असार १० गते । चारुशीला वाङ्मय प्रतिष्ठानले २०७६ र २०७७ को चारुशीला पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रमका आकर्षण हुनुहुन्थ्यो– शिवगोपाल रिसाल, मुकुन्दशरण उपाध्याय.श्रीमती रमा शर्मा र श्रीमती गीता केशरी ।
२०७६ को चारुशीला प्रतिभा पुरस्कार साहित्यकार रञ्जना निरौला र २०७७ को चारुशीला प्रतिभा पुरस्कार साहित्यकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरियो ।
नेपाली वाङ्मयका मुर्धन्य व्यक्तित्वहरु हुनुहुन्छ सबैजना । पुरस्कार स्थापित गर्ने, पुरस्कार दिने र पुरस्कार ग्रहण गर्ने सबै मनिषिजस्ता देखिनुहुन्थ्यो । पुरस्कार चयन, वितरणमा कतै पनि मनसुन र भनसुनको गन्धसम्म पनि थिएन । अहा । गरिमामय कार्यक्रम ।
चारुशीला वाङ्मय प्रतिष्ठानलाई सम्मानको उचाइमा उचाल्ने अध्यक्ष ६२ वर्षीय साहित्यकार तथा समालोचक शैलेन्दुप्रकाश नेपाललाई हार्दिक धन्यवाद ।
श्रीमती चारुशीलाले स्थापना गर्नुभएको चारुशीला वाङ्मय प्रतिस्ठानको जति प्रशंसा गरे पनि कमै हुन्छ । ९४ वर्षको उमेरमा पनि माता चारुशीलाले आफ्नो रचना सुनाएर उपस्थित निम्तालु सबैलाई मन्त्रमुग्ध पार्नुभयो । उहाँ कति चित्ताकर्षक उहाँको कविता ।
यति भव्य कार्यक्रममा २०७६ को चारुशीला पुरस्कार प्रा.शिवगोपाल रिसाल र श्रीमती रमा शर्मा लाई प्रदान गरियो । २०७७ को चारुशीला पुरस्कारबाट श्रीमती गीता केशरी सम्मानित हुनुभयो । शैलेन्दु नेपालले पुरस्कृत सबैको परिचय दिंदै किन पुरस्कृत गरियो भन्ने व्याख्या पनि गर्नुभयो । प्रतिष्ठानमा चारुशीलाले ३० लाखको अक्षयकोष राखिदिनुभएको र त्यही बीउ रकमबाट पुरस्कारको व्यवस्था मिलाइएको पनि बताउनु भयो । पुरस्कृतहरुको तर्फबाट बोल्ने प्रा.शिवगोपाल रिसालले भन्नुभयो– ‘यदि पुरस्कार कुनै दलीय मन्त्रीका हातबाट दिने भए आउन्न भन्नुभयो । त्यसअघि मैले के नै गर्न सकेको छु र पुरस्कार लिनु भन्दा प्रतिष्ठानका तर्फबाट निर्णय भइसकेको सुनेपछि म आएको हुँ’ भन्नुभयो । विद्वान भनेका यस्ता हुन्छन् । राजनीति र मन्त्रीको स्तर कति तल झरिसकेछ ?
यस कार्यक्रममा विश्वराज छात्रवृत्ति पुरस्कार जाजरकोटकी १२ वर्षीय सपना रावत तथा मुगुका १४ वर्षीय दीपेन्द्र बानियाँलाई दिइयो । कार्यक्रममा तरूण मावि र नन्दी रात्रि माविलाई विश्वराज पुरस्कार २०७६ र २०७७ ले सम्मानित गरियो ।