काठमाडौं। प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा कौरव सेना हो भन्ने धारणा राखेर स्वतन्त्र सभासद अतहर कमाल मुसलमानले संविधानसभाभित्रै 'कमाल' गरिदिएका छन्। संवाद समितिको अन्तिम दिनको बहसमा सहभागी भएर कमाल मुसलमानले महाभारतको कथा सुनाइदिए। उनले सत्तापक्ष गठबन्धनलाई पाण्डव, प्रचण्ड गठबन्धनलाई कौरव र स्वयं प्रचण्डलाई सकुनीको संज्ञा दिदा माघ ४ गते संविधानसभा हलभित्र टेबुल ठोकाठोक उत्साह देखिएको थियो।
कमालले प्रवचनजस्तै गरेर भने– जसरी महाभारतमा सकुनीको कारण कौरवर पणडवको युद्ध भयो, अहिले संविधानसभामा पनि कौरव र पाण्डव देखिएका छन्। सकुनी कता छन्? सकुनीलाई बोकेर हिड्दा हारिन्छ भन्ने बुझौं, दुई तिहाई सभासदको हस्ताक्षरको सम्मान गरौं, संविधान जारी गरौं। संविधान धर्मग्रन्थ होइन, दुईतिहाई मत ल्याएर समयानुसार संशोधन गर्न सकिन्छ। ४ सय १३ सभासदको हस्ताक्षरसहितको मागलाई चानचुने नसोचौं। अपमान नगरौं।
कमाल मुसलमान कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सभासद हुन्। उनले जाति, भाषा, धर्म, मधेसका नाममा बार्गेनिङको राजनीति भइरहेको छ। म मधेसको प्रतिनिधित्व गर्छु, म मुस्लिम हुँ, तर मेरो अधिकारका नाममा अरुको अधिकार हनन गर्न पाइदैन। मधेसका नाममा ठेकेदार निस्कन खोज्दैछन्, खबरदार। धर्म, जाति र मधेसका नाममा संघीयता हुनसक्दैन, बनाउनु हुन्न। पहिलोपटक संविधानसभामा कुनै मधेसको प्रतिनिधित्व गर्दै मुस्लिमले यति कडा भाषामा राष्ट्रिय एकताका विषयमा दह्रो आवाजमा बोलेको सुनियो।पहिले पहिले यो देशमा मुसलमान पनि छन्, तिनको हक अधिकार सुनिश्चित गरियोस् भनेर संगठन खोलेर एकाध प्रदर्शन गर्ने र शान्त स्वरले माग राख्ने गर्दथे। यसपटक कमाल मुसलमानले एक नेपाल हाम्रो शक्ति हो, नेपाली नेपालीलाई बिभाजन नगर भनेर संविधानसभामा तीब्र बिरोध गरे। त्यो पनि महाभारतको कथा वाचन गरेर। यो देशमा मुसलमानले हिन्दू धर्ममा डक्टरेटसमेत गरेका छन्। यो देशमा कहिल्यै हिन्दू, मुस्लिमको दंगा गर्न खोज्नेहरु सधैं पराजीत भए। यो अर्थमा वकिल मुसलमानले जे बोले, त्यसमा सबैले सोच्न जरुरी आवश्यक छ।