Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ज्ञानेन्द्रले पढेको वक्तव्य मैले नै ड्राफ्ट गरेको हुँ : केपी ओली

२४ शुक्रबार , असार २०७९४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको दावी गरेका छन् । शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माओवादीको सशस्त्र जनयुद्ध केका लागि थियो भन्ने प्रश्नको जवाफ अझै नपाएको भन्दै जनयुद्धमा राजनीतिक कार्यकर्तामात्रै मारिएको पनि बताए । 

साथै उनले २०६३ साल वैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले पढेको वक्तव्यको ड्राफ्ट आफूले गरेको दावी समेत गरे । माओवादीलाई के पाएर जनयुद्ध छोडे भन्ने प्रश्न गर्दै उनले भने,‘२०६३ साल वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले गरेको ड्राफ्ट पढेर सुनाएका थिए । त्यो ड्राफ्ट बल्खुमा पार्टी अफिस थियो । पार्टी अफिसको चौरीमा एउटा रुद्राक्षको छेवैमा बसेर मैले गरेको थिएँ ।’ उनले सोही ड्राफ्ट ज्ञानेन्द्रले पढेको भन्दै त्यसमा दुईवटा कुरा रहेको बताए । 

‘त्यसमा मैले दुईवटा कुरा गरेको थिएँ, भंग गरेको पुर्नस्थापना गर्दिएको छु,दलीय व्यवस्था फर्काइदिएको छु,जनताको नासो जनतामा फर्काएको छु भनेर’, ओलीले ड्राफ्ट रहेको विषयवस्तुबारे भने, ‘अथवा विघटित संसदको पुर्नस्थापना भएको थियो, त्यति न हो !’ उनले संसद पुर्नस्थापनाका लागि १७ हजार मार्नुपर्छ भन्दै माओवादीलाई प्रश्न समेत गरे । ‘त्यसकारण माओवादीको उदेश्य अर्कै थियो । सटकट बाटोबाटो सत्तामा पुग्ने,अस्थिरता सिर्जना गर्ने, देशको होइन अरुको भलाई गर्ने के के उदेश्य थिए ती उनीहरु भन्न सक्दैनन्’, ओलीको भनाइ छ । उनले माओवादीले त्यसबेला राजतन्त्रसँग कार्यगत एकता रहेको एमाले र काँग्रेससँग शत्रुता रहेको बताए ।
@रातोपाटी