Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

Image

सानो अफवाह, ठूलो मौनता - चीनको कूटनीति

प्रेमसागर पौडेल

११ सोमबार , जेठ २०८३१४ घण्टा अगाडि

सानो अफवाह, ठूलो मौनता - चीनको कूटनीति

नेपालस्थित चिनियाँ दूतावासले हालै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रवक्ताको वक्तव्य प्रकाशित गर्दै सामाजिक सञ्जालमा फैलिएको एउटा अफवाहको कडा खण्डन ग¥यो । उक्त अफवाहमा एक चिनियाँ नागरिकले नेपालका केही पत्रकारलाई कुनै निश्चित राजनीतिज्ञ विरूद्ध नकारात्मक समाचार बनाउन घुस दिन खोजेको आरोप लगाइएको थियो । दूतावासको यो वक्तव्यले नेपालका राजनीतिक वृत्त र सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया जन्माएको छ । केहीले यसलाई चीनको पुरानो गैरहस्तक्षेप नीतिको पुनर्पुष्टि मानेका छन् भने केहीले यसलाई नेपालको आन्तरिक राजनीतिक विमर्शमा असामान्य रूपमा प्रत्यक्ष प्रवेशका रूपमा व्याख्या गरेका छन् ।
यो घटनालाई केवल एउटा अफवाहमाथिको प्रतिक्रिया भनेर मात्र हेर्नु पर्याप्त हुँदैन । बरू यो नेपालमा चीनको विकसित हुँदै गएको कूटनीतिक व्यवहारलाई बुझ्ने एउटा महत्वपूर्ण क्षण हो । यसले सार्वजनिक वक्तव्य, रणनीतिक मौनता, द्विपक्षीय दबाब र बढ्दो संवेदनशील भूराजनीतिक वातावरणमा गैरहस्तक्षेपको सीमाबारे गम्भीर प्रश्न उठाउँछ । 
चिनियाँ दूतावासको वक्तव्य केही परिचित कूटनीतिक सिद्धान्तमा आधारित छ । त्यसले उक्त अफवाहलाई चीनलाई नियोजित रूपमा बदनाम गर्ने कार्यका रूपमा चित्रण गर्दै कडा निन्दा गरेको छ । साथै, गैरहस्तक्षेपको सिद्धान्तलाई पुनः दोहो¥याएको छ । जुन चीनको विदेश नीति भाष्यको एउटा आधारभूत तत्व हो र साना तथा मध्यम आकारका मुलुकहरूसँगको सम्बन्धमा चीनले आफूलाई प्रस्तुत गर्ने प्रमुख आधार पनि हो । तर, वक्तव्यको अझ महत्वपूर्ण कूटनीतिक पक्ष केवल खण्डनमा सीमित छैन । दूतावासले सम्बन्धित नेपाली निकायलाई गम्भीर, गहिरो र विस्तृत अनुसन्धान गर्न तथा प्रत्यक्ष रूपमा संलग्न व्यक्ति र पर्दापछिका पात्रलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेको छ । यो भाषा सामान्य प्रतिष्ठागत स्पष्टीकरणभन्दा अघि बढेको छ । यसले नेपाली राज्यलाई अफवाहको सत्यता जाँच्न मात्र होइन, चीनको चासोप्रति संवेदनशीलता देखिने गरी प्रतिक्रिया दिन पनि आग्रह गरेको छ ।
वक्तव्यमा कानुन कार्यान्वयन र सुरक्षा सहकार्य सुदृढ गर्ने उल्लेखले यो घटनाको अर्थ अझ फराकिलो बनाउँछ । यसले बेइजिङले यो विषयलाई सार्वजनिक सूचना वा अफवाहको क्षेत्रमा मात्र सीमित नराखी द्विपक्षीय सुरक्षा समन्वयको क्षेत्रतर्फ सार्न चाहेको हुन सक्ने संकेत दिन्छ । त्यस अर्थमा यो वक्तव्यलाई केवल अस्वीकार वा खण्डनका रूपमा होइन, कूटनीतिक संकेतका रूपमा पनि पढ्नुपर्छ ।
