
Oct 21, 2022 । देखि नेपालमा कार्यरत अमेरिकी प्रतिनिधि महामहिम राजदूत डिन थम्पसन मुस्ताङदेखि लुम्बिनीसम्म, पोखरादेखि इलामसम्म, पुरै नेपाल घुमेर भूराजनीति बुझेका राजदूत हुनुहुन्छ । उहाँको सक्रियता भूराजनीतिक जानकारी लिन र रणनीतिक मात्र सिमित देखिदैन, नेपाली संस्कृति, परम्परा जान्न र नेपाली जनतासँग घूलमिल हुन सिपालु देखिन्छन् । दूतावासका सहयोगीहरूलाई मिसनको कार्यमा सकृय पार्न र अमेरिकाबाट नेपाल आउने जो कोहीलाई नेपालबारे जानकारी दिन र नेपाली जनतासम्म दूतावासको नीति, सूचना पु¥याउने सम्बन्धमा सामाजिक सञ्जालमा जुन सक्रियता देखिएको छ, त्यसबाट अब नेपाललाई अमेरिकाले अमेरिकी आँखाले हेरेको प्रष्टै हुन्छ । भारतीय चस्माले हेरेको भाष्यको अन्त भएको छ ।
अमेरिकाले डिन थम्पसनलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको नेपाल–अमेरिकावीचको सम्बन्ध सुधार्न र यो सम्बन्धलाई रणनीतिक रुपमा उपयोग गर्न हुनसक्छ । निश्चित रूपमा हरेक मिसनको आफ्नो उद्देश्य हुन्छ, नयाँ आर्थिक शक्ति बन्दै गएका चीन र भारतका वीचमा रहेको नेपाली भूमि रणनीतिक रूपमा महत्वको छ, त्यो महत्व अमेरिकाले बुझेर नै सक्रियता बढाएको हो । सवाल नेपालको कूटनीतिक क्षमता र नेपाली नेतृत्वको देशभक्तिको हो । नेपाललाई विश्वको सहयोग चाहिन्छ । अमेरिकाको सहयोग त अपरिहार्य नै छ । त्यो सहयोगलाई नेपाल तथा नेपालीको हितमा उपयोग गर्ने ल्याकत देखाउन नसक्दा संकटमा परेको छ ।
सुरू सुरूका दिनमा थम्पसन नेपालका लागि राजदूतका रूपमा नियुक्त हुँदा के हुन्, को हुन् ? भन्ने जिज्ञासा थियो । अब त्यो जिज्ञासाको अन्त भइसकेको छ । अमेरिकासँग एमसीसी माग्ने माओवादी नै हो, हालका अर्थमन्त्री वर्षमान पुन नै हुन् । एमसीसी पास गर्न हुन्न भनेर सडकमा आगो बाल्ने र अमेरिकाको घनघोर बिरोध गर्ने पनि माओवादी नै निस्किए । रातारात के भयो, माओवादीले सडक आन्दोलनलाई मत्थर पार्दै संसदबाट एमसीसी पास गरिदियो । डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि एमसीसी खतरामा परिसकेको छ । युएसआइडीका सहयोग रोकियो, सहयोग बोक्ने गाडीहरु चोभारमा घाममा सुकेका छन् । नेपाल विश्वासिलो मित्रबाट फ्रडको श्रेणीमा झरेको छ । यसमा हाम्रै कमजोरी छन् ।
महामहिम राजदूत डिन सार्वजनिक नीति र राष्ट्रिय सुरक्षा रणनीति विषयमा नेशनल डिफेन्स युनिभर्सिटीबाट अध्ययन गरेका व्यक्तित्व हुन् । उनी मन्त्री स्तरका क्यारिएर विदेश सेवाका कर्मचारी हुन् । दक्षिण र केन्द्रीय एसिया विषयमा २ वर्षदेखि अध्ययन गरेपछि थम्पसन भारतको कोलकतामा अमेरिकी कन्सुलेटको काम पनि गरेका रहेछन् । क्राइसिस म्यानेजमेन्ट, सूचना स्रोत व्यवस्थापनका ज्ञाता थम्पसन भारतको बंगाली भाषामा विशेष दख्खल राख्छन् । उनले उत्तर दक्षिण कोरियाको बढ्दो द्वन्द्वकालमा दक्षिण कोरियामा रहेर ‘प्रतिरक्षा मुद्दाहरूमा रक्षा सचिव’को जिम्मेवारी बखुबी पूरा गरेका रहेछन् । एसिया बुझेका र नेपालको भूराजनीतिमा विश्वशक्तिहरू उपस्थित भइरहेको बेलामा सुरक्षाविद थम्पसनको नेपालमा नियुक्ती र राष्ट्रपति ट्रम्पको कार्यकाल नेपालका अन्यौलपूर्ण बनेको छ ।
नेपालका नेताहरु जनताप्रति जवाफदेही छैनन् । सरकार पनि निरंकूश देखिएको छ । लोकतान्त्रिक गणतन्त्र भन्ने, नैतिक नबन्दा लोकतन्त्रको के अर्थ रह्यो र ?
नेपाल अमेरिका मित्रता र राष्ट्रपति ट्रम्पका निर्णयहरुले राजनीतिक र कूटनीतिक तीखा प्रश्नहरू उठेका छन् । नेपालले ऋण ब्यहोर्न सक्दैन, अनुदानको उपयोग पनि स्वच्छताका साथ गर्न सकेन भने यो दुर्भाग्य हो । राजनीतिको असफलताका कारण नेपालको घट्दो विश्व विश्वसनीयतालाई कसरी विश्वासयोग्य बनाउने ? नेपालको राजनीतिक नेतृत्वका सामु यक्ष प्रश्न हो यो । एमसिसी र एसपीपी नेपालले खुला वा गोप्य रूपमा स्वीकारिसकेको अवस्थामा अमेरिकाको विश्वास कसरी जित्ने, रोकिएका सहयोग र थप सहयोग कसरी लिन सकिन्छ भन्ने विषयमा राष्ट्रिय बहस र सरकारको प्रष्ट नीति जरुरी देखिन्छ । विश्वशक्तिको प्रतिस्पर्धा होला, नेपालको ध्यान मानवाधिकारसहितको विकास प्राथमिकतामा हुनुपर्छ । – राजन कार्की