Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

नेपालको कूटनीति रित्तिदैछ

१७ मंगलबार , मंसिर २०८२२ दिन अगाडि

नेपालको कूटनीति रित्तिदैछ

जेनजी आन्दोलनपछि बनेको जेनजी नामको सुशीला कार्की सरकारले ११ राजूतलाई फिर्ता बोलायो । ती राजदूतहरु कोही राजीनामा दिएर घर फर्के, कोही परराष्ट्रमा हाजीर गरेर तलव खाइरहेका छन् । राजदूत फिर्ता गर्ने सरकारले बाँकी राजदूत किन फिर्ता बोलाएन, नयाँ राजदूत कहिले नियुक्ती गर्ने हो ? कुनै स्पष्टता छैन । तत्कालीन सरकारले गरेको राजनीतिक दाग लागेकाहरुको नियुक्ती बदर गरेको हो भने संवैधानिक निकायमा त्यस्ता नियुक्ती कति छन्, कति जो पार्टी र पार्टीका नेतानिकट छन्, तिनलाई हटाउने सकेन, हट्न अनुरोधसमेत गर्न सकेन ।
भन्नलाई जेनजीको सिफारिसको सरकार भन्ने, भ्रष्टाचारको अन्त र सुशासन दिने कुरा गर्ने, चुनाव गराउँछु भन्दै जेनजी पुस्ताका युवाहरुलाई पक्राउ गर्ने, यातना दिने, थुन्ने र मुद्दाको झमेलामा फसाउने काम गरिरहेको छ ।
स्मरणीय छ, कुनै दिन नेपालले के बोल्छ भनेर विश्वले कान ठाढो पारेर सुन्थ्यो । आज नेपालको कूटनीतिक क्षमता राजदूत पदसमेत राजनीतिक भागबण्डा, व्यभिचार, लेनदेन, किनबेच, नातावाद, कृपावादको चङ्गुलमा परेपछि जेजति कूटनीतिक सम्मानको संचिति थियो, त्यो सबै समाप्त हुनपुगेको छ । राजदूतको फिर्तीले त कूटनीति रित्तिएको छ ।
३७ वर्षमा ३४ सरकार बन्नु, सरकारैपिच्छे राजदूत नियुक्ती हुने, फिर्ता बोलाउने र आफ्नो तरिकाले नियुक्ति गर्ने प्रचलनले नेपालको कूटनीतिक क्षमतामा ह्रास आएको छ । त्यसै पनि नेपालले असंलग्नता र पञ्चशीललाई पराइको दबाब र प्रभावमा त्याग्ने नजीर बसालेर नेपालको कूटनीतिक कमजोर बन्दै गएको छ ।
सरकारले विभिन्न मुलुकमा राजदूत नियुक्त गर्न सिफारिस गरेका राजदूत कति सक्षम, कति काविल, कति कूटनीतिक दक्षता भएका, कति सिफारिस भएका मुलुकको बारेमा जानकारी राख्ने, कति नेपालको छवि उजिल्याउन र नेपालमा लगानी भित्र्याउन तथा नेपालसँग मैत्रीभाव–सम्बन्ध बढाउन सक्ने खालका होइनन् भन्ने विषय संसदीय सुनवाईका क्रममै प्रष्ट भए पनि राजनीतिक दबाब र प्रभावमा नियुक्त हुने चलन छ ।
फिर्ता बोलाइएका राजदूतहरूले अमेरिकी राष्ट्रपतिलाई नेपाल घुमाउन ल्याउनसक्ने, बेलायतका बृटिस गोर्खाका लामो समयदेखि मुद्दामा रहेको समस्या सुल्झाइदिने, खाडीमा सकेसम्म बढी कामदार लैजाने, फूटबल खेलाडीका देशमा सिफारिस भएका राजदुतले त फूटबलर रोनाल्डिनोलाई नै नेपाल ल्याउने, एकले इजरायलको युद्ध नै रोकिदिने क्षमता रहेको र अर्काले रूस र युक्रेनको युद्ध रोक्न सक्ने बताएका थिए । यस्ता हावादारी गफ गर्नेलाई राजदूत नियुक्ती गर्नु भनेको संसद कति प्रभावकारी रहेछ भन्ने बुझिएकै थियो । जेनजीले निर्माण गरेको सरकारले त अर्काे तमासा देखाउन थालेको छ । देशको कूटनीति यसरी रित्तो राख्नु र नेपालका आवश्यकता र अपेक्षाको लविङ् गर्ने वातावरण तोड्नु असक्षमता हो ।
प्रधानमन्त्री व्यस्त छन्, उनले परराष्ट्र मन्त्री नियुक्त गर्न सकेको देखिदैन । त्यसै पनि यो सरकार अनेकन नेपोटिजमकै बिबादमा फस्न थालेका समाचार सार्वजनिक भएका छन् ।
जेनजी आन्दोलनपछि देशको राजनीतिक अवस्था तरल छ । यो बेलामा विध्वंश र प्रस्तावित चुनावका लागि समेत अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउनु पर्ने बेलामा कूटनीतिक शून्यता राष्ट्रिय अस्तित्वका लागि घातक हो । कर्मकाण्डी तरिकाले देश उँभो लाग्न सक्दैन । हिजो सत्तामा कांग्रेस, कम्युनिष्ट थिए र तिनले नियुक्त गरेका राजदूत, कन्सुलरहरु असक्षम थिए भने सक्षम र योग्यलाई जिम्मेवारी छिटो दिनुपर्ने विषयमा सरकार गम्भीर देखिदैन ।  – डा.विनिता