काठमाडौं । सत्ता गठबन्धनले सांसदलाई राष्ट्रपतिकिो निर्वाचनमा मत यताउता नहोस् भनेर अभिमुखीकरणको पाठ पढाएका छन् । प्रम प्रचण्डले एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गरेकै कारण सत्ता समीकरण बदल्नुपरेको प्रष्टिकरण दिएका छन् । ‘पुस २६ गते संसद्मा मैले प्रधानमन्त्रीका रूपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्मा जे बोल्नुभयो, त्यसले मनमा चसक्क भयो । हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौं तर उहाँले ठीक गरेको भनेपछि सोच्न बाध्य भयौं ।’ संविधान र लोकतन्त्रको रक्षा गर्न एक भएका छौं ।
प्रचण्डले गठबन्धनका सांसदलाई पढाए– ओलीले मौका पाए फेरि प्रतिनिधिसभा विघटन गर्नसक्छन् । राष्ट्रपतिले पनि अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै फेरि एमालेबाट राष्ट्रपति बनाइयो भने त्यस्तै प्रवृत्ति दोहोरिने भयले समीकरण बदलेको खुलासा पनि गरियो ।
एमालेले प्रतिगमन गरेको, मौका पाए प्रतिगमन गर्छ भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको पनि आरोप छ । देउवाले रामचन्द्र पौडेल राष्ट्रपति हुँदा संविधान च्यात्ने जोखिम नहुने प्रत्याभूति दिएका थिए । रामचन्द्रजी अहिले राष्ट्रपति पदका सबैभन्दा योग्य व्यक्ति भएको देउवाको ठहर छ ।
चुनाव हो, के हुन्छ भन्न सकिन्न । एमालेले साम, दाम, दण्ड, भेद नीति लगाउला, गठबन्धनको मत यताउता होला भनेर अभिमुखीकरण कार्यक्रम राखिएको हो ।