Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

चुरोट र चिनी कारखानालाई रूसले सघाउने

११ बिहिबार , असार २०८३१८ घण्टा अगाडि

चुरोट र चिनी कारखानालाई रूसले सघाउने

नवनियुक्त रूसी राजदूत महामहिम अलेक्सी भि सुरोभ्त्सेभले असार ३ गते उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई शिष्टाचार भेट गरेर जनकपुर चुरोट कारखान र वीरगञ्ज चिनी कारखानालाई सञ्चालनयोग्य बनाइदिने प्रस्ताव गरेका छन् । राजदूत अलेक्सीले रूस र नेपालवीच राजनीतिक तथा आर्थिक संवादलाई अझ सशक्त बनाउन सकिने अवसरहरूका विषय उठान गरेका छन् ।
सन २०२३ अप्रिल २१ मा रूसको भ्रमणमा गएका तत्कालीन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग रूसले नेपालमा प्रविधि, पूर्वाधारका ११ योजनामा सहयोग गर्न चाहेको प्रस्ताव नेपाल सरकारलाई पठाएको थियो । पश्चिमा र दक्षिणा प्रभावमा लठ्ठिएको तत्कालीन सरकारले रूसको सौहाद्र प्रस्तावलाई थन्क्यायो ।
स्मरणीय छ, नेपाल र तत्कालीन सोभियत संघसँग जुन ५–९ १९५६ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । सम्बन्ध स्थापित भएपछि केही आर्थिक, प्राविधिक सम्झौताहरू भएका थिए । त्यही सन्धिअनुसार नेपालको जलविद्युत स्टेशन, पावर लाइन, चिनी कारखाना, चुरोट कारखाना, राजमार्ग निर्माण, अस्पताल निर्माणमा रूसले उपहार र सद्भावका रूपमा सघाएको थियो । १९६४ मा रूस र नेपालवीच कृषि औजार कारखाना निशुल्क बनाइदिने सम्झौता पनि भएको थियो । सोभियत संघ विभिन्न देशका रूपमा टुक्रिए पनि रूस–नेपाल सम्बन्धको कूटनीतिक निरन्तरता कायमै रहेको छ । १९९२ देखि नेपाली विद्यार्थीहरूले रूसमा अध्ययन गर्ने क्रम पनि चलिरहेकै छ । रूसले छात्रबृत्ति दिइरहेकै छ । सन २००५ अक्टोबरमा नेपाल र रूसवीच विभिन्न क्षेत्रमा सहयोग र राजनीतिक, आर्थिक, सुरक्षा, कृषि, शिक्षा संष्कृतिलगायतका मुद्दाहरूमा विशेष छलफल भएको थियो । नेपाल र रूसको दूतावास एकदोस्रा मुलुकमा स्थापित छन् र सम्बन्धमा कुनै अड्चन देखिन्न ।
तर, नेपालमा दक्षिण र पश्चिमा प्रभाव बेसरी बढेको थियो कि नेपाल–रूसवीच सम्बन्ध चिसो बन्दैथ्यो । अहिले आएर नवनियुक्त राजदूत अलेक्सी भि सुरोभ्त्सेभले नेपालमा भएको राजनीतिक परिवर्तनलाई स्वागत गर्दै बालेन सरकारसँग सहकार्य अघि बढ्न सक्ने देखिन्छ । पुराना सरकारले बन्द गरेका रूसी उपहारमा स्थापित जनकपुर चुरोट कारखाना र वीरगञ्ज चिनी कारखाना सञ्चालनयोग्य बनाइदिन गरेको प्रस्ताव राम्रो अवसर हो । यी कारखाना सञ्चालन हुँदा आत्मनिर्भरता र रोजगारी पनि बढ्छ ।