यहीँ सबैभन्दा महत्वपूर्ण प्रश्न उठ्छ । मूल सार्वजनिक सामग्रीमा कुनै चिनियाँ नागरिकको संलग्नता स्पष्ट रूपमा स्थापित नभएको अवस्थामा दूतावासले तुलनात्मक रूपमा अस्पष्ट सामाजिक सञ्जाल अफवाहमाथि यति कडा प्रतिक्रिया किन दियो ? यसको ठीक विपरीत, नेपाल–चीन सम्बन्धलाई प्रभाव पारिरहेका धेरै ठूला र संरचनागत विषयमा भने बेइजिङ सार्वजनिक रूपमा संयमित देखिन्छ । बेल्ट एन्ड रोड इनिसिएटिभका परियोजनामा भइरहेको ढिलाइ, नेपालभित्रका चीनविरोधी गतिविधिप्रतिको चिन्ता, तथा काठमाडौं–तराई द्रुतमार्गजस्ता ठूला पूर्वाधार आयोजनामा चिनियाँ ठेकेदारसँग जोडिएका जटिलताबारे चीनको सार्वजनिक मौनता ध्यानयोग्य छ ।
यो देखिने विरोधाभासलाई चयनात्मक कूटनीतिक सक्रियताको कोणबाट बुझ्न सकिन्छ । ठूला र जटिल विषयले उच्च राजनीतिक मूल्य माग्छन् । रणनीतिक पूर्वाधार परियोजनामा भएको ढिलाइबारे सार्वजनिक रूपमा आलोचना गर्दा चीनकै सीमितता, नेपालको आन्तरिक शासन कमजोरी वा नेपाली सरोकारवालामा राजनीतिक इच्छाशक्तिको अभाव उजागर हुनसक्छ । यसले नेपालका सार्वभौम संस्थासँग प्रत्यक्ष तनाव पनि सिर्जना गर्न सक्छ । उदाहरणका लागि, नेपाली सेनाको व्यवस्थापनमा रहेको परियोजनासँग सम्बन्धित ढिलाइ वा विवादमाथि खुला आलोचना गरियो भने त्यो नेपालको संवेदनशील राष्ट्रिय संस्थामाथिको दबाबका रूपमा बुझिन सक्छ । यस्तो कदम चीनले बारम्बार दोहो¥याउँदै आएको गैरहस्तक्षेपको सिद्धान्तसँग सजिलै मेल खाँदैन । तर सामाजिक सञ्जालको अफवाह तुलनात्मक रूपमा सुरक्षित कूटनीतिक लक्ष्य हो । यसमार्फत दूतावासले नेपालका प्रमुख राजनीतिक वा सुरक्षा संस्थासँग प्रत्यक्ष टकराव नगरी चीनको छवि रक्षा गर्न सक्छ । यस्तो प्रतिक्रियाबाट चीनले अपेक्षाकृत कम कूटनीतिक मूल्यमा केही उद्देश्य हासिल गर्न सक्छ । उसले नेपालको सार्वजनिक क्षेत्रमा आफ्नो उपस्थिति पुनः स्मरण गराउन सक्छ, आफूले शत्रुतापूर्ण ठान्ने भाष्यप्रति असन्तुष्टि जनाउन सक्छ, र चीनको दृष्टिमा द्विपक्षीय विश्वासमा क्षति पु¥याउने गतिविधि रोक्नु नेपाली निकायहरूको जिम्मेवारी हो भन्ने सन्देश दिन सक्छ ।
साथै, यस्तो सार्वजनिक प्रतिक्रियाले चीनलाई आधिकारिक अभिलेख तयार गर्ने अवसर पनि दिन्छ । भविष्यमा हस्तक्षेपको आरोप उठेमा बेइजिङले यही वक्तव्यलाई आफ्नो पक्षको प्रमाणका रूपमा प्रस्तुत गर्नसक्छ र आफूलाई हस्तक्षेपकारी पात्र होइन, आहत पक्षका रूपमा देखाउन सक्छ । यहीँ यो घटनाको कूटनीतिक सूक्ष्मता निहित छ ।
