कमल कोइराला - - - - -
नेपाल विसं २०१५ साल मंसिर २९ गते संयुक्त राष्ट्रसंघको सदस्य बन्यो । नेपाल राजा महेन्द्रका पालामा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । त्यसबेला मन्त्रिपरिषद्को अध्यक्ष सुवर्ण शमशेर हुनुहुन्थ्यो । ‘रियल पावर’ भने राजा महेन्द्रसँगै थियो ।
चुनाव सकिएपछि वीपी कोइराला २०१६ जेठ १३ गतेदेखि जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । त्यसअघि नै राष्ट्रपति आइजनहावरका पालामा राजा महेन्द्रको पहिलो अमेरिका भ्रमण भयो । त्यसबेला ऋषिकेश शाह अमेरिकाका लागि नेपाली राजदूत हुनुहुन्थ्यो ।
नेपाल(अमेरिका कूटनीतिक सम्बन्धको कुरा गर्दा विसं २००४ फागुन ६ गते बेलायतका लागि राजदूत रहेका केशरशमशेर जबराले नै उतैबाट अमेरिका गएर राजदूतको भूमिका निभाएको इतिहास छ ।
त्योबेला राष्ट्रसंघका पाँचवटा स्थायी सदस्य थिए । रुस, फ्रान्स, बेलायत, अमेरिका, चीन । नेपालले सदस्यताका लागि पहल गर्दा पहिलो पटक रुसले भिटो हाल्दियो । सदस्य हुन सहज थिएन । उनीहरुका आफ्ना–आफ्ना गेम हुन्छन् । रुसलाई आफूलाई साथ दिने देशलाई सदस्य बनाउनु थियो, नेपाललाई रोकिदियो ।
मातृकाप्रसाद कोइराला भन्दा पहिले ऋषिकेश शाह संयुक्त राष्ट्रसंघ र अमेरिकाका लागि राजदूत हुनुहुन्थ्यो । एउटै राजदूतले वासिङटन र न्युयोर्क दुवै हेर्थे । राष्ट्रसंघको सेशन चल्दासम्म न्युयोर्क बस्ने, त्यसपछि वासिङटन जाने ।
वासिङटनमा दूताबासले त्यतिबेलै घर किनेको थियो । ‘फोर्टी सेकेन्ड स्ट्रिट’ भन्ने ठाउँमा संयुक्त राष्ट्रसंघकै अगाडि न्युयोर्कमा भाडाको घर थियो । अस्ति प्रदर्शनकारीहरुले हल्ला गरे नि, हो त्यहीँ । पारि राष्ट्रसंघको बिल्डिङ छ, वारि हाम्रो भाडाको घर । ऋषिकेश शाह सेप्टेम्बर १९५८ देखि अक्टोबर १९५८ सम्म राजदूतका रुपमा त्यहाँ बसेका हुन् ।
राजा महेन्द्रले १३ जुलाई १९६१ मा शासन सत्ता हातमा लिए । शासन सत्ता हातमा लिएपछि पहिला मातृकाप्रसाद कोइरालालाई थुने । पछि संयुक्त राष्ट्रसंघ जाने भए छोडिदिन्छु भने ।
अमेरिका र राष्ट्रसंघको राजदूत बनाएर राजा महेन्द्रले मेरा बुबा मातृकाप्रसाद कोइरालालाई अमेरिका पठाए । नेपालमा प्रधानमन्त्री भएर राजदूत हुने उहाँ नै पहिलो व्यक्ति हो ।
त्योबेला म कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य थिएँ । राजदूत बनाएपछि बुबा मातृका अमेरिका जानुभयो । मेरा भाइ–बहिनीहरू सबै अमेरिका गए । तर, म गइनँ । हजुरआमा यहीँ हुनुहुन्थ्यो । दाजु ९विमल० लाई हजुरआमाको हेरचाहका लागि नेपालमै छोड्नुभएको थियो । त्योबेला म इन्डियामा थिएँ । मलाई पञ्चायती सरकारले पासपोर्ट दिने कुरा पनि थिएन ।
राजा महेन्द्रसँग अमेरिकाको सम्बन्ध राम्रो थियो ।
महेन्द्र र वीपी कोइराला
अमेरिकाको सम्बन्ध राजा महेन्द्रसँग धेरै गहिरो थियो । यो कुरा धेरैलाई थाहै छैन । धेरै गहिरो, डिप थियो । महेन्द्र बीपी कोइराला प्रधानमन्त्री भइसकेपछि पनि अमेरिका गएका थिए ।
त्योबेलामा अमेरिकाले राजा महेन्द्रलाई ठूलो राजकीय सम्मान प्रदान गर्यो । हत्तपत्त कुनै पनि विदेशको राष्ट्र प्रमुखलाई अमेरिकाले सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभको संयुक्त बैठकमा भाषण गर्न दिँदैन । तर, राजा महेन्द्रलाई अमेरिकाले त्यहाँ सम्बोधन गर्न दियो ।
