
आठौँ हिन्द महासागर सम्मेलनमा सहभागि हुन ओमनको राजधानी मस्कट पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अलबुसाइदीबीच मस्कटमा भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा. राणा र ओमनी समकक्षी अलबुसाइदीबीच आज भेटवार्ता भएको हो ।
भेटकाे अवसरमा मन्त्री डा. राणाले सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकाेमा विदेशमन्त्री अलबुसाइदीलाई बधाई ज्ञापन गरेको जनाइएको छ । भेटमा नेपाल–ओमान सम्बन्धका विविध पक्ष र विभिन्न क्षेत्रहरू सहकार्य लगायतका विषयमा छलफल भएको बताइएकाे छ ।
मन्त्री डा. राणाले नेपालमा दूतावास स्थापना गर्न तथा ओमन काठमाडौँ सीधा हवाई उडान सुरु गर्न ओमन सरकारसँग आग्रह गरेकी थिइन् । त्यस्तै नेपाल र ओमानबीच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ भने सम्झौताले सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको बताइएकाे छ ।