उदाउँदो वैश्विक शक्तिका रूपमा चीनको महत्वाकांक्षा र नेपालमा उसका प्रमुख पूर्वाधार परियोजनाको सुस्त प्रगतिबीच गहिरो विरोधाभास देखिन्छ । बीआरआईसँग सम्बन्धित परियोजनाको ढिलाइको दोष चीनलाई मात्र दिन मिल्दैन । नेपालको आफ्नै नीतिगत अस्थिरता, कमजोर परियोजना तयारी, प्रशासनिक ढिलाइ, जग्गा अधिग्रहणका समस्या र कार्यान्वयन क्षमताको कमजोरीले पनि ठूलो भूमिका खेलेका छन् । त्यसमाथि नेपाल चीन, भारत र अमेरिकासँग जोडिएको संवेदनशील भूराजनीतिक त्रिकोणमा अवस्थित छ । त्यसैले कुनै पनि ठूला रणनीतिक परियोजना आर्थिक हिसाबले मात्र होइन, व्यापक क्षेत्रीय शक्ति–संवेदनशीलताबाट पनि प्रभावित हुन्छन् ।
ठूला पूर्वाधार परियोजनामा चिनियाँ ठेकेदारसँग जोडिएका जटिलता यही फराकिलो चुनौतीका प्रतिविम्ब हुन् । चीनका लागि यी केवल व्यावसायिक ठेक्का होइनन् । यी उसको इन्जिनियरिङ क्षमताको विश्वसनीयता, पूर्वाधार कूटनीतिको प्रतिष्ठा र बीआरआईको व्यापक छविसँग जोडिएका छन् । यस्ता परियोजना नेपालमा बारम्बार अवरोधमा पर्दा बेइजिङका लागि असहज सन्देश जान्छ ः नेपाल राजनीतिक रूपमा महत्वपूर्ण छ, तर संस्थागत रूपमा कठिन साझेदार हो । 
तर यस्ता विषयमा चीनले सार्वजनिक क्षेत्रमा मौनता रोजेको देखिन्छ । यो मौनतालाई अनिवार्य रूपमा निष्क्रियता मान्नु ठीक हुँदैन । बरू यो गणनापूर्ण कूटनीतिक छनोट हुन सक्छ । खुला आलोचनाले नेपालको राजनीतिक नेतृत्व र सुरक्षा संस्थासँगको सम्बन्ध बिगार्न सक्छ, साथै नेपालको सार्वभौमिकताको सम्मान गर्छु भन्ने बेइजिङको आफ्नै दाबीलाई कमजोर बनाउन सक्छ । त्यसैले सार्वजनिक टकरावभन्दा मौन कूटनीति सुरक्षित विकल्प बन्न पुग्छ ।
नेपालमा चीनविरोधी प्रदर्शन वा गतिविधिबारे चीनको संयमित सार्वजनिक व्यवहारलाई पनि यही तर्कले व्याख्या गर्न सकिन्छ । यदि चीनले यस्ता आन्तरिक राजनीतिक अभिव्यक्तिमाथि बारम्बार खुला प्रतिक्रिया जनायो भने उसले आफैँले टार्न खोजेको आरोपलाई बल पुग्न सक्छ, कि चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्छ । सार्वजनिक रूपमा संयमित रहँदा बेइजिङले गैरहस्तक्षेपको छवि जोगाउँछ र यस्ता विषय व्यवस्थापन गर्ने व्यावहारिक जिम्मेवारी नेपालको राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्रलाई छोडिदिन्छ ।