त्योबेला राजा महेन्द्रका साथमा उपप्रधानमन्त्री सुवर्ण शमशेर राणा पनि अमेरिका गएका थिए । ऋषिकेश शाह त्योबेलामा पनि अमेरिकाका लागि राजदूत थिए । त्यो बेलामा यत्रो ठूलो सम्मान हत्तपत्त अमेरिकी सरकारले सबैलाई दिँदैन । जोनसन राष्ट्रपति हुँदा अमेरिकाले सन् १९६७ मा राजा महेन्द्रलाई स्टेट भिजिटमै बोलायो र ‘गार्ड अफ अनर’ दियो । यसले राजा महेन्द्रको अमेरिकासँग बडो गहिरो सम्बन्ध थियो भन्ने देखाउँछ । यसको भित्री कारण राजा महेन्द्रले खम्पा विद्रोहलाई नेपालमा अनुमति दिएका थिए ।
पञ्चायतकालमा नेपालका गाउँ–गाउँमा अमेरिकी पिसकोरका भोलेन्टियरहरु खटिएका थिए ।
अमेरिकाले नेपाललाई भूमि सुधार गर भनेर दबाब नै दिएको थियो । अमेरिकाले दबाब दिएपछि तुलसी गिरीले हामीहरूको शासन व्यवस्था पुरानो किसिमको सामन्ती सोचमा अडेको छ, यो सम्भव छैन भनेर जवाफ दिएका थिए । भूमिसुधारका लागि भित्री दबाब दिने अमेरिका रहेछ । किनभने उनीहरूको भित्री चाहना नेपालमा राजा महेन्द्रको शासन दिगो होस् भन्ने थियो ।
अमेरिकाले १० वर्ष नबितिकन प्रायः एउटै व्यक्तिलाई राजकीय भ्रमणका लागि बोलाउँदैन । त्यो पनि नेपालजस्तो सानो देशको राजालाई अमेरिकाले दुई–दुई पल्ट बोलाएको छ । नेपालमा अमेरिकाको ठूलो ‘इन्ट्रेस्ट’ छ । राष्ट्रपति जोनसनले पनि राजा महेन्द्रलाई राजकीय भ्रमणमा बोलाए । उनीभन्दा अघि पनि बोलाइयो ।
कांग्रेसलाई चुनाव खर्च
बीपीलाई अमेरिकाले २०१५ सालको चुनावका बेलामा पैसा ९चुनाव खर्च० दिएको थियो । बीपी कोइरालाले तुलसी गिरीका साथमा गएर अमेरिकीहरूसँग एप्रोच गर्नुभयो– तिमीहरू पनि डेमोक्र्याट, तिमीहरू डेमोक्रेसीका लागि काम गर्ने, हाम्रो चुनाव आउँदैछ । हामीलाई तिमीहरूले मद्दत गर्नुपर्यो । चुनावले डेमोक्रेसीलाई बलियो बनाउँछ ।
अमेरिकी दूताबासमा क्लर्क बनेर बसेको सीआईएका एजेन्टले बीपीलाई गुप्त ढंगले सहयोग गर्ने कि नगर्ने भनेर सीआईएको प्रमुखलाई खबर पठाए । त्योबेला तुलसी गिरीले दोहोरो भूमिका खेले । नत्र राजा महेन्द्रलाई कसरी सीआईएले गुप्त रुपमा बीपीलाई पैसा दिएको थाहा पाए रु
केही महिना पहिलेसम्म अमेरिकाको एउटा भूमिका देखिन्छ, दलाई लामा तिब्बतबाट भारत भागिसकेपछि अर्को भूमिका हुन्छ ।
अहिलेको घुमघाम
संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री मात्र गए पनि हुन्थ्यो । प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवै जानु जरुरी थिएन । यो खाली घुमाइ मात्र हो । दुईजना जानु जरुरी थिएन । त्यहाँ भाषण त परराष्ट्र मन्त्रालयले तयार पारिसकेको हुन्छ ।
परराष्ट्रमन्त्री क्यानडाबाट अमेरिका पुग्नुभएको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमण घुमाइ हो । तर, यस्तो पहिला पनि हुन्थ्यो ।
राजा महेन्द्रको अमेरिका भ्रमणमा उपप्रधानमन्त्री सुवर्ण शमशेर पनि गएका थिए । त्योबेला अमेरिकाका राष्ट्रपति र महेन्द्रबीचको गोप्य कुराकानीमा सुवर्णलाई २० मिनेट बाहिरै राखिएको थियो ।
( पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरासमेत रहेका पूर्वराजदूत कमल कोइरालासँग कुराकानीमा आधारित)@khabarhub