
दक्षिण कोरियाको राष्ट्रपतिमा जे–म्यूङ निर्वाचित भएका छन् । उनले उत्तर कोरियासँगको ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गरेपछि उत्तर–दक्षिण दुबै कोरियाली आमनागरिकमा उत्साह र नयाँ तरङ्ग देखिन थालेको छ ।
नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गर्नु ठूलो खबरका रुपमा विश्वसमाचार बनेको छ । दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेताले ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले एशियाको निर्यातमा निर्भर चौथो ठूलो अर्थतन्त्रका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी पनि दिएका छन् ।
ली मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गरेका हुन् । लीले ४९.४ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी किमले ४१.२ प्रतिशत मत प्राप्त गरेका थिए । किमले पार्टीमा आन्तरिक कलह र तेस्रो पक्षका उम्मेदवारले दक्षिणपन्थी मत विभाजन गरेका कारण पराजय भएको स्वीकारेका छन् । राष्ट्रपति लीले औपचारिक रूपमा देशको सशस्त्र बलको सञ्चालन नेतृत्व ग्रहण गरेका छन् । उनले प्योङयाङको उक्साहटविरूद्ध ‘तत्परता’ कायम राख्न पनि शीर्ष सैन्य कमाण्डरलाई आग्रह गरेका छन् । लीलाई स्थिरताको प्रतिकका रुपमा हेरिएको छ ।