
✍️अलेक्जेन्डर दुगिन, (अनुवाद- मोहनप्रसाद ज्ञवाली )
हिजोको ट्रम्प र पुटिनबीचको टेलिफोन वार्ता एक अत्यन्त महत्वपूर्ण घटना हो। दुई ठूला महाशक्तिका राष्ट्रप्रमुखहरूले आपसी रूपमा धेरै समस्याहरूमा छलफल गरे। मलाई लाग्छ, कुराकानी केवल युक्रेनसम्म सीमित थिएन, बरु भविष्यको विश्व संरचनाबारे पनि थियो। अहिले हाम्रो आँखा अगाडि निर्माण भइरहेको महाशक्तिहरूको जुन नयाँ क्रम छ, त्यसको एकध्रुवीय वैश्विक उदारवादी विश्वसँग कुनै सम्बन्ध छैन। त्यो पहिलेको विश्व व्यवस्था जसलाई अमेरिकी प्रशासनले सम्पूर्ण मानवजातिमाथि जबर्जस्त थोपरेको थियो, जसका अवशेषहरू हामी अहिले पनि युरोपेली संघमा देखिरहेका छौं।
यस संवादमा पुटिन र ट्रम्पले अन्तर्राष्ट्रिय सम्बन्धहरूको नयाँ संरचनाको निर्माणका दिशाहरूको आधारशिला राखेका छन्। निस्सन्देह, संवाद जारी रहनेछ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि यो संवाद अस्तित्वमा छ, हाम्रा नेताहरू आपसमा छलफल गर्दै, विभिन्न समस्याहरूको समाधानका लागि विचारहरूको आदानप्रदान गर्दैछन्। त्यसैले, यो संवादको तथ्यलाई कम मूल्याङ्कन गर्न गाह्रो छ। वास्तवमा, यो पहिले नै नवीनतम इतिहासको एक मोड बिन्दुका साथै तनाव कम गर्ने आधार बनिसकेको छ।
हो, ट्रम्प अझै पनि रुससँग युद्धको अवस्थामा छन्। यो उनको आफ्नै युद्ध होइन, उनले यसको सुरुवात गरेका होइनन् र यसलाई सकेसम्म छिटो अन्त्य गर्न चाहन्छन्। तर, समस्या के छ भने, उनलाई यो कसरी समाधान गर्ने भन्ने थाहा छैन। उनले युक्रेन हाम्रो लागि के हो भन्ने कुरा पूर्ण रूपमा बुझ्दैनन्। देखिन्छ, उनले यो द्वन्द्व अन्त्य गर्न सकिने उपायहरू र उपकरणहरूलाई लिएर धेरै सरल दृष्टिकोण राखेका छन्। तर, यसका बाबजुद, उनीसँग यो युद्ध अन्त्य गर्ने दृढ इच्छा अवश्य छ। उनी यस युद्धलाई युरोपेली संघको जिम्मामा छोडेर रोक्न वा यसबाट बाहिर निस्कन चाहन्छन्।
डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिनप्रति आफ्नो विश्वास बढाउँदै गएका छन्, भने भोलोदिमिर जेलेन्स्कीप्रति उनको विश्वास घट्दै गएको छ। ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न गरिएको ३०(दिने युद्धविराम सम्झौता यस कुराको प्रमाण हो। रुसले तुरुन्तै आफ्नो प्रक्षेपित ड्रोनहरू नष्ट गर्दै यो सम्झौता पालना गर्यो। जुन ड्रोनहरू किभको शासनअन्तर्गत रहेका ऊर्जा क्षेत्र संरचनाहरूलाई लक्षित गर्न पठाइएका थिए। तर, जेलेन्स्कीले स्ताभ्रोपोल क्षेत्रमा रहेको ऊर्जा आधारमा आक्रमण गरे। यसबाट ट्रम्पले कसको शब्दको विश्वसनीयता छ र कसको छैन भन्ने कुरा बुझी सके।
जेलेन्स्की ट्रम्पको कुरा सुन्न इच्छुक छैनन्, किनभने उनी सत्तामा केही समय टिकिरहनको लागि एक मात्र उपाय भनेको युद्धलाई निरन्तर रुपमा निराशापूर्वक जारी राख्नु हो। उनले आफूलाई नै यस निराशाजनक स्थितिमा पुर्याएका छन्। तर महत्त्वपूर्ण कुरा के हो भने उनले ट्रम्पप्रति ठूलो अनादर देखाइरहेका छन्। उनले वास्तवमा त्यस व्यक्तिलाई बेवास्ता गरिरहेका छन्, जसले युक्रेनीहरूको हातबाट मुख्य युद्ध लडिरहेका छन्। अन्ततः, हामी वास्तवमै संयुक्त राज्य अमेरिकासँग लडिरहेका छौं।
जेलेन्स्की त केवल उपकरण मात्र हुन्, एक परिस्थितिको बन्धक जसमा उनी आफैं परे। उनी संयुक्त राज्य अमेरिकाको सत्तामा रहेका वैश्वीकतावादीहरूको हातको कठपुतली बने। तर अहिले संयुक्त राज्य अमेरिकामा ठ्याक्कै विपरीत विचारधाराका व्यक्ति र देशभक्तहरू सत्तामा छन्। संयोगवश, हिजोको अन्तर्वार्तामा ट्रम्पले आफूलाई अमेरिकी राष्ट्रवादी भने, उनले प्राथमिकतामा अमेरिकाका चासोलाई राख्ने बताए। यो बुझ्न सकिन्छ उनको अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवाद हो।
चित्र स्पष्ट छ। ट्रम्पलाई युद्ध आवश्यक छैन, र उनी त्यसबाट बाहिर निस्कन चाहन्छन्। उनले पुटिनलाई एक भरपर्दो साझेदार देख्छन्। जससँग सम्झौता गर्न सकिन्छ र जसले आफ्नो वाचा दृढतापूर्वक पूरा गर्छ। यस पृष्ठभूमिमा जेलेन्स्की र युरोपेली संघको व्यवहार तीव्र विरोधाभासमा देखिन्छ। जो आक्रामक, कट्टर, गैरजिम्मेवार, द्वेषपूर्ण, सानो सोच भएको, अविश्वसनीय र झूटो छ। वास्तवमा, यी ट्रम्पका शत्रुहरू हुन् र उनीहरूले अघिल्ला वर्षहरूमा उनलाई यस्तै व्यवहार गरेका थिए। तदनुसार, ट्रम्पले आफ्नो नयाँ, दोस्रो कार्यकालमा प्रवेश गर्दा, क्रमशः यो बुझ्न सुरु गरे कि कसमाथि भर पर्न सकिन्छ र कसमाथि सकिँदैन। को अमेरिकी चासोहरूको विरोध गर्दैन र को तिनीहरूलाई कमजोर पार्छ। यसरी क्रमशः स्थिति समाधान हुँदै जानेछ।
यसैबीच, युरोपमा ट्रम्पले वैश्वीकतावाद र उदारवादलाई धोका दिएका छन् भन्ने कुरा बढ्दो रूपमा चर्चा भइरहेको छ। तर, रुससँगको युद्धको तयारी गर्न अमेरिकाको समर्थनबिना युरोपेली संघलाई युरोपेली सेनाको पुनर्संरचनाका लागि कम्तीमा तीन वर्ष आवश्यक पर्छ। तथापि, यी वर्षहरू आधुनिक युरोपमा स्थापित राजनीतिक प्रणालीभन्दा पूर्णतः फरक राजनीतिक प्रणालीको अवस्थामा बित्नुपर्छ। उदारवाद पूर्णतः सैन्य अर्थतन्त्रको लागि अनुपयुक्त छ। तसर्थ, यो लक्ष्य उनीहरूका लागि पूर्णतः अप्रयाप्त छ।
त्यसैले पुटिन र ट्रम्पले जेलेन्स्की युरोपेलीहरूको सहभागिता बिना नै शान्तिका लागि सहमति गर्नु महत्त्वपूर्ण छ। ट्रम्प आफ्ना शत्रुहरूबाट प्राप्त युद्धलाई अन्त्य गर्न चाहन्छन्। हामी यस दिशामा अघि बढिरहेका छौँ, तर रुसले आफ्ना राष्ट्रिय हितहरूसंग कुनै सम्झौता गर्ने छैन, र पुटिनले यसलाई स्पष्ट रूपमा बताएका छन्।
वर्तमानमा, सम्पूर्ण विश्वको भाग्य रूस(अमेरिका सम्बन्धहरूको विकासमा निर्भर छ। यद्यपि हामी अझै पनि तनाव निवारणबाट धेरै टाढा छौं। तनाव कम हुँदै गएको छ, जुन उत्साहजनक छ। किनभने, संसार क्रमशः परमाणु प्रलयको खतराबाट टाढा हुँदैछ। जसको किनारमा हामी हालसम्म उभिएका थियौं। नयाँ विश्व महाशक्तिहरूको क्रम हाम्रा आँखा अगाडि गठन हुँदैछ। पुटिन र ट्रम्पका वार्ताहरू यसको अन्तिम स्वरूपतर्फको मार्गमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हुन्। यो नयाँ विश्व व्यवस्थाको चित्रणको।
हाम्रो पक्षबाट पुटिनले यी वार्ताहरू अत्यन्तै उत्कृष्ट रूपमा सम्पन्न गरे। कुनै पनि विषयमा उनी सम्झौतामा गएनन् र एकै समयमा शान्तितर्फ अघि बढ्न तयार रहेको आफ्नो प्रतिबद्धता प्रदर्शन गरे। विशेष गरी युरोप र ट्रम्प बीचको बढ्दो विभाजनको पृष्ठभूमिमा उनले गरेका निर्णयहरूको तुरुन्त कार्यान्वयनमा आफ्नो जिम्मेवारी पनि देखाए। जुन अत्यन्त महत्त्वपूर्ण र सकारात्मक छ।