स्वयम्भूनाथ कार्की -
जनताले गणतन्त्र सर्वसम्मत हुनबाट रोक्न चार सभासदको प्रतिनिधित्व दिएर पठाएको राप्रपा नेपाल संविधानसभामा करिव करिव अन्तसम्म अछुत सरह भयो। संविधानसभाको रोष्टमबाट नै विरोध जनाउन बसेका राप्रपा नेपालबाट प्रतिनिधित्व गरेका समासदहरुलाई 'मूर्तिचोर' सम्म भनेको प्रत्यक्ष प्रशारण हेरीरहेका असंख्य दर्शकहरुले संसारभरी हेरे। त्यो शव्द रेकर्डबाट झिकियो वा झिकिएन त्यो त तात्कालिन अध्यक्षलाई नै थाहा होला, तर झिक्ने आदेश भएको सर्वसाधारणलाई थाहा भएन। लगातारको यस्तो निम्नकोटीको व्यवहारको राप्रपा नेपालले एउटै घुर्कीले जवाफ दियो। त्यो एकै घुर्कीले कति थर्कमान गर्यो भन्ने कुराको प्रत्यक्ष प्रमाणको रुपमा राप्रपा नेपाल वर्तमानमा सरकारको एक महत्वपूर्ण साझेदार भएको छ।
अहिलेको विषयवस्तु राप्रपा नेपालले लिएको कदमको विवेचना हैन बरु हिजोसम्म नाम लिंदा पनि जिब्रो झर्छ जस्तो गर्नेहरुको खोक्रोपनको हो। मुलुकको वर्तमान कठिन अवस्थामा परिवर्तका नायकहरु भनेर मानिएका दलहरु र त्यसका शिर्ष नेताहरु ओझेलमा परेका छन्। यो परिवर्तनमा प्राप्त भनेर गन्ती गराईएका हरेक उपलव्धि घोषित रुप मै अस्विकार गर्ने राप्रपा नेपाल भने ती उपलव्धिको रक्षामा कम्मर कसेर लागेको छ। राप्रपा नेपालबाट मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्नेहरु सरकारको कुर्सीबाट त्यसको रक्षा र दलको मञ्चबाट विरोध गर्दैछन्। ती बाहेक सिंगो राप्रपा नेपाल ती उपलव्धि अस्विकार गर्दैछ।
यो सरकारमा काम गरेको को देखिन्छ भनेर सोध्ने हो भने कसैले पनि प्रधानमन्त्रीको नाम लिदैन। लिन्छ भने केवल उपप्रधानमन्त्री कमल