Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

काठमाडौंमा सुरु भयो पाकिस्तानी सामानहरुको प्रदर्शन,

२९ बिहिबार , भाद्र २०७४९ बर्ष अगाडि

 भदौ २८, २०७४ काठमाडौं : पाकिस्तानमा बनेका सामानहरुको प्रदर्शनी 'मेड इन पाकिस्तान' मेला बुधबारदेखि काठमाडौंको त्रिपुरेश्‍वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सुरु भएको छ। रावलपिण्डी चेम्बर अफ कमर्शले आयोजना गरेको मेलामा पाकिस्तानमा निर्मित छालाजन्य वस्तु, अन्य कपडा, कस्मेटिक सामान, भाडाहरु लगायत घरेलु प्रयोगमा आउने सामानहरु राखिएको छ। मेलामा भाग लिनको लागि पाकिस्तानबाट ५० व्यापारी नेपाल आएका छन्। 'नेपालमा पाकिस्तानी लेदरका सामान धेरै मन पराइन्छ, पाकिस्तानमा नेपाली हेन्डिक्राफ्ट रुचाइने गरेको छ,यी वस्तुको एक अर्का देशमा प्रवर्द्धन गर्न जरुरी छ' मेला उद्‍घाटनको क्रममा वाणिज्यमन्त्री मीनबहादुर विश्‍वकर्माले भने। उनले नेपाल र पाकिस्तानबीच आपसी सम्बन्धका साथै व्यापारिक सम्बन्ध विस्तारमा समेत यस्ता मेलाले सहयोग पुर्‍याउने बताए। मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले दुई देश बीचको व्यापारिब सम्बन्ध सुधार गर्न पाकिस्तानमा मेड इन नेपाल मेला आयोजना गर्न पनि जरुरी रहेको बताए। नेपालका लागि पाकिस्तानका राजदूत मजत जावेदले नेपाल र पाकिस्तानबीचको व्यापारिक सम्बन्धलाई मेलाले अझ प्रगाढ पार्ने बताए। त्यस्तै पाकिस्तानका लागि नेपालका राजदूत हिमालयशमशेर राणाले पाकिस्तानसँग नेपालको मजबुत सम्बन्ध हुँदाहुँदै पनि लगानी र व्यापारिक दृष्टिकोणले त्यति राम्रो नभएको बताए। व्यापार विस्तार मजबुत हुन नसकेको समयमा समेत प्रत्येक वर्ष यस्ता प्रकारको मेला गरिनु सकारातमक भएको उनको भनाइ छ। त्रिपुरेश्‍वरको वर्ल्ड ट्रेड सेन्टरमा दसैंको पूर्व सन्ध्यामा आयोजना गरिएको मेला सात दिनसम्म विहान १० बजेदेखि बेलामा सात बजेसम्म चल्ने छ।