Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

०३ बिहिबार , जेठ २०८१२ महिना अगाडि

किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

गोरखापत्र अनलाइनको समाचारअनुसार उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गर्नुभएको छ । सरकारी सञ्चारमाध्यमले दिएको जानकारी अनुसार प्योङयाङले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाइएपछि यो पछिल्लो हतियार परीक्षण गर्नुभएको हो । स्मरणीय छ, धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञको एउटा प्यानलको नवीकरणलाई रोक्न भिटो प्रयोग गरेकोमा रुसलाई धन्यवाद दिएको छ ।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घले त्यस्तो कुनै पनि कदमलाई प्रतिबन्ध लगाएको छ । आणविक हतियारसम्पन्न उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि रुसमा पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण र उत्पादन बढाउन सक्ने विश्लेषकहरूले बताएका छन् ।
केसीएनएका अनुसार प्योङयाङको नयाँ रक्षा उद्योग एकाइमा बनाइएका ‘मल्टिपल रकेट लन्चरको २४० एमएम शेल’ को  ‘उडान सुविधाहरू र हिट तथा एकाग्रता सूचकहरू’ परीक्षणका क्रममा ‘अत्यन्त सन्तोषजनक ढङ्गले मूल्याङ्कन’ गरिएको थियो । 
“नयाँ प्रविधिसहितको रकेट लन्चरले उत्तर कोरियाको सेनाको आर्टरी बललाई बलियो बनाउन रणनीतिक परिवर्तन ल्याउने छ” किमको भनाइ उदृत गर्दै केसिएनले भनेको छ । 
किमले मुलुकको पहिलो ‘आणविक ट्रिगर’ अभ्यासको निरीक्षण गर्नुभएको छ । सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष याङ मु–जिनले उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी क्षेत्रलाई लक्षितगरी सटीक आक्रमणका लागि मार्गदर्शन प्रविधिलाई एकीकृत गर्न ‘केही प्रगति’ हासिल गरेकोजस्तो देखिएको बताउनुभयो । “सम्पूर्ण मुलुक मिसाइल रक्षा उद्योग प्रदर्शनीजस्तो देखिन्छ” उहाँले भन्नुभयो । 
उत्तर कोरियाले सन् २००६ देखि लागु राष्ट्रसङ्घीय प्रतिबन्धलाई बेवास्ता गर्दै तथा वासिङ्टन र सोलले चेतावनी दिए पनि रेकर्ड सङ्ख्यामा मिसाइल परीक्षण गरेको छ । प्योङयाङले सन् २०२२ मा आफैँलाई ‘अपरिवर्तनीय’ आणविक हतियार सम्पन्न मुलुक घोषणा गरेको छ ।