
जेठ २५ गते अमेरिकाले ३७ नेपालीलाई डिपोर्ट गरिदिएको छ । यो सिधा दोस्रो डिपोर्ट हो भने अन्य जहाजबाट दिनहुँझैं नेपाली डिपोर्ट भइरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा जोखिमलाई कारण देखाउँदै १२ देशहरू अफगानिस्तान, म्यानमार, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन लाई अमेरिका प्रवेशमा पूर्ण रोक लगाइदिएका छन् । बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला गरी सात देशलाई आंशिक प्रतिवन्ध लगाएका छन् । यसमा अमेरिकी राष्ट्रिय हितमा काम गर्नेले छुट पाएका छन् ।
राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकीहरूलाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउन यो निर्णय लिइएको हो ।
‘मेक अमेरिका ग्रेट अगेन’ मन्त्रका साथ चुनाव जितेर राष्ट्रपति बनेका ट्रम्पले दिनदिनै ठूला ठूला निर्णय लिएर विश्वभरि तरङ्ग उत्पन्न गरिरहेका छन् । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले ७ मुस्लिम देशलाई प्रतिवन्ध लगाएका थिए भने जो बाइडेनको कार्यकालमा यो प्रतिवन्ध फुकुवा भएको थियो । अफगानिस्तानका नागरिकमाथिको प्रतिवन्धले दुई दशक सँगै युद्धमा काम गरेका अफगानीहरु अन्यौलमा परेका छन् । यसबारे छुट्टै निर्णय हुने देखिन्छ ।
ह्वाइट हाउसकी उपप्रवक्ता अबिगेल ज्याक्सनले भनेकी छन्, ‘अमेरिकी जनतालाई हानि पु¥याउन चाहने खतरनाक विदेशी तत्वहरूबाट जोगाउन राष्ट्रपति ट्रम्पले प्रतिबद्धता पूरा गरिरहेका छन् । यो निर्णय ती देशहरुमा लक्षित छ जसमा उचित जाँच प्रक्रिया छैन, भिसा अवधि नाघ्ने दर उच्च छ र खतरा सम्बन्धी सूचना आदानप्रदान गर्न असफल छन् ।
नेपालमा भुटानी शरणार्थी काण्ड, भिजिट भिसा काण्डलगायतका काण्डबाट आतंककारीले समेत एयरपोर्टको दुरुपयोग गरेका खबर सार्वजनिक भइरहेका छन् । कतै नेपाल पनि कालोसूचीमा प¥यो भने आश्चर्य नमाने हुन्छ । यद्यपि नेपालका लागि एयरपोर्टलाई सुरक्षित पार्ने समय छ, न्यायिक छानबिन गरेर उचित बन्दोबस्त गर्ने मौका पनि छ ।