
प्रधानमन्त्री केपी शर्मा ओलीसँग माल्दोभाका उपप्रधान तथा परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीको भेट भएको हो ।
नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधान तथा परराष्ट्रमन्त्री मिहेल पोप्सोइ र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।
दुवै नेताबीच भेटका क्रममा जलवायु परिवर्तन, शिक्षा, संस्कृति तथा व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समान धारणा रहेको र प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका सवाललाई महत्त्वपूर्ण ठान्दै नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’ कार्यक्रममा माल्दोभालाई सहभागिता जनाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीबीचको शिष्टाचार भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल लगायत उच्च अधिकारीहरू पनि सहभागी रहेको थियो ।