रमेश खनाल- - - -
२ मे २०१२ मा विश्वप्रसिद्ध कलाकार एडवार्ड मुन्चको “द स्क्रिम” नाम गरेको पेस्टिल रंगबाट सन् १८९५ मा बनाइएको ९१ सेन्टिमिटर उ.७३.५ से.मी.को चित्र विश्वकै सबैभन्दा महँगो मूल्य ११ करोड ९९ लाख २२ हजार पाँच सय डलरमा बिक्रि भएको छ । लियोनार्दो दा भिन्चीको “मोनालिसा” पछिको सबैभन्दा महँगो चित्र “द स्क्रिम” भएको छ । न्यूयोर्कमा सोथवले आयोजना गरेको लिलामीमा एक नाम नखुलाइएको व्यक्तिले फोनबाट सो चित्र खरिद गरेको कुरा सोथवले लिलामी संस्थाका कार्यकारी उपाध्यक्ष चाल्स मोफेटले जानकारी गराएका हुन् । “द स्क्रिम” लाई प्रदान गरिएको मूल्यले दुई वर्ष अगाडि रेकर्ड कायम गर्ने पिकासोको डलर १० करोड ६५ लाख डलर मिलियन पर्ने ‘न्युड ग्रीन लिभ्स एण्ड बस्ट’ लाई पनि पछि पारेको छ ।
कलाकार एडवार्ड मुन्चले “द स्क्रिन” नामक चित्र चार थरीको बनाएका छन् । जसमध्ये तीनवटा चित्र नर्वेको संग्रहालयमा संकलन गरिएका छन् र भर्खरै लिलामीको बढाबढमा बिक्रि भएको पेस्टल रंगबाट बोर्डमा बनाइएको चित्र पिटर ओलसन नाम गरेका नर्वेका व्यापारी एंवम् जहाज मालिकसँग थियो । पिटर ओलसनका पिताजी एडवार्ड मुन्चका छिमेकी र संरक्षक थिए ।
त्रास, भय र वीभत्सताको सिकार भएका मानिसको प्रतिनिधित्व गर्ने चित्र हो– “द स्क्रिम” । यस चित्रमा मुन्चले अनुभव गरेको व्यंग्यात्मक व्यक्तित्व ठूलो मुख, ठूला आँखा बनाएर दुबै हातले कान छोपेर अचम्ममा परेको देखिन्छ । “मैले जे देख्छु म त्यसलाई चित्रित गर्दिन तर म त्यसलाई मात्र चित्रित गर्छु जो म देख्छु” कलाकार मुन्च भन्थेँ । उनले भूत, भविष्य र वर्तमानलाई अंगीकार गर्दै आफुले अनुभव गरेको कुरा चित्रमा समाहित गरेका छन् । मानिस नितान्त एक्लो भइरहेछ । मानिस भयग्रस्त छ । मानिस ब्याकुल देखिन्छ भन्ने द्योतकको प्रतिक हुन्छन् उनका चित्रहरूमा उनका चित्रगत रेखा टेडामेडा हुन्छन् । विशुद्ध रंगको प्रयोग गर्दै भयानकता झल्काउने चित्र बनाउँछन् उनी ।
कला संमीक्षक बेर्नेर हाफ्टमनले एक ठाउँमा लेखेका छन्– विश्व प्रसिद्ध कलाकार सेजानलाई भौतिक जडताले आक्रान्त पारेको थियो र यही सत्यलाई अँगालेर सेजानले चित्र बनाउँथे । तर, एडवार्ड मुन्चचाहिँ आत्मिक जगत्लाई महत्व दिँदै चित्र बनाउँछन् । प्रत्यक्ष रूपमा विरोभाभास देखिए पनि दुबैले भोगेका अनुभव नै सार्थक चित्र हुन् ।
“द स्क्रिम” बनाउने प्रेरणा सम्बन्धमा कलाकार मुन्चले आफ्नो डायरीमा लेखेका छन् – एक साँझ म एउटा पुलमा हिँडिरहेको थिएँ । म थाकेको र अस्वस्थ थिएँ । म उभिएर पुलबाट देखिएको क्षितिज नियाल्दै थिएँ । सूर्य अस्ताउने तर्खरमा थियो । आकाशमा केही बादल थिए । ढल्दै गरेको साँझको सूर्यको किरणले सम्पूर्ण बादल रगतझै रातो भएको देखेँ । मलाई त्यसबेला प्रकृतिबाट एक त्रासदी भयानक आतंक सम्प्रेषण भइरहेको अनुभव भयो । त्यसपछि मैले जस्तो अनुभव गरेँ त्यस्तै “द स्क्रिम” चित्रमा रूपान्तरण गरेँ । मसँग मेरा दुई साथी पनि थिए ।
कलाकार मुन्चले बनाएको रगतजस्तो रातो आकाश सम्बन्धमा पनि थरीथरीका अड्रकल काटिएका छन् । कसैले ई.स.१८८३ र ८४ मा काराकोटामा ज्वालामुखी विस्फोट हुँदा देखिएको भयानक दृश्य आत्मासात् गर्दै उनले “द स्क्रिम” नामकको चित्र बनाएका हुन् भने । तर, केही विद्धानले ज्वालामुखीसँग “द स्क्रिम” को केही सम्बन्ध नरहेको बताएका छन् । मुन्च आत्माले अनुभव गरेको कुरा क्यानभासमा सम्प्रेषण गर्थे । बरू उनकी बहिनी लाउरा क्याथरिन बिरामी भएर बसेकी एकेवर्ग अस्पतालको परिवेशबाट प्रभावित चित्र बनाएको हुनसक्ने भने ।
यसैगरि ई.स. १९७८ मुन्चमाथि सोध गरिरहेका रोबर्ट रोसेन ब्लुमले चाहिँ अनौठो, यौनभावना नभएको जन्तुजस्तो लाग्ने पेरूभियन मम्मीबाट प्रभावित भएर सो चित्र सिर्जना भएको हुन सक्छ । पेरिसमा आयोजित विश्व मेलामा उनले उक्त मम्मी देखेका थिए । त्यसैगरि, इटालियन मानवशास्त्री अध्ययनकर्ताले चाहिँ “द स्क्रिम” फ्लोरेनसको म्युजियम अफ नेचुरल हिस्ट्रीमा भएको मम्मीबाट प्रभावित भएर लेखिएको हो भने ।
विश्व प्रसिद्ध कलाकार एडवार्ड मुन्चको “द स्क्रिम” माथि चोरहरूको आँखा पनि नपरेको हाईन । ई.स. २२ फेब्रुअरी १९९४ मा लिलि ह्यामरमा शीतकालीन ओलम्पिक उद्घाटन भईरहेको थियो । यता, चारजना चोरले नेशनल ग्यालरीभित्र पसेर “द स्क्रिम” चोरेका थिए । उनीहरूले चोरी गरेर लैजाने बेला “कमजोर सुरक्षा व्यवस्थाका लागि धन्यवाद” भन्ने केही शब्द पनि लेखेर गएका थिए । उक्त चित्र चोर्ने चोरले एक मिलियन डलर माग गरेका थिए । ग्यालरीले उनीहरूको माग बेवस्था गर्दै नर्वे र ब्रिटिस प्रहरीको सहायताबाट ७ मे १९९४ मा पूर्ण सुरक्षित अवस्थामा उक्त चित्र फेला पारेका थिए ।
त्यसैगरि २२ अगस्ट २००४ मा हातको बन्दुक बोकेका नकावधारी लुटेराले दिउँसै मुन्च संग्रहालय भित्र पसेर अर्को “द स्क्रिम” र “माडोना” नामक दुईथान विश्व प्रसिद्ध पेन्टिङहरू लुटेर लगे । प्रहरीले अनेक प्रयास गर्दा पनि ती दुईथान पेन्टिङपत्ता लगाउन सकेन । अन्तत ः ३१ अगस्त २००६ मा प्रहरीले पूर्ण सुरक्षित अवस्थामा उक्त चित्र फेलापारेका थिए । २७ सेप्टेम्बर २००६ मा मुन्च संग्रहालयले पाँचदिने प्रदर्शनी ग¥यो । पाँच दिनमा पाँच हजार, पाँच सय कलाप्रेमी जनताले ठूलो चासो राखेर लुटिएर फिर्ता आएका दुईथान पेन्टिङ अवलोकन गरे । त्यसपछि मुन्च संग्रहालयले २३ मे २००८ देखि “स्क्रिम एण्ड मेडोना – रि भिजिटेड” भनेर अझ व्यबस्थित रूपले सार्वजनिक गरेको थियो । एडवार्ड मुन्चको “द स्क्रिम” चित्र आदर्शको आधार बनेको छ । लेखक अर्थर जानोमले आफ्नो किताबको नाम ‘द प्राइमल स्क्रिम’ राखे । कार्टुनिस्ट ग्रे लासेनले “द स्क्रिम” लाई नै केन्द्रीकृत गरेर डकुमेन्ट्री बनाए । डिजानर बिडोटी साइएटनले आफ्नो डिजाइनमा “द स्क्रिम” प्रयोग गरिन् ।
अन्तत ः सबैभन्दा महँगो मूल्यमा उक्त चित्र कसले किन्यो होला ? कसैले प्रसिद्ध कलाकृति संग्रहकर्ता लियोनार्दो ब्लाभाटनिकले किनेको हुनुपर्छ भने । कसैले भने, “माइक्रोसफ्ट टाइक्युन पाउल एलानले किनेको हुनुपर्छ ।” कतिपयले कतारी राजपरिवारको सदस्यले किनेको हुनुपर्छ भन्ने अड्कल गरेका छन् तर यो विषयमा रहस्य खोल्न सकेको छैन ।