
नेपाल सरकारले आयोजना गरेकाे सगरमाथा संवादमा सहभागीका लागि नेपालमा आउनु भएकाे जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा मन्त्री डा. राणा र जापानी उपविदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
भेटका अवसरमा मन्त्री डा. राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकाेमा धन्यवाद व्यक्त गर्दै सिन्धुली बर्दिवास सडकको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको बताइएको छ । सिन्धुली बर्दिवास सडक गत वर्ष असाेजमा आएको अविरल वर्षा र बाढीकाे कारण ठूलो क्षति भएको थियाे ।
यसअघि उक्त सडक जापान सरकारको अनुदानमा निर्माण गरिएकाे हाे । मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्याउँदै आएको सहयोगका लागि पनि धन्यवाद व्यक्त गर्नुभएको थियो ।
त्यसैगरि आजकाे भेटमा मन्त्री डा. राणाले नेपालले अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता जनताउन र सहयोग गर्न जापानसँग आग्रह समेत गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।