Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पाकिस्तानमा बुद्ध जयन्ती

२६ शनिबार , जेठ २०८१२ बर्ष अगाडि

पाकिस्तानमा बुद्ध जयन्ती

मुस्लिम देश पाकिस्तानमा २५६८औं बुद्ध जयन्ती मनाइएको छ । इस्लामाबादमा नेपाली एवं पाकिस्तानी नागरिकहरुको उपस्थितिमा बुद्ध जयन्ती मनाइएको हो ,

कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सहभागीहरुलाई स्वागत गर्नुहुँदै बौद्ध दर्शनका प्रमुख सिद्धान्तहरु जस्तै अहिंसा, दया, करूणा, समभाव एवं सम्यक ध्यान जस्ता शास्वत एवं जीवनउपयोगी मूल्य, मान्यताहरू समसामयिक रहेको विचार व्यक्त गर्नुभयो। बौद्ध दर्शनमा लुम्बिनी र तक्षशीलाको ठूलो महत्व रहेको र नेपाल सरकारले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रुपमा विकास गर्न गरेका प्रयासहरुको चर्चा गर्दै पाकिस्तान सरकारले गान्धारा सभ्यताको संरक्षण र प्रबर्द्धन गर्न गरेको प्रयासको प्रशंसा गर्नुभयो । साथै, बौद्ध परम्परामा नेपाल प्रमुख तीर्थ एवं आध्यात्मिक गन्तव्यका रूपमा रहेकोले पाकिस्तान लगायत विश्वभरबाट अध्यामिक साधकहरू नेपाल भ्रमणमा जाने गरेको बताउनु भयो।

उक्त कार्यक्रम पूर्व विज्ञान तथा प्रविधि मन्त्री एवं युवक बौद्ध मण्डल नेपालका सल्लाहकार डा. केशवमान शाक्य, बौद्ध अध्येता एवं नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का केन्द्रिय सदस्य ओम चरण अमात्य, बौद्ध विद्धान एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक भिक्षु पण्डित संकिच श्रामणेर र गोरखापत्रका केदार प्रसाद भट्टराई उपस्थित थिए ।

नेपालका विद्धानहरुले पाकिस्तानको स्वात उपत्यका (गुरू पद्मसम्भव जन्मनुभएको उदियाना), पेशावर (पुरुषपुर), चरसद्दा (पुस्कलावती) एवं टक्सिला (तक्षशीला) को बौद्ध दर्शनको विकासमा ठूलो महत्व रहेको सम्बन्धमा प्रकाश पार्नुभएको थियो। उहाँहरुले पाकिस्तानमा रहेको गान्धारा सभ्यता सम्पूर्ण बौद्ध जगतको सेतुको रुपमा रहेकोले यसको जगेर्ना गर्नु एवं बौद्ध परम्पराका उच्च मूल्य एवं मान्यताहरूको प्रचारप्रसार गरी विश्व बन्धुत्व र भातृत्वको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको थियो।