यसले दोहोरो प्रभाव सिर्जना गर्छ । एकातिर चीनले आफूले नेपालको सार्वभौमिकताको सम्मान गरेको दाबी गर्न सक्छ । अर्कोतिर, उसले नेपाली संस्थाहरूको विश्वसनीयता, निष्ठा र क्षमता मौन रूपमा परीक्षण गर्न सक्छ । विशेषतः बेइजिङले संवेदनशील मानेका विषयमा । यदि नेपालले चीनको दृष्टिमा शत्रुतापूर्ण गतिविधि नियन्त्रण गर्न सकेन भने त्यसलाई चीनको कूटनीतिक कमजोरी होइन, नेपालले आफ्नै भूभाग व्यवस्थापन गर्न नसकेको कमजोरीका रूपमा व्याख्या गर्न सकिन्छ ।
यस दृष्टिबाट हेर्दा दूतावासको वक्तव्य, ठूला संरचनागत विषयमा यसको मौनता र प्रमुख परियोजनाको सुस्तता, यी तीनवटालाई अलग–अलग घटना भनेर हेर्नु हुँदैन । यी फराकिलो कूटनीतिक उपकरणका हिस्सा देखिन्छन् । नेपालमा चीनको दृष्टिकोण सार्वजनिक सन्देशमा मात्र सीमित छैन । यसमा रणनीतिक मौनता, संस्थागत धैर्य, निजी दबाब र सार्वभौमिकताको भाषाको सावधानीपूर्ण प्रयोग पनि समावेश छ ।
नेपालका लागि यो घटनाले उत्तिकै महत्वपूर्ण पाठ दिन्छ । नेपालको चुनौती चीनलाई कसरी जवाफ दिने भन्ने मात्र होइन । आफ्नै राज्य क्षमता, संस्थागत एकरूपता र कूटनीतिक स्पष्टता कसरी बलियो बनाउने भन्ने पनि हो । नेपाल ठूला शक्तिहरूले प्रभाव, दबाब र भाष्य परीक्षण गर्ने निष्क्रिय मैदान बन्न सक्दैन । न त चीन, भारत र अमेरिकासँगका संवेदनशील सम्बन्धलाई तदर्थ प्रतिक्रिया र असंगत नीतिगत व्यवहारका भरमा व्यवस्थापन गर्न सक्छ ।
एक सार्वभौम राष्ट्रले विश्वसनीय आरोपको स्वतन्त्र अनुसन्धान गर्न, आधारहीन अफवाहलाई जिम्मेवारीपूर्वक अस्वीकार गर्न, सार्वजनिक अभिव्यक्तिको स्वतन्त्रतालाई जोगाउन र कूटनीतिक सम्बन्धको मर्यादा कायम राख्न एकैसाथ सक्नुपर्छ । यस्ता घटनामा नेपालको प्रतिक्रिया कुनै ठूलो शक्तिलाई चिढ्याउने डरबाट निर्देशित हुनु हुँदैन । न त विदेशी संवेदनशीलतालाई घरेलु राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रलोभनबाट ।
त्यसैले चिनियाँ दूतावासको वक्तव्यलाई केवल सामान्य खण्डन वा अपरिपक्व कूटनीतिक अतिप्रतिक्रियाका रूपमा बुझ्नु पर्याप्त हुँदैन । यसलाई जोखिम मूल्यांकन, प्रतिष्ठागत चिन्ता र रणनीतिक संयमबाट आकार पाएको चयनात्मक सक्रियताका रूपमा बुझ्नु बढी उपयुक्त हुन्छ । उक्त वक्तव्यले हस्तक्षेपको आरोप अस्वीकार ग¥यो, तर नेपाललाई यस्तो कदम चाल्न आग्रह पनि ग¥यो, जसलाई बाह्य कूटनीतिक दबाबका रूपमा व्याख्या गर्न सकिन्छ ।
यही कूटनीतिक विरोधाभास यो सम्पूर्ण घटनाको केन्द्रमा छ । बेइजिङको सन्देश मित्रता, विवेक र बुद्धिमत्ताको भाषामा प्रस्तुत गरिएको छ । तर त्यस भाषामुनि अझ जटिल यथार्थ लुकेको छ - नेपालको भूराजनीतिक परिदृश्यमा सानो अफवाहसमेत प्रभाव, सार्वभौमिकता र रणनीतिक विश्वासको परीक्षण बन्न सक्छ । अनि ठूलो मौनता कहिलेकाहीँ सार्वजनिक वक्तव्यभन्दा पनि धेरै बोल्ने हुन्छ ।