Advertisement Banner
Advertisement Banner

०२ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नागरिकका लागि होइन, नागरिकताका लागि राजनीति

२९ आइतबार , श्रावण २०७९२ बर्ष अगाडि

काठमाडौं । अग्रगमन, परिवर्तन, विधिको शासन, समानता, शान्ति र समृद्धि ः यही सपना देखाएका थिए पार्टीहरूले । नेताहरूले । २०६३ सालको परिवर्तनपछिका १५ वर्षमा कुनै पनि उपलब्धि हासिल हुन सकेनन् । किन ? यस विषयमा विषद विश्लेषण जरूरी छ । विश्लेषण आम नागरिकले गर्नुपर्छ, विश्लेषण तमाम नेताहरूले गर्नुपर्छ । कहाँनेर चुक हुनपुग्यो, गल्ती कमजोरी के के भयो ? जिम्मेवारी कसको हो, जवाफदेही को को हुन् ? अब यी सवालका जवाफ खोजिनुपर्छ ।
किनकि देश कृष्णभीरमा पुगिसकेको छ । कोही भन्छन्– देश युक्रेन मार्गमा लाग्यो, कोही भन्छन्– अफगानिस्तानको मार्गमा, कोही श्रीलंका हुँदैछ भन्छन्, कोही फिजीमार्गबाट सिक्किमीकरणतिर अग्रसर भइसक्यौं भन्छन् । अर्थात हाम्रो ओह्रालोयात्रा तीब्र गतिमा छ । समृद्धिको सपना सोम शर्माको सपना भयो ।
डरलाग्दा डरलाग्दा टिप्पणीहरू सुनिन्छन् । संसद, सरकार, अदालत, संवैधानिक निकाय, राजनीतिक पार्टी र नेताहरू कोही पनि सही मार्गमा छैनन् । सबै भाँडिएका छन्, भाँडभैलोका मतियार बनेका छन् । जसलाई जनताले नेता माने, तिनीहरू भ्रष्टाचारका काइते कारिन्दा बनेका छन् । नीति, नैतिकता र निष्ठा शासन प्रशासनमा बाँकी देखिदैन । हरेक नेताका निधारमा प्रश्न छ– कति अनैतिक बन्न सकेको ?
मंसिर ४ मा चुनाव घोषणा गरिएको छ । सत्तारूढ ५ दलीय गठबन्धन एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने कुरा अगाडि आएको छ । एउटै चुनाव चिन्ह लिएर भिन्न भिन्न विचार भएका दल चुनाव लड्ने भए पार्टी व्यवस्था किन चाहियो ? स्वच्छ प्रतिस्पर्धा र जनताले प्रतिनिधि छान्नुपर्नेमा मिलेर चुनाव जित्ने, शासन गर्ने र लुट्ने ? ध्येय यही देखिन्छ, जुन अनैतिक हो । जनता बुझ्दैनन् ।
यहाँसम्म कि सत्तारूढ माओवादी नेता प्रचण्ड भन्छन्– मैले चुनाव नजिते देश दुर्घटनामा जान्छ । प्रतिपक्षी एमाले भन्छ– चुनाव नजिते अराजकता फैलिन्छ । सत्तामा रहेका कांग्रेसको आफ्नै रणनीति छ । जसपा, जनमोर्चा, नकेपा स चुनाव जित्नैपर्ने दबाबमा छन् र प्रतिपक्षीविरूद्ध गठबन्धन झन कसिलो बनाउन अग्रसर भएका छन् ।
सत्य के हो भने बिगत १५ वर्षदेखि यिनै राजनीतिक नेतृत्वबाट लुटिएका, ठगिएका नेपाली हामी अझै  कहिलेसम्म ठगिने ? यसपल्टको चुनावमा पनि हामीले सही नेतृत्व चुन्न सकेनौं भने अस्तित्वको संकटमा फसेका हामी अस्तित्वविहीन पनि हुनसक्छौं । जोखिम दिनदिनै बढ्दो छ ।
किनभने जे जति स्थापित नेतृत्व छ, ती देश बेचेर सत्ता किन्ने तत्व सावित भइसके । लोकतन्त्रको आवरणमा नागरिकको राजनीति गर्ने भन्दै नागरिकता बाँडिरहेका छन् । नागरिकता विधेयक पास गर्ने तत्व यिनै हुन् । नेपालीलाई नागरिकता दिनुपर्छ, तर हाम्रो नेतृत्व नागरिकता बाँड्छ, बेच्छ । संसारमै, सार्क मुलुकमै नभएका प्रावधान खुला पारेर नागरिकताको राजनीति गर्न उद्दत छन् । नागरिकता विदेशीलाई हातोहात बाँडेर तिनकै मतले चुनाव जित्ने र सत्तामा ढलीमली गर्नेहरू देशका दुश्मन हुन् । जनताले अहिले नचिने कहिले चिन्ने ?
हरेक नेतालाई प्रधानमन्त्री बन्नुपरेको छ । प्रधानमन्त्री बन्न जुनसुकै नेता जुनसुकै देशमा जान र विदेशीको ग्यारेण्टी खोज्न तैयार छन् । भाषणमा राष्ट्रवादी देखिने र कर्ममा अराष्ट्रवादी निर्णय गर्नेहरू यतिबेला नेपालमा हालीमुहाली चलाइरहेका छन् ।
एक कडाखालका विश्लेषकले लेखेका छन्– विदेशी हितमा भुक्ने, स्वदेशी हितमा लुक्ने, नागरिक समाज र बुद्धिजीवी छन् हाम्रो देशमा । यी नागरिकका लागि होइन, नागरिकताका लागि राजनीति गरिरहेका छन् र सत्ताको व्यापारबाट मुनाफा कमाइरहेका छन् । यिनलाई किनारा लगाउन नसके देश र जनताले महगो मूल्य चुकाउनु पर्नेछ, यिनले देश र जनतालाई भूमरीमा पारिदिने छन् ।