
माघ ११, शुक्रवार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका लागि पाकिस्तानी राजदूतसँग भेटवार्ता गरेका छन् । यो अवसरमा मन्त्री भण्डारलिे नेपालमा पाकिस्तानी व्यावसायिक गतिविधि बढाउन आग्रह गरेका हुन् । मन्त्री भण्डारी र पाकिस्तानी राजदूत अब्रार एच हाश्मीबीच भेटवार्ता भएको हो । राजदूत हाश्मीले पाकिस्तानी सरकारमा नेपालको आग्रहलाई पु¥याउने र आफूले पनि नेपालमा पाकिस्तानको व्यवसायिकता बढाउन चाहेको बताएका छन् ।
यो अवसरमा मन्त्री भण्डारीले नेपालको सङ्घीय संसदले नेपाल–पाकिस्तान संसदीय मैत्री समूह गठन गरेको जानकारी गराएका छन् । संसदीय ओहरदोहर, आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न मद्दत पुग्ने विश्वास दुबै पक्षले प्रकट गरेका छन् ।
मन्त्री भण्डारीका अनुसार ‘दुई राष्ट्रबीच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको स्थापना गरेका छौं, यी संयन्त्रमार्फत सम्वाद र सम्पर्क जारी राख्नु आवश्यक छ, अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोगको सातौँ बैठक र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको पाँचौँ बैठक नेपालमा आयोजना हुने भएको छ ।’
पाकिस्तानले शिक्षा, स्वास्थ्य र अन्य विषयमा निरन्तर सहयोग गर्दै आएको छ । पाकिस्तानले चाहेको सार्कको सम्मेलन हो, जसलाई भारतका कारणले सम्भव भइरहेको छैन । नेपाल अध्यक्ष राष्ट्र हो, नेपालको कूटनीतिक प्रयासले मूर्त रुप लिन सकेको छैन । भारतकै कारणले नेपाल र पाकिस्तानवीचको सिधा हवाई सम्पर्क पनि लामो समयदेखि अवरुद्ध रहेको छ । हवाई सेवा रोकिएको र स्थलमार्गबाट व्यापार सम्भव नेभएपछि नेपाल र पाकिस्तानबीचको व्यापार तथा आर्थिक अन्तरनिर्भरतामा ह्रास आएको छ ।
दुबै पक्षले लगानी, पर्यटन, संस्कृति र जनता–जनताबिचको सम्बन्धमा ध्यान दिनुपर्ने र जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि आदि क्षेत्रमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई आग्रह गरेका छन् । यस विषयमा पाकिस्तानी राजदूतको सकृयता अपेक्षा गरिएको छ ।
महामहिम राजदूत हाश्मीले नेपालको चिया तथा कफि पाकिस्तानमा निर्यात भइरहेको बताउँदै दुई देशबीच व्यापारिक गतिविधि बढाउन कर सुविधामा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । चालु वर्ष ३२ जना विद्यार्थीले पाकिस्तानमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको र यसमा अझ बढी सहयोग गर्न चाहेको बताएका छन् ।