Advertisement Banner
Advertisement Banner

०१ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चर्चाको शिखरमा पूर्वराजा

२९ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - - 
राजतन्त्र पुनस्र्थापित हुनै लागेको हो ? देशैभरि यस्तै चर्चा परिचर्चा छ ।
झापामा आयोजित सार्वजनिक सभामा उपस्थित भएका पूर्वराजा सुनसरीमा अभिनन्दनपछि प्रत्यूत्तरमा देश गम्भीर संकटमा फसिसकेको सार्वजनिक अभिव्यक्ति नै दिन पुगे । पूर्वराजाको अभिनन्दन गर्न र प्रत्युत्तर सुन्न जम्मा भएका हजारौं नागरिकहरूले पूर्वराजाको चिन्ता र चासोप्रति आभार प्रकट गर्न पुगे ।
जनयुद्ध र जनआन्दोलनपछि देश प्रत्येक दिन संकटमा फस्दै गएको, रोजगारी नासिएको, युवाले घरदेश छाड्नुपर्ने बाध्यता बढेको र देशको अर्थतन्त्र रेमिटान्सले धान्नु परेको यथार्थले पनि देश कतै श्रीलंकाको जस्तो घनघोर आर्थिक संकटमा फस्न लागेको त होइन भन्ने आशंका बढेको छ । स्वयम् अर्थमन्त्रीले अर्थतन्त्र समस्यामा रहेको बताएका छन् भने दुई महिनाको खर्च धान्न पनि धौ धौ स्थिति रहेको खुलासा भइसकेको छ ।
१० दलीय गठबन्धनको सरकार छ । सरकार देश र जनताका समस्याप्रति उदासीन देखिन्छ । हरेक नेता सत्ताकै पछि दगुरिरहेका छन्, राजनीतिमा जवाफदेहिता छैन, सबैलाई पद र प्रतिष्ठा चाहिएको छ । यस्तो गलत नेतृत्वकै कारणले गर्दा राष्ट्रिय समस्या झन झन बढेर गएको हो । संघीयता भनिएको छ, उखु किसानले उखु बेचेको पैसा पाएनन्, अन्य किसानले मल बीउबिजन पाएनन्, मलको अनुदान हटाइयो, मिटरब्याज पिडितदेखि महिला हिंसामा परेकाहरू समेत राजधानीमा हरेक दिन नाराबाजी, जुलुस गरिरहेका छन् । विदेशीहरू कस्तो सरकार बनाउने, कसलाई सरकारमा पठाउने, कस्तो नीति ल्याउनेदेखि लिएर बेपत्ता र मेलमिलाप आयोगमा रहेका ६५ हजार मुद्दाको छिनोफानो कसरी गर्ने भन्नेतिर चासो राखिरहेका छन् । नागरिक समाजदेखि मानवाधिकारवादीहरू समेत कहाँ छन्, अत्तोपत्तो देखिदैन । देश अन्यायको सिस्नोघारीजस्तो बनिसकेको छ ।
बिगत १५ वर्षमा पूर्वराजा धेरैपल्ट हरिद्वार गए, कुम्भ मेला भरे, हिन्दुराजाको अभिनन्दन भयो । यसपल्ट भने पूर्वराजाको सकृयता अर्थपूर्ण मानिएको छ । विश्लेषकहरू भन्छन्– नेपालको दुरावस्था, छिमेकी र मित्रराष्ट्रहरूको असन्तुष्टि, नेपाली जनताको आक्रोश सबै मिलाउँदा लोकतन्त्रलाई असफल पारेका छन् वर्तमान नेतृत्वले । यी परिपक्व देखिएनन् । आफू बदनाम भए, मित्रहरूको पनि बदनाम गराइदिए । हालसम्म भारतको मात्र विरोध हुन्थ्यो, यसपल्ट त चीन र अमेरिकाविरूद्ध सडकमै आन्दोलन भयो । अमेरिकाको समेत विरोध हुने वातावरण नेताहरूले नै बनाइदिए । चीनको दूतावास अगाडि त प्लेकार्ड बोकेरै बिरोध गरिएका दृश्य देखिन्छन् । भारतलाई त सीमा अतिक्रमण र राजनीतिक हस्तक्षेपका कारण विरोध हुनु निरन्तरताजस्तै छ । यस्तो बेलामा हरेक मित्रराष्ट्र, छिमेकीको सुरक्षादेखि आफ्नै मुलुकको उद्धारका लागि समेत पूर्वराजाले कम्मर कसेको देखिन्छ ।
चुरो कुरो के हो भने अवसरवादी राजनीतिक दलहरूबाट आमनागरिक आजीत भइसकेका छन् । रूस र युक्रेनको युद्धमा भारत तटस्थ बसे पनि नेपालले युक्रेनलाई समर्थन गरेर असंलग्न नीतिलाई समेत तिलाञ्जली दिएको आरोप छ । विहान पाकिस्तानी दूतावासमा, दिउँसो भारतीय दूतावासमा र साँझ चिनियाँ दूतावासमा खान भ्याउने राजनीति अचम्मको छ । आफ्नो नीतिमा त बस्नै सक्दैनन् । अझ घण्टा घण्टामा बोली फेरिरहन्छन् । कूटनीतिक मर्यादा, राजनीतिक निष्ठाको अलिकति पनि ख्याल गर्दैनन् । यिनीहरू व्यक्तिगत, गुटगत, पार्टीगत स्वार्थमात्र हेर्छन् । राजनीतिक अराजकतापछि कूटनीतिक अराजकता पनि बढेको छ । सबै यथार्थ बुझेका छन् नागरिकहरूले । यसकारण पनि नागरिकहरूले पूर्वराजा सडकमा ओर्लिएको विषयलाई समयोचित मानेका छन् । यसपल्ट त राजनीतिक नेताहरूले समेत पूर्वराजाको आलोचना गर्न सकेनन् । सायद यहीकारणले होला, विदेशी कूटनीतिक समुदाय पूर्वराजालाई भेट्वार्ता गर्न आतुरी देखाउन थालेका हुनसक्छन् ।

अब समय आयो, आमनागरिकले पूर्वराजालाई साथ दिने, देश बोक्ने ।