नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको विषयमा छलफल भएको बताइएको छ ।
अमेरिकाले कुन–कुन क्षेत्रमा थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थमसनबीच छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालको अर्थतन्त्रमा आएको गिरावट र आर्थिक तरलतालाई उकास्न मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको बताउदै नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको बताइएको छ ।
नेपालले लगानी गर्न खोजेको क्षेत्रमा अनुरोध आए अमेरिकाले एमसिसि मार्फत थप लगानि गर्न चाहेको बताउँदै मन्त्री डा.महतले नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको बताए ।
भेटघाटको क्रममा मन्त्री डा.महतले अमेरिकी सरकारको अनुदान सहयोगका लागि राजदूत थमसनलाई धन्यवाद दिएका थिए ।