नया दिल्ली, १८ असोज । नेपाली जनताले नाका बन्दीको नाममा निर्मममता पूर्वक कष्ट र दुःख सहनु परेको भन्दै सीमा क्षेत्रबाट निर्वाध रुपमा गाडीहरु आवत जावत गर्न दिन नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भारत सरकारसँग आग्रह गरेका छन् । भारतको नया दिल्लीमा आयोजित एक विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन । ढकालले अन्तराष्ट्रिय मापदण्ड र लोकतान्त्रिक पद्दति अनुसार निर्मित नेपालको संविधान समाबेशी र अग्रगामी भएको जिकिर गरे । उनले अपुग तथा छुटेका प्राबधानहरु संशोधन मार्फत निरन्तर परिमार्जन गर्दै लैजान सकिने समेत बताए । उनले तराई मधेशको समस्या नितान्त नेपालको आन्तरिक मामिला हो भन्दै नेपालीहरुनै आफ्नो घरको समस्या समाधान गर्न सक्षम छन् भन्दै सात दशकको नेपालीको चाहना पुरा गरेको नया संबिधान विश्व समुदायले स्वागत गरेपनि सबै भन्दा निकट छिमेकि भारतले स्वीकार गर्न आलटाल गर्नुले नेपालीहरु आश्चर्यचकित भएको उल्लेख गरे । व्यवस्थापिका संसदका सदस्य समेत रहेका ढकालले महा विनासकारी भुकम्पबाट बिस्तारै माथि उठ्न लागेको बेला अघोषित नाकाबन्दी गरेर भारतले छिमेकी राष्ट्रका जनतालाई पीडा थप्ने काम गरेका बताए । नेपाल अघोषित रुपमा गरेको नाकाबन्दीले नेपालको पारबहन अधिकारको हनन हुनुका साथै अर्थतन्त्रमा नराम्रो प्रभाब परेको उनले बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुइ पटक नेपाल भ्रमण गरेर आर्जन गरेको नेपालीको माया र सम्मान नाकाबन्दीले सुन्यमा पुगेको चर्चा गरे । कार्यक्रमका प्रमुख बक्ताको रुपमा रहेका ढकालले १६०० किलो मिटर खुला सिमाना भएको नेपालले भारतको सुरक्षाको चासो सम्बोधन गर्न पहिले नेपालमा शान्ति, सदभाब, विकास र स्थायित्व आवश्यक छ भन्दै अशान्त नेपालले न त भारत र चीनको चासो नै सम्वोधन गर्न नसक्ने धारणा व्यक्त गरे । उनले विश्वकै ठुलो लोकतन्त्र र चलायमान अर्थतन्त्र भएको भारतले दक्षिण एसियामा मात्र होइन सिंगो विश्व समुदायलाई शान्ति, विकास र स्थायित्वको नमुना प्रस्तुत गर्न सकोस भन्ने शुभ कामना दिदै अन्तरक्रियामा उठेका प्रश्नहरुको जबाफ समेत दिएका थिए । सोहि कार्यक्रममा बोल्दै भारतीय जनता पार्टीको बरिस्ठ नेता विजय जोल्लीले जनप्रतिनिधिद्वारा पारित संविधान अस्विकार गरेको छैन भन्दै नाकाबन्दी पनि नगरेको बताए । अर्का बक्ता भारतीय कांग्रेशका पूर्व युनियन मन्त्री तथा वर्तमान राज्यसभा सांसद मनि शंकर एयरले बिहारको चुनावको कारण भारत सरकारले नेपालको संविधानको स्वागत नगरेको भन्दै भारतले गलत समयमा बिशेष दुत पठाएर गल्ति गरेको भन्दै एक भारतीय नागरिकको हैसियतले क्षमा याचना गर्दै नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा हेर्न भारत सरकारलाई आग्रह गर्नु भयो । अन्तरक्रियामा सिक्किम सरकारका मन्त्रि जी. एम. गुरुङ, पूर्व भारतीय राजदुत के. भी. राजन, पूर्व राजदुत असोक साजिकार, प्राध्यापक महेन्द्र लामा, डा. रबर्ट किटेल, बि. जे. पी. नेता गोपाल ठाकुर, डा. प्रमोद मेहरा, सन्तोष पौडेल लगायतले बोलेका थिए ।
अन्र्तराष्ट्रिय माप दण्ड विपरित नाका बन्दी