
काठमाडौं । केही समययता अमेरिका र दक्षिण अमेरिकी मुलुक भेनेजुएलाबिच तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र आसपासको हवाई क्षेत्र (एयर स्पेस) बन्द गर्ने भनेपछि भेनेजुएला थप चिढिएको छ ।
ट्रम्पको यो अभिव्यक्तिलाई भेनेजुएली विदेशमन्त्रीले अर्को उच्छृंखल, गैरकानुनी र अनुचित आक्रमण भन्दै भर्त्सना गरेका छन् । अमेरिकासँग अर्को देशको एयर स्पेस बन्द गर्ने कानुनी अधिकार नभएको भन्दै यो औपनिवेशिक धम्की भएको उनले बताएका छन् ।
अमेरिकाले भेनेजुएला आसपास आफ्नो सेना तैनाथ गरिरहेको छ । लागूपदार्थ बोकेका भनिएका जहाजहरूमा कम्तीमा २१ वटा आक्रमण गरिसकेको छ । आक्रमणका कारण हालसम्म ८० जना भन्दा बढीको मृत्यु भएको छ । अमेरिकाले संदिग्ध जहाजमा लागूपदार्थ नै थिए भन्ने कुनै प्रमाण दिएको छैन । अमेरिकाका यी सबै कदम आफूलाई सत्ताबाट हटाउने प्रयास भएको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको भनाइ छ ।
‘सबै एयरलाइन्स, पाइलट, लागूपदार्थ व्यापारी र मानव तस्करहरूलाई, कृपया भेनेजुएलामाथि र आसपासको हवाई क्षेत्र पूर्ण रूपमा बन्द भएको ठान्नुहोस्,’ सोसल ट्रुथमा ट्रम्पले लेखेका छन् । ट्रम्पले भेनेजुएलामाथि एकपछि अर्को कदम चाल्दै गर्दा अमेरिकी कंग्रेसका डेमोक्र्याटिक र केही रिपब्लिकन सदस्यहरुले कानुनी स्वीकृति नलिएकोमा आपत्ति जनाएका छन् ।
‘भेनेजुएलाप्रति ट्रम्पको लापरवाहीपूर्ण कार्यले अमेरिकालाई अर्को महँगो युद्धको नजिक धकेलिरहेको छ,’ सिनेटका डेमोक्र्याटिक सांसद चक शुमरले एक्समा लेखेका छन् । संविधान अन्तर्गत युद्धको घोषणा गर्ने एक मात्र शक्ति कंग्रेससँग भएको उनले स्मरण गराएका छन् ।
@ratopati


