Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हिन्दूविरुद्ध राजदूतहरुको भीड

०७ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

भाजपाका नेता आदित्यनाथ काठमाडाैं आएर हिन्दूराष्ट्र बनाउन सार्वजनिक अपिल गर्दैगर्दा युरोेपेली राजदूतहरु सभामुख र प्रधानमन्त्रीमाथि धर्मनिरपेक्षताको दबाब दिदै गर्दाको फोटो हो यो। यिनले सामुहिक रुपमा प्रधानमन्त्रीलाई भेटे पनि सभाध्यक्ष नेम्वाङलाई भने एक एक जना गरेर गोप्य भेटवार्ता गरेका थिए। किन गोप्य वार्ता गर्नुपर्‍यो? यो भने रहस्यमय घटनाक्रम हो।
 संविधान लेखन कार्य अघि बढिरहेको समयमा राजदूतहरुले संविधान कस्तो बन्छ, कुन कुन दलको सहभागिता रहन्छ, कुन प्रक्रियाबाट घोषणा हुन्छ आदि विषयमा चासो राख्नु स्वभाविक हो। १६ बुँदे सहमतिको धरातलमा संविधान लेखन र घोषणा कार्य सम्पन्न हुन लागेकाले संविधानमा कति प्रदेश बन्छ, जातीय प्रदेश बन्छ कि बन्दैन, प्रदेशहरुको भावी मुख्य मन्त्री को बन्छ, संविधान घोषणा भएपछि सत्ता परिवर्तन हुने सहमति भएकाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख कुन कुन दलले लिनेछन् र कुन कुन नेता ती पदहरुमा आसिन हुनपुग्नेछन्, भावी नेपालको राजनीतिक अवस्था कसरी अगाडि बढ्ला, अराजकता फैलिएला कि शान्ति र सम्पन्नताका दिन सुरु होलान् भनेर कूटनीतिज्ञहरुले चासोसहितको अध्ययन गर्नु स्वभाविक हो।
नेपाल सामरिक रणनीतिक क्षेत्र बन्दै गएकाले पनि नेपालको राजनीतिमा उत्तर र दक्षिणको मात्र होइन, पश्चिमाहरुले चीलका आँखाले यहाँको राजनीतिक उचार चढावको मूल्यांकन दिनहुँ गरिरहन्छन्। यसै मेसोमा राजधानीस्थित कूटनीतिक नियोगका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई भेटेका छन्। अन्य राजनीतिक नेताहरुलाई नियमित भेटिरहेका यी कूटनीतिज्ञहरुले प्रधानमन्त्रीलाई सामुहिक भेटघाट गर्नु स्वभाविक मानिएको छैन। स्रोत भन्छ– यी कूटनीतिज्ञहरुले नेपाल विविध जाति र धर्मावलम्बी बसोबास गर्ने मुलुक भएकाले शान्ति र प्रगतिका लागि धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ भनेर दबाब दिएका छन्। यद्यपि उनीहरुले राजनीतिक सहमति र संविधान निर्माणका बारेमा सौहाद्रतापूर्ण चासो राखेकोमात्र समाचार सार्वजनिक भयो। भित्री कूटनीतिक चलखेल बुझ्ने ज्ञाताहरु भन्छन्– यिनले धर्मनिरपेक्षताका लागि ठूलै दबाब सिर्जना गरेका छन्। जसका कारणले संवाद समितिले धर्म र थ्रेसहोल्डका विषयमा अनिर्णय हुनुपर्‍यो। संविधानसभामा प्रचण्ड बहुमत संविधान निर्माणमा जुटेका कांग्रेस, एमाले र एमाओवादीसँग भएकाले उनीहरु भगिरथ प्रयत्न गरेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने मूडमा छन्। हिन्दूहरुले अचाक्ली आन्दोलन गर्न सकेनन् भने नेपाल पश्चिमाहरुले चाहेजस्तै धर्मनिरपेक्ष राष्ट्रको बैधानिकता प्राप्त गर्नेछ।
९४ प्रतिशत ऊँकार परिवारका हिन्दूहरु भएको धक्कु लगाउने हिन्दू नेता, गुरु, पार्टीहरुले कतै पनि हिन्दू बाहुल्य शक्ति प्रदर्शन गर्न सकेका छैनन्। कहाँ छन् हिन्दू, के गर्दैछन्? भनेर खोज्नुपर्ने स्थिति छ। देशव्यापी रुपमा विकटका जनताले आफ्नो पहिचान र हकका लागि कडा आन्दोलन गरेर राज्यलाई झुकाइदिए, संविधानसभालाई मनन गर्न बाध्य पारिदिए तर देशको ९४ प्रतिशत जनघनत्व रहेको हिन्दूहरु आरामले सुतेर बसेका छन्। यिनलाई धर्मनिरपेक्षता वा हिन्दूराष्ट्र हुनुमा कुनै अनर्थ, अर्थको भान नै छैन। यस्ता हिन्दूहरुले हिन्दूधर्म बचाउलान्, रक्षा गर्लान्। अव पत्याउन मुस्किल छ।