने हाल ।
जनतामा आक्रोस बढ्दैजाँदा पहिले झलनाथ खनालले झापड खाएका थिए, पछि प्रचण्डले झापड र जुत्ता खाए । अरू अग्ला भनिएका नेताहरू गाली खाइरहेका छन्, होच्चिएर बाउन्ने हुँदैछन् । जनताको सम्मान आर्जन गर्ने नेता एकजना पनि छैनन् । लोकतन्त्र गाईजात्रा बन्यो । इन्द्रजात्राको लाखेनाच र लोकतन्त्रका नेताहरूको चाला उस्तै छ । सांसदलाई सडकमै गोली हानेको घटना पनि नेपालमै भएको हो । हरेक नेता निरंकूशमात्र होइन, भ्रष्टाचारी पनि हुन् । नेताको इज्जत चोर आयो भन्ने स्तरमा झरिसकेको छ । संविधानलाई राजनीतिकरण गरेर कानुनव्यवस्थालाई अपराधिकरण गर्ने मूल नाइके बन्ने नेतृत्वको होडबाजीले यो अवस्था ल्याएको हो । यसकारण यो लोकतनत्र होइन, पार्टीले हल्ला गर्ने हरेक प्रकारका बादको अन्तय हो ।
हिजो भुइँमान्छे प्रताडित भए, आज पनि भुइँमान्छे प्रताडित छन् । कहाँ आयो लोकतन्त्र ? भुइँमान्छेभित्रको आक्रोश आगो हो भन्ने कुरा इतिहासले पनि प्रमाणित गरेको छ । डढेलो लागेपछि सत्ता छेक्न सक्दैन । नेतृत्व सजग भए श्रीलंकामा जस्तो जनताले थुतेर दण्ड दिनुपर्ने छैन । हेक्का रहोस् ।
३५औं अमेरिकी राष्ट्रपति केनेडीलाई १९६३ मा गोली हानेर सिध्याइयो । बंगलादेशमा शेख मुजिवर रहमानलाई ढाकामै १९७५ मा गोली हानेर मारिएको हो । आइरन लेडी भनिने इन्दिरा गान्धीलाई सत्तामा भएकै अवस्थामा १९८४ अक्टोबर ३१ को दिन, आफ्नै सुरक्षागार्ड सतवन्त र बेअन्त सिंहले हत्या गरिदिए । अघिल्लो दिन भुवनेश्वरमा उनले भाषण गरेकी थिइन्— आज म यहाँ छु, भोलि नहुन सक्छु । नभन्दै भोलिपल्टै उनको हत्या गरियो । एउटै खालिस्तान मुभमेन्ट उनको हत्याको मूलकारण बन्यो । यसपछि पालो आयो इन्दिरा पुत्र राजीव गान्धीको । १९९१ मे २१ का दिन, तमिलनाडुमा तमिल लिवरेशन टाइगरले धनुमार्फत आरडीएक्ससहितको आत्मघाती बम बिस्फोट गराएर राजीव गान्धीको हत्या गरिएको हो । कर्ण हेजुलाई छाताको डाठले घोची घोची मारिएको घटना भक्तपुरेले बिर्सेका छैनन् । हत्याको श्रृंखलामा मिर्जा दिलसाद बेग, जमिम शाह, फैजान अहमद, ज्ञानेन्द्र खड्का, कृष्ण सेन, सार्द‘ल मियाँ, नारायण पोखरेल, उमा सिंह, मैना सुनार, डेकेन्द्र थापाहरू पनि परे । पादरी ग्याफ्नी र जापानी भिक्षुको प्रकरण किन लुकाइयो ? १९९७ सालका हत्याराहरूबारे किन कोही बोल्दैनन् ? दरवार हत्याकाण्डमा वास्तविक दोषी किटान गर्न कसले रोक्यो ? दृष्टान्त अनेक छन्, किन आजका लोकतन्त्रबादी हुँ भन्ने लुटाह नेताहरू इतिहासबाट शिक्षा लिदैनन् ।
सर्वहारावाद, बहुदलीय जनवाद भन्नेहरूले किन खोजेनन्– १९९३ मे १६ का दिन विचारका प्रवर्तक मदन भण्डारी र जीवराज आश्रितलाई दासढुंगाबाट नारायणीमा कसले, किन खसाल्यो ? मदन भण्डारीकी श्रीमती ८ वर्ष राष्ट्रपति बनिन्, उनले समेत यसमा चासो देखाइनन् । के नेपाल अपराधको चिहान हो, चिहान खोस्रने कोही छैनन् ? र, २०६४ सालमा हिन्दु धर्म र २०६५ सालमा राजतन्त्रको बलिदान किन गरियो ? कुन जनबल र जनादेशको शक्तिले बली चढाइयो ? बलिदान गरेपछि प्राप्ति के भो ? आजका राजनीतिक नेतृत्वले वर्तमान र इतिहासलाई जवाफ दिनुपर्दैन ?
गंगामायाँ अधिकारीले किन न्याय पाइनन् ? टीकापुरमा किन दुधेबालकको हत्या गरियो ? निर्मला पन्तको बलात्कारी र हत्यारा को हो ? ३८ क्विन्टल सुन, ३३ किलो सुन र सिलसिलेवार हत्यारा को को हुन् ? राष्ट्रिय ढुकुटी र राष्ट्रिय सम्पत्तिलाई फुपुको श्राद्धमा उडाएजसरी उडाउने शासकहरूले जे गरिरहेका छन्, त्यो निर्विकल्प जनताको बहुदलीय जनवाद नै हो त ? सर्वहाराको राजनीति गर्छ‘ भन्नेहरू कर्महारा बनेका छन् । परिवर्तनबाट समृद्धि, शान्ति र सुखानुभूतिको अपेक्षा गर्ने सोझा जनताका सामु यी परिवर्तनका नायकहरू अर्काले ठड्याइदिएका बुख्याँचा, पुतला साबित भए । कुनै नेता छन् भने बोल, जवाफ देऊ ।
लोकतन्त्र भन्नेहरूले भन्नैपर्छ— नेपाली कमारा हुन् कि सार्वभौमसत्ता सम्पन्न नागरिक ? नागरिकलाई कमारा ठान्ने हो भने लोकतान्त्रिक अग्रगमनकारी कोही पनि नेपाली हो भन्न लायक नै छैनन् । नागरिक सार्वभौम छन् भने नागरिकले नागरिक हक किन पाइरहेका छैनन् ? लोकतन्त्रलाई गायत्री मन्त्र बनाएर र समाजवाद भनेर जपिरहने अन्धभक्त मार्काहरू जनता हकारेर र लोकतन्त्र डकारेर मात्र पुग्दैन, नीति नैतिकता र सिद्धान्तमा पनि उभिनुपर्छ भन्ने किन बिर्सेका ? सार्वभौमिकता र लोकतन्त्रका बलात्कारीहरूले लोकतन्त्रको मर्म र महिमा मिचेर लोकतन्त्रको दुहाई दिइरहने ? जुनसुकै दलका हुन् कि सडकका हुन्, सत्तामहत्वाकांक्षी मार्काहरूलाई ज्ञात होस्— डाइनामाइटको आविस्कारकले साहित्यमा नोबेल पुरस्कार राखेका हुन् । मानवीय मूल्य र मान्यतामा, मान्छेको पहिचान र अस्तित्वमा डाइनामाइट प्रयोग गरिन्न भन्ने प्रत्याभूति थियो त्यो । त्यति पनि नबुझ्ने अवुझहरू जनताको बहुदलीय जनवाद र समाजवादको अर्थ बुझ्दैनन् भने त्यसको व्याख्या गर्न महेन्द्रले दियालो बंगलाबाट, मदन भण्डारी नारायणी नदीको कोखबाट, वीपी कोइरालाले अर्को जन्म लिनुपर्छ, कि यस्ता नक्कली मयुरपंखीहरू समाप्त हुनुपर्छ । यही अन्तर्य हो, भुइँमान्छेले पूजा गर्न तैयार गरेका आफ्नै प्रतिनिधिलाई गाला चड्काउनु, जुत्ता हान्नु र घृणा गर्नु । चेतनारहोस्, नेतृत्व सचेत होस् । होस् गर, मानवीयता र सिद्धान्त त्याग्ने र रक्तवीज नबुझ्नेले केही बुझ्दैनन् ।
अन्तमा एउटा सुझाव अधिनायक र भ्रष्टवाद मार्काका हाम्रा चिन्तक, विचारक, शासक र विश्लेषकहरूलाई—
पशुपतिक्षेत्र, बागमती किनारमा विरूप विरूपाक्षको मूर्ति छ । विरूपाक्ष अर्थात यौनतृष्णाको अन्धोबेग, आमासँग यौनतृष्णा मेटाउने कुरूप । यो मूर्तिलाई कलियुगको मूर्ति पनि भनिन्छ । यो मूर्ति जमीनमा धसिएको छ । यो मूर्ति जमीनबाहिर निस्केपछि ध्वस्तयुग आउने छ भन्ने मान्यता छ। पशुपतिक्षेत्र जाने र अध्ययन गर्नेहरूका अनुसार यो विरूप विरूपाक्षको मूर्ति क्रमसः बाहिर निस्कदैछ । यो प्रसङ्ग यसकारण पनि महत्वपूर्ण छ कि मान्छेलाई विवेकी भनिन्छ, मान्छेका व्यवहार विवेकहीन बनेपछि बाँदर र मान्छेमा भिन्नता बाँकी रहन्न । यौनाङजस्तै दिमागमा भिरङ्गी सल्केपछि मान्छे कुन, पशु कुन ? जो सत्य बुझ्छन् र सही छन्, छायाँमा छन् । वर्तमान नेपालका राजनीतिक, सामाजिक, आर्थिक, बौद्धिक सबै क्षेत्र नैतिकहीन र छाडा यौनबजारजस्तै बनेको अनुभूति जो कसैलाई भएको हुनुपर्छ । चेतनशील समाजमा नेपालमा जस्तो मूर्दा शान्ति हुन्छ र ? देश त जिवन्त हुनुपर्छ, मर्दै गएको छ चेतना, हामी उभिएको भूगोल चिहानजस्तो लाग्छ । वीरको देशमा वीररस छैन, भ्रष्टाचाररस मात्र देखिन्छ । भ्रष्टाचारीको शासन भनेको जंगल हो, जंगलमा विषालु र डरलाग्दा जनावर पाइन्छन्, जंगलमा मान्छे बस्छन् र ?
यसकारण सवाल छ— कतै राजनीति विरूपाक्षको संस्करणमा त छैन ? अनुरोध यत्ति छ, नेतृत्वमा रहेका प्रत्येकले ऐनमा आफ्नै अनुहार हेरून्ं र अन्यायको टुकुचामा डुबेर कति सफा र सुग्घरी छौं, दिमाग कति स्वच्छ छ ? तत्काल आत्ममिमांसा गरून् ।