Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

उपराष्ट्रपति र पाकिस्तानका राजदूतवीच शिष्टाचार भेट

२४ बिहिबार , श्रावण २०८१एक महिना अगाडि

उपराष्ट्रपति र पाकिस्तानका राजदूतवीच शिष्टाचार भेट

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तरराष्ट्रिय फोरममा सहयोग लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबिच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताउनु भयो । ‘दुई मुलुकबीच स्थापना भएको संयुक्त आर्थिक आयोग र द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र मार्फत् हामीले सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ ’ उहाँले भन्नुभयो, ‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षहरूमा सधैँ गतिशीलता र गुणस्तर बढाएको छ ।’ 
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तार गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका धेरै क्षेत्रमा दुवै देशले मिलेर काम गर्न सक्छन् । हामीले हाम्रा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।’उहाँले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएको उल्लेख गर्दै विदेशी लगानीकर्तालाई सहजीकरण गर्न नेपालले उद्योग विभागमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना समेत गरेको बताउनु भयो । ‘जलविद्युत, पर्यटन, पूर्वाधार, आइसिटी आदिमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई नेपाल स्वागत गर्दछ’ उहाँले भन्नुभयो, ‘नेपाली विद्यार्थीहरूलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान प्राविधिक सहायता कार्यक्रम ९पीटीएपी० अन्तर्गत वार्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिन्छौँ ।

उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानी पर्यटकहरूको लागि आकर्षक पर्यटकीय उत्पादन र सेवाहरू प्रदान गर्दै आएको उल्लेख गर्दै नेपालको प्राकृतिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाले धेरै ठूलो सङ्ख्यामा पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरममा सहयोगको सन्दर्भका उहाँले भन्नुभयो, ‘धेरै विषयमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण छ र हाम्रा चासोहरू बहुपक्षीय मञ्चहरूमा मिल्दाजुल्दा छन् । दुवै देशले संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन र सार्कलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आएका छन् ।’
उपराष्ट्रपति यादवले दक्षिण एसियाका जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि सार्क अगाडि बढ्नु पर्ने बताउनु भयो । ‘ सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपालले रोकिएको सार्क प्रक्रियालाई पुनः सुचारु गर्न हरसम्भव प्रयास गरिरहेको छ ’ उहाँले भन्नुभयो, ‘यस सन्दर्भमा सबै सदस्य राष्ट्रहरूको सहयोग अत्यावश्यक छ । हामी सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहन्छौँ ।’ उहाँले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी रुपमा उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्दै जलवायु परिवर्तनको प्रतिकूल प्रभावसँग लड्न दुवै देश मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानबिच घनिष्ठ सम्बन्ध रहेको र दुई मुलुक एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएको उल्लेख गर्दै सार्कमा नेपालको भूमिका सराहनीय रहेको बताउनु भयो। ‘नेपाल र पाकिस्तानबिच धेरै संयुक्त कार्य समूहहरू क्रियाशील रहँदै नेपालको पर्यटन, कृषि र ऊर्जा लगायतका क्षेत्रका काम गरिरहेका छन् ’ उहाँले भन्नुभयो, ‘नेपालले हालै आयोजना गरेको लगानी सम्मेलनमा आठ पाकिस्तानी लगानीकर्ता सहभागी भएकोमा एकले नेपाल सरकारसँग लगानी सम्झौता नै गरिसकेको छ । ’