देवी काफ्ले - -
वैदिक संस्कृतिमा नारीको स्थान पुरूषभन्दा कम थिएन । प्राचीन ऋग्वैदिक कालमा महिलाहरू पूर्ण अधिकार सम्पन्न एवं शसक्त थिए भन्ने प्रमाणहरू विभिन्न शास्त्रमा भेटाउन सकिन्छ । मूल वेदलाई अध्ययन गर्दा मानिस मानिस र पुरूष र स्त्रीजातीमा कुनै किसिमको भेदभाव गरेको भएको पाईंदैन ।
ऋग्वेदमा ऋचा संचय गर्ने ब्रह्मवादिनीहरूको अस्तित्व समाजमा गौरवको रूपमा रहेको थियो । शतपथ ब्राह्मणमा उल्लेख भए अनुसार योगेश्वर याज्ञवल्क्यसंग येनाहं नानृतं स्यां तेन किमहं कुर्याम् अर्थात् जुन कर्म गर्नाले मेरो जीवन सफल र सुखी हुन्छ, म झुटो र असफल हुनुपर्दैन, त्यस्तो कर्म के छ ? बताउनुहोस् भनेर अनन्त प्रश्न गर्ने आयावर्त भूमिका गौरवमयी आर्य महिला नै थिए ।
वैदिक समयमा कुमारीहरू वासनाका सिकार मात्र भएर बस्थे भन्ने आधार कतै भेटिदैन । जनकको राजसभादेखि समस्त आर्यावर्तमा गार्गीजस्ती विदुषीलाई शास्त्रार्थ वा प्रश्नोत्तरमा शान्त पार्न योगीवर यज्ञवल्क्यलाई परेको थियो । मैत्रेयीका जिज्ञासाको उत्तर यज्ञवल्क्यले दिइरहनु परेको थियो ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः अर्थात जहाँ नारीहरू पूजिन्छन् त्यहाँ देवताहरू पनि रमाउछन् भन्ने यो उद्गारमा भृगु ऋषिले पनि भन्नुभएको थियो । गार्गी र मैत्रेयीका कुराले भन्न सकिन्छ कि वैदिक कालमा नारीहरू अत्यन्त शिक्षित र दिक्षित थिए । आजको बिकसित र सभ्य समाजका नारीहरू भन्दा धेरै प्रकारले पूजनीय र माननीय थिए ।
ऋग्वेदमा यस्ता विदुषी नारीहरू नै ऋचादर्शी र संग्रह गर्ने विशिष्ट विदुषी थिए भन्ने अनेकौं प्रमाण छन् । अतः बिभेदका कुरा धेरै पछी मात्र आएका हुन् भन्न गाह्रो छैन । ऋग्वेदको दशौं मण्डलको ८५ शुक्तको ४७ औं ऋचालाई आफ्नै अनुभूतिबाट प्रकाशित प्रकाशित गर्ने ऋषिका ब्रह्मवादिनी सूर्या थिइन् । ऋग्वेद प्रथम मण्डलको १२६ शुक्तको ७ ऋचाको संकलन गर्ने ऋषिका ब्रह्मवादिनी रोमशा थिइन् । ऋग्वेद अष्टम मण्डलको प्रथम शुक्तको ३४ ऋचा संकलन गर्ने ऋषिका ब्रह्मवादिनी शाश्वती हुन् । यसैगरी ब्रह्मवादिनी वाक्, अपाला, गार्गी, मैत्रेयी, विश्ववारा जस्ता विदुषीहरूले ऋचा संकलन गरेका छन् । ममता, उसिजा आदी नारीहरूले पनि वेद पढेर उच्च शिक्षा हासिल गरेका थिय । यजुर्वेदमा यथेमां वाचं कल्याणी.... मन्त्रमा अधिकार सुरक्षित भयको बुझिन्छ ।यहाँ केही बुद्धिजीवी वर्गहरूबाट पनि आर्य समाजीहरूको कुरा भनेर पन्छाउन खोजिएको पाइन्छ तर वेद आर्य समाजको मात्र हैन अपितु सबैको हो । ऋग्वेदीय प्रमाणहरूबाट नारी समाजलाई पूर्ण वेदाध्ययन गर्ने अधिकार भएको बुझिन्छ । संसारमा स्मृतिभन्दा श्रुति प्रमाण सर्वमान्य छन् । अतः वैदिक कालमा स्त्री शिक्षा सुदृढ थियो भन्ने सिद्ध हुन्छ ।
वेदब्यास महर्षिले देवीभागवत लेखेर आदिशक्ति माताको गुणगान गर्नुका साथै उहाँको बिशिष्ठ चरित्र वर्णन गरेका छन् । मार्कण्ड महर्षीले दुर्गा कवच लेखेर दुर्गापूजाको आरम्भ गराएका थिए । कुनै संस्कार वा संस्कृतिका कर्महरू शुरू गर्दा कन्याहरूलाई टीका लगाइदिएर कार्य प्रारम्भ गर्ने प्रचलन थियो र आज पनि छ ।
पहिले नारीको पनि ब्रतबन्ध गरी वेद पढ्ने चलन थियो । वेदपुराणहरूको गहन अध्ययन गर्ने हो भने नारीहरूप्रति पूर्विय आर्यसमाजले निकै ठूलो श्रद्धा र सम्मान गरेको प्रष्ट हुन्छ । आजभन्दा करीब १००० बर्ष पहिले उल्लेख भएको मनुस्कृतिले भने अनुसार ‘स्त्री शुद्रौ नाधीयता’ भनेर स्त्री र शूद्रवर्गलाई वेद पढ्नबाट बन्चित गरेपछि त्यसपछिका स्मृति र नितिशास्त्रहरूमा पनि स्त्री र शूद्रलाई वेद पढ्ने पढाउने कुराबाट बन्चित गर्दै आएको देखिन्छ ।
आजसम्म पनि हामी मनुस्मृतिका कुरामा मक्ख परेर उनको स्मृतिका व्याख्या गर्छौं वेदलाई गाली गर्छौं । सुधारात्मक आजको समयमा वेद पढ्न कसैलाई रोकटोक छैन । अधिकार कर्मीहरूले बेलाबेलामा नारीको स्थान वैदिक कालमा कस्तो थियो र आज के छ राम्रोसंग अध्ययन गरे हुनेथियो ।