Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

लिपुलेकसम्बन्धमा नेपालले भारतसँग लड्न सक्दैन

०७ सोमबार , असार २०७२११ बर्ष अगाडि

गृहमन्त्री वामदेव गौतमले निरीहता देखाए– लिपुलेक सम्बन्धमा नेपालले भारतसँग लड्न सक्दैन। भारतसँग लड्ने कुरा किन गरे उनले? लिपुलेक, कालापानी नेपालको हो, नेपालको भूभागको सम्बन्धमा नेपालले दावी गर्दा लड्नुपर्ने किन? भारत र चीनले लिपुलेक नाकाबाट व्यापार गर्ने सम्झौता गरे। यो गर्नु हुन्थेन, अथवा नेपालको अनुमति लिनुपर्थ्यो भन्नु नेपालको सार्वभौमिकताको कुरा हो। आफ्नो पहिचान, आफ्नो भूमिका बारेमा बोल्दा भारतसँग युद्ध हुन्छ भन्ने मानसिकता बोकेका गृहमन्त्री वामदेव गौतमलाई तत्काल हटाउनुपर्छ। एमाले स्वाधीनताका पक्षधर हो भने उसले वामदेव गौतमलाई तत्काल फिर्ता बोलाउनुपर्छ।
लिपुलेकको कुरा उठाउँँँदा दुई देशवीचको सम्बन्धमा असर गर्छ, हामीले भारतलाई चिढाउनु हुन्न। वामदेव गौतम यसै भन्छन्। भारतले जति पनि हस्तक्षेप गर्छ, जति पनि सीमा अतिक्रमण गर्छ, त्यसलाई सम्बन्ध सुधार गर्ने बडो तरकिव निकालेछन् वामदेव गौतमले। यस्तो दास मनोवृत्ति भएका व्यक्ति नेपालका गृहमन्त्री छन्। यस्ता गृहमन्त्री अरु लामो समय पदासीन भएर रहने हो भने भारतले नेपालमाथि यसैगरी बलात्कार गर्दैजानेछ। र, नेपालको सार्वभौमिकताको सम्मान गर्छौं भन्ने चीनले, पञ्चशीलको सिद्धान्त हाम्रो हो भन्ने चीनले भारतसँग यसैगरी नेपालविरुद्ध सम्झौता गर्दैजानेछ। नेपालले आफ्नो सीमा रक्षा गर्न नसक्नु हाम्रा नेताहरुको कमजोरी देखिएको छ।
वामदेव गौतमले सिधै भनेका छन्– कालापानी, लिपुलेकका सम्बन्धमा म केही गर्न सक्तिन। हामीले सुरक्षाफौज लिपुलेकमा खटायौं भने द्वन्द्व बढ्छ। जसले जेसुकै भनोस् म दुई देशको सम्बन्ध बिग्रने कुनै काम गर्न सक्दिन। नालायकीको यो हद? एमालेले कसरी सुन्योहोला वामदेव गौतमको यस्तो दास अभिव्यक्ति? सत्तामा उक्लन तैयार भएको एमाले पनि भारतकै प्यादाका रुपमा पो देखियो।