There is democracy, why no one is democratic? राजन कार्की - - - लोकतन्त्र छ, किन कुनै दल वा नेतृत्वपङ्ति लोकतान्त्रिक छैनन् ? लोकतन्त्र त रोदीघरको मादलजस्तो पो भयो, नशामा मात्तिएर जसले जसरी बजाए पनि हुने, जसरी नाचे पनि हुने । लोकतन्त्रको मर्यादा कसैले राखेनन् । पूर्वीय दर्शन भन्छ– इमान्दार र स्वाभिमानी व्यक्ति कसैको दवाव मान्दैन । यो दर्शन पूर्वीय संस्कृति सम्पन्न नेपालमा मर्दै गएको छ । इमान्दार र स्वाभिमान व्यक्ति दुर्लभ हुनथालेको छ । हरेक अगुवा आफैप्रति बेइमान र परजीवी झैं लाग्छ । कारण तिनीहरू विवेकशून्य हुँदै गएका छन् । देशका प्रधानमन्त्री शेरबहादुर देउवाले पुष २७ गते नेपाल निर्माताको जन्मदिनका दिन पृथ्वीनारायण शाहलाई फूल चढाउन सकिन्न भनिदिए । तर तिनै देउवाले भारतका वापु महात्मा गान्धीको तस्वीरमा माला चढाउन र जयजयकार गर्न पुगे । महात्मा गान्धीले भनेका थिए– वीरता मानमा होइन मर्नमा हुन्छ । वीरता कसैको इज्जत लिनुमा होइन, इज्जत बचाउनुमा हुन्छ । महात्मा गान्धीको यो वाणी देउवाले कहिले बुझेनन् । हुन त जसले आफू उभिएको धर्ती कसले दियो, आमाबाबु को हुन् भन्ने बिर्सन्छन् र पराईलाई आदर्श पुरूष मान्छन्, तिनीहरू पुर्षालाई गाली र पराईलाई ताली दिनेगर्छन् । समस्या नेपाली नेतृत्व तप्काको दृष्टिमा छ । जो आफूलाई चिन्दैन, जो आफूलाई बदल्न सक्दैन, त्यसले परिवार, समाज र देशलाई कसरी बदल्न सक्छ ? नेपाली जनमानसका लागि लोकतन्त्र सस्तो बेसाहा पेट लागी मर भन्ने उखानजस्तो बनेको छ । लोकतन्त्र नेपालका लागि बाउन्न हण्डर, त्रिपन्न ठक्कर पो भयो । चुनाव आएको छ, मौका यही हो । जनताले चुनावका माध्यमबाट गैरजिम्मेवारहरूलाई गोर्खे लौरी ठोक्न सक्लान् ? संविधानमा नेपालको नक्सा अध्यावधिक भइसक्यो । तर भर्खरै प्रकाशित जनगणनाको रिपोर्टमा कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता क्षेत्रको जनगणना सामेल गरिएन । यतिमात्र होइन, कतिपयका घरमै नगएर जनगणनाको तथ्याङ्क सार्वजनिक गरियो । यस्तो रिपोर्टलाई तथ्याङ्क भन्ने कि मिथ्याङ्क ? सबै जिल्लाराम छन् । भारतले मेचीदेखि महाकालीसम्मका सीमा मिचेर ६० हजार बर्ग किलोमिटरभन्दा बढी नेपाली भूभागलाई उपनिवेश बनाएको छ । त्यसमाथि लिपुलेक कालापानी क्षेत्रलाई आफ्नो नक्सामा सामेल गराएको छ, त्यहाँ भारतको शासन लादिएको छ । नेपालको लिपुलेकबाट भारत र चीनले व्यापार गर्ने सम्झौता भएको ७ वर्ष भइसक्यो । नेपालले विरोध जनायो, चुप लागेर बस्यो । भारतले दार्चुला, कञ्चनपुरमा गोविन्द गौतम र धामीलाई मारिदियो, नेपालका पार्टी र सरकारले चूँसम्म बोलेनन् । लोकतन्त्र र स्वाधीनताको कुरा गर्ने शासक, पार्टी, नेताहरूले नेपालको धज्जीमात्र उडाए । सार्वभौमिकताको रक्षा गर्न सकेनन् । भारतका रक्षामन्त्री र प्रधानमन्त्रीले नेपालको लिपुलेकबाट मानसरोवर राजमार्ग अझ फराकिलो बनाउने घोषणा गर्नु भनेको नेपालको राष्ट्रिय अखण्डता र स्वाधीनताविरूद्ध खुलेर आउनु हो । भारतले नेपालप्रति शत्रु राष्ट्रको व्यवहार बढाउँदै लगेको छ । कसले बोल्ने ? नेपालको स्वराजको रक्षा कसले गर्ने ? भारतको ज्यादति रोक्ने कसरी ? नेपाली अस्तित्वको मोर्चामा छन्, नेतृत्वले अस्तित्व गुमाउने रणनीति अख्तियार गरेका छन् । वीरको मुलुक नेपाल परास्त हुने ओह्रालो राजनीतिमा लागिरहेको छ । नेपालको क्रोनिक क्यान्सर भनेको यही हो । संविधान जारी भयो, काम गरेन । भ्रष्टाचार रोक्न र कानुन व्यवस्था ठिक पार्न नसक्ने संविधान कसरी कार्यान्वयन भयो, सफल भयो भनेर मान्ने ? सग्लो देशको ज्यान खाने कोही छन् भने नेता र तिनका पिछलग्गु प्रशासकहरू हुन् । देश र जनताका लागि, समाजवाद र सिद्धान्त त तिनले बगार्ने भाषणमात्र हो । तिनको चरित्रहीन नेतृत्वले राष्ट्र र राष्ट्रियतालाई खगार्ने नियमित आकष्मिकता निरन्तर रहने भयो । कांग्रेस छ, कम्युनिष्टको नेता बनेर कम्युनिजम बढाइरहेछ । कम्युनिष्टहरू स्वीट्जरलेण्ड पुगेर लगानी आह्वान गर्छन्, खुला अर्थनीति भनेर भ्रम छर्छन् र राजधानीबाट अर्का अध्यक्ष भेनेज्वेलाको कम्युनिष्ट शासनको वकालत गर्छन् । धर्मनिरपेक्षताको एउटा दाह्रा संसारलाई देखाउँछन् र अर्को दाह्रा नङ्ग्राले हिन्दुत्व चिथोर्दै इसाईको सम्मेलन गराउँछन् । नेपाली कम्युनिष्टको अनुहार घोषणापत्र र झण्डामा कम्युनिष्टजस्तो छ, व्यवहारमा कमाउनिष्टको जस्तो । नेपाली कम्युनिष्टहरूको भाषणमा जनजिविका र सर्वहारामात्र देखिन्छ, तिनको काम गराइमा अल्वानियाूका अनवर हुजाको जस्तो, कम्बोडियाको तानाशाह पोलपोटकोजस्तो देखिन्छ । कर्मकाण्डी कम्युनिष्टको यो चाला र कम्युनिष्टलाई च्यापेर मजाले सत्ता खाला भन्ने कांग्रेस, जता हेरे पनि शङ्काले लङ्का जलाउने खालको छ । जनताले खोजेको रत्नमालाका रत्नहरू थियो, देशमा त पुतनाहरूको पो छुनुक मुनुक बढ्यो । आफ्नो स्तनबाट विषाक्त दूध पिलाएर श्रीकृष्णलाई मार्न आएकी पुतनालाई श्रीकृष्णले दूध पान गरेरै वध गरिदिए । तर, नरकमा होइन, गोलोकको बल्कोनीमा सम्मानपूर्वक बसाले । हाम्रा नजरमा ती राक्षसनी थिइन्, तर श्रीकृष्णका नजरमा पुतना, रत्नमाला थिइन् रे ! जनताले चुनेको लोकतान्त्रिक नेता रत्नमाला भनेर चुनेका हुन्, जनताको नजरमा मात्र राक्षसी तिनको चरित्रले आज पुतनाभन्दा बढी रहेनन् । जनताले खोजेको स्वर्ग, पाए नर्कभन्दा गएगुज्रेको जीवन । जनताप्रति कुनै नेता पनि जवाफदेही हुन चाहेनन् । यिनै नेता सुध्रेलान्, चरित्रवान् बन्लान् र लोकतन्त्रको गरिमा र महिमा टल्काउलान् भनेर हिरा मानिरहेका छन् । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ, तर हाम्रो लोकतान्त्रिक राजनीतिक आकाशमा कालो बादल त पर्याप्त छन्, चाँदीको घेरा देखिदैन । जे छन्, हिरा भनिएका बगरका पत्थर छन् । नागरिकलाई थाहा छ, नेताहरू बिग्रिए, पथभ्रष्ट भए । तर जनताका सामु बिकल्प छैन । बिकल्प तैयार गर्न बिद्राह गर्न सक्दैनन् । कारण चलाख पार्टीहरूले राष्ट्रिय जनजीवनलाई विभाजित गरिरहेका छन् । एकता खण्डित पारिरहेका छन् । यसैले त न प्रेस, न नागरिक समाज, न बुद्धिजीवी विवेकपूर्ण बोलिरहेका छन् । लाग्छ, यी तिनै बर्ग टाङ्गा तान्ने पट्टी लगाएका पथार्थ हुन् । विवेक, बल र बुद्धिमाथि स्वार्थले प्रधानता पाउँदा नेपालको अस्तित्व र स्वाधीनता खतरामा प¥यो । यद्यपि अति हुँदैछ, अतिसार हुनगयो भने लोकले ०६३ सालको जनआन्दोलनमा एउटा निर्णय गरे, त्यस्तै मर्ता क्या नही कर्ता भनेझैं अर्को निर्णय गर्ने दिन आउन सक्छ । असन्तुष्टि विद्रोहमा बदलिन बेर लाग्दैन । जनविद्रोह र सुनामी कति डरलाग्दो हुन्छ, भोगिसकेका छौ त । नेता कति बाठा भएका । उपयोग र खपतका लागि कम्युनिष्ट कांग्रेससँग मिल्छन्, कांग्रेस अतिवादीसँग । माओवादी मधेशवादी बन्न बेर लगाउँदैनन्, एमाले माओवादी गठबन्धन गर्न पछि पर्दैन । रूखले सूर्यमा भोट हाल्छ, हँसिया हथौडा रूखमा मत खसाल्छ । यिनै भन्छन्– निष्ठाको राजनीति गर्छौं । यही हो निष्ठा भनेको ? योभन्दा लोकतन्त्रको लाखेनाच अरू के हुनसक्छ ? भन्न त भनेकै हुन्– ‘रोक्ने को हो हाम्रो विचार धारा, हामी हौं नेपालको बोक्ने अभिभारा ?’ कम्युनिष्ट समाजवाद अथवा पुँजीवादी समाजवाद कुनै बर्गले पनि देशको अभिभारा बोकेनन् । उनीहरूलाई व्यक्तिगत र विदेशी स्वार्थको भारी बोक्दैमा फुर्सद छैन । जनता गरीब छन् । यसकारण त चुनावका बेलामा तर्साएर र लोभ तेस्र्याएर, मीठो मसिनो ख्वाएर चुनाव त गुण्डा, चोर, ज्यानमारा, तस्करले पनि जित्ने गरेका छन् । यही हो वर्तमान नेपालको राजनीति हो । जनताले दुई तिहाइ दिएर पनि सुख पाएनन् । जनताको ज्यूज्यानको लागि, शिक्षा र स्वास्थ्यका लागि सोच्ने एउटा पनि नेता, पार्टी देखिदैनन् । कतिबिघ्न फोहर, राजनीतिभन्दा फोहर त केही हुँदै भएन । इतिहासलाई सम्झने हो भने, १९५० पछि कम्युनिष्टको ‘अन्तर्राष्ट्रियवाद’को इस्पाती धारले उठाएको सोभियत रूसको छातामुनी युरोपको सात राष्ट्रले शीतल ताप्नुप¥यो । खु्रस्चेवले क्युवालाई क्षेप्यास्त्रसम्म पनि बिक्री गरे तर, माटोभन्दा अर्को राष्ट्रवाद रहेनछ भन्ने त्यतिबेला प्रमाणित भयो, जतिबेला दुई कम्युनिष्ट रूस र चीनबीच युध्द छेडियो । त्यस्तै हो ग्लोबल भिलेज र भूमण्डलीकरणको नारा पनि । यो नाराले धनी र शक्तिशाली राष्ट्रहरूको ‘आर्थिक कूटनीति’को धरापमा साना राष्ट्रहरूलाई च्यापेर सख्यअनुसारको दबदबा बिस्तार गर्दैछन् । नेपाल चेपोमा छ । ख्रुस्चेव आणविक अस्त्र किन्न ट्रकका ट्रक डलर बोकेर अन्तर्राष्ट्रिय बजार चहार्दा चहार्दै उनले आणविक अस्त्र किन्ने वस्तु होइन रहेछ भन्ने बुझेर ठूलो ज्ञान पाएको अनुभूत गरेका थिए । हाम्रा नेताहरूले पनि लोकतन्त्रमा लोक नै अन्तिम सत्य, अन्तिम न्यायाधीश हो भन्ने बुझ्न अबेर गरेर हत्केलाले सूर्य छेक्ने प्रयत्न गरे भने त्यस्तै अतिशयोक्ति हुन जानेछ र पश्चाताप गर्न लामो समय कुर्न‘ पर्ने छैन । के चाहिं विश्वास गर्न सकिन्छ भने आजको कम्युनिष्ट वा प्रजातन्त्रवादीलाई बुद्ध, विज्ञान र प्रकृति थाहा छ । यो थाहा आत्मसात गरे भने देशमा वैदेशिक रोजगारीमा दगुरेर अथवा न्याय पाइएन, समानता भएन भनेर कसैले ‘हाराकिरी’ गर्नुपर्ने छैन । मुख्य सवाल वर्तमान राजनीति प्रभुत्व र विस्तारवादी तागतको गुलाम बन्नबाट जोगिन्छ कि जोगिदैन भन्ने हो । यसकारण नेपालको लोकतन्त्र अन्तिम परीक्षामा छ । यसमा पनि असफल भयो भने नेपालमा अर्को परिवर्तन कसैले पनि रोक्न सक्नेछैन । असूर प्रवृत्तिमा चेतना भया । अन्यथा समय घर्केपछि पछुताउनुको अर्थ हुनेछैन ।