काठमाडौँ – चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’ प्रकाशित भएको खबरमा चीनले नेपालको भूमि मिचेको भन्ने ‘तथ्य बिहीन’ खबर फैलाउन पश्चिमा तथा भारतीय सञ्चारमाध्यम र नेपाली कांग्रेसका नेता लागि परेको आरोप लगाइएको छ ।
‘हू इज बिहाइन्ढ द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट चाइना?’ शिर्षकको खबरमा हुम्ला जिल्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप लगाइएको र सो खबर गोप्य स्रोत भन्दै पश्चिमा तथा भारतीय सञ्चारमाध्यमले प्रकाशित तथा प्रशारित गरेको उल्लेख छ ।
त्यसमा भारत पक्ष ठानिएको नेपाली कांग्रेस र उसका नेताहरु लागिपरेको आरोप ग्लोबल टाइम्सको खबरमा लगाइएको छ ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीले चीन विरोधी गतिविधिको नेतृत्व गरेको ग्लोबल टाइम्सको खबरमा आरोप लगाइएको छ ।
शाहीले हालै सीमा मिचिएको भनिएको हुम्लाको क्षेत्र अवलोकन गरि चीनले सीमा मिचेको प्रतिवेदन पार्टीमा बुझाएका थिए ।
नेपालमा पश्चिमा देशहरुको गतिविधि बढ्दै गएको प्रति नेपाली बुद्धिजीविहरुले शंका व्यक्त गर्ने गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
गैरसरकारी संस्थाहरुले पश्चिमा देशको राजनीतिक स्वार्थमा नेपालभर गतिविधि सक्रिय पारेको काठमाडौँका एक स्थानीयलाई उद्धृत गरि ग्लोबल टाइम्सले सो खबरमा आरोप लगाएको छ ।
केही भारतीय टेलिभिजनहरुले नेपालको सार्वभौमसत्ता विरोधी खबर प्रशारित गरेको र नेपाल–चीन सम्बन्धमा खेल्न खोजेको आरोप पनि खबरमा छ ।
नेपालका केही सञ्चारमाध्यमहरु पनि भारत पक्षीय शक्तिको प्रभावमा रहेका र तिनीहरुले चीनले सीमा मिचेको भन्ने खबरलाई प्राथमिकता दिएको आरोप ग्लोबल टाइम्सले स्रोतहरुलाई उद्धृत गरि लगाएको छ ।
ग्लोबल टाइम्सको सो खबरमा नेपाल ठूलो मात्रामा अदृश्य विदेशी लगानी भएको सानो देश रहेको उल्लेख छ । ग्लोबल टाइम्सले लेखेको छ, ‘धेरै अदृश्य वैदेशिक लगानी भएको नेपाल एउटा सानो देश हो, जहाँ भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेका छन् ।’