Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

चीन भ्रमणको एजेण्डा के हो ?

०४ मंगलबार , मंसिर २०८१एक महिना अगाडि

चीन भ्रमणको एजेण्डा के हो ?

प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदैछन्, भ्रमणको गृहकार्य परराष्ट्रले गरिरहेको जनाएको छ ।
प्रम ओलीले भारत भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणमा जान लागेको चर्चा चुलिएको बेलामा चीन भ्रमणबारे प्रमुख प्रतिपक्षी माओवादीले चाइना कार्ड खेल्न खोजेको आरोप लगाएपछि यो भ्रमण अझ बढी चर्चामा रहेको छ ।
प्रम ओलीको चीन भ्रमण किन हुन लागेको हो ? भ्रमण हुनु राम्रो हो भन्दै परराष्ट्रविदहरूले यसपटकको भ्रमणमा राष्ट्रिय एजेण्डा हुनुपर्ने भनेका छन् ।
चीनविज्ञहरू भन्छन्– यो सरकार पश्चिमाले खडा गरिदिएको, यो भ्रमण पनि पश्चिमाकै इसारामा हुनलागेकोले यो भ्रमणमा के होला नहोला ? भन्न सकिन्न । तर उनीहरू नै भन्छन्– केपी ओलीले जग हालिसकेको झापा औद्योगिक पार्क र नेपालसम्म रेलवे ल्याउन चीनलाई मनाउन सके भने ओलीको ढाडमा हाड रहेछ भन्ने मानौंला । यी दुबै आयोजना चीनले नेपाललाई उपहारमा बनाइदिने आयोजना भनिएका छन् ।
यद्यपि नेपालले चीनको एक्जिम बैंकसँग ऋण लिएर निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुदानमा बदलिदिन चीनलाई लिखित आग्रह गरिसकेको छ । चीनले उद्घाटनकै दिन यो आयोजना बीआरआई योजनाअन्तर्गतको भनेको थियो, जबकि नेपाललाई थाहै थिएन । बीआरआई अन्तर्गतका ऋण चीनले अनुदानमा दिएको अथवा माफी गरिदिएको उदाहरण अद्यापि छैन । नेपालले त्यस्तो अनुदान पाउला वा नपाउला ? पर्खनुपर्छ । यसैवीच सन २०१७ मा नेपालले सहमति गरेको र चीनका राष्ट्रपतिको सन २०१९ को नेपाल भ्रमणताका नेपाल र चीनवीच भएका सहमति कार्यान्वयन हुनसकेको छैन । चीन बीआरआई कार्यान्वयन गर्न नेपाललाई दबाब बढाउँदैछ ।
फ्रेण्ड्स अफ चाइना, नेपाल चाइना म्यूचअल कोअपरेटिभ सोसाइटीजस्ता संस्थाहरूले एक भ्रमण एक राष्ट्रिय एजेण्डा हुनुपर्नेमा जोड दिएका छन् । कतिपय विज्ञहरूले चीनसँग खुलेर कुरा गर्नुपर्ने र नेपालले लाभ लिन अग्रसर हुनुपर्ने भनिरहेका छन् । भूराजनीतिको चेपोमा फसेको नेपालले यसपटक स्वतन्त्र मुलुकको हैसियत र असंलग्नताको जगमा टेकेर वार्ता गर्नसक्नुपर्नेछ । यसो भयो भने दक्षिणले अथवा प्रतिपक्षीका आरोप निस्तेज हुनेछन् र क्षमता देखिनेछ ।
खबर छ, चीनले सिगात्से केरूङ ५४० किलोमिटर लामो रेलवे अधिकांश बनाइसकेको छ । चीनले दैलेखमा अनुदानमा तेल उत्खनन गरिरहेको छ । तेल निस्कने सम्भाबना बढी छ । यता सडक यातायातमा बुटवल खण्डका चीनका ठेकेदारले काम नगरे ठेक्का तोड्ने कुरा प्रमले नै गरेका छन् । ठेक्का तोडेर चीन जाँदा पनि असर त गर्ला । चीन नेपालमा सिमेन्ट, जलविद्युत लगायतमा लगानी बढाउँदैछ । यो कुरा भारतलाई अपच भएको छ भने यही विषयलाई लिएर भारतलाई चिसो पार्न र ओलीलाई अलोकप्रिय बनाउने प्रयास अनेक राजनीतिक कोणबाट भइरहेका छन् । मूल कुरा कांग्रेस र एमालेवीचको समन्वयले काम नगर्दा पनि शंका उठेका छन् ।
जबसम्म कांग्रेस र एमालेको गठबन्धनले काम गर्छ, सभापति देउवाले ओलीलाई विश्वास गर्छन्, यो सरकार ढल्नेवाला छैन । अब हेर्नुछ, ओलीको चीन भ्रमणको उपलब्धि पार्क र रेलवे, ऋण माफीमा देखिन्छ कि देखिन्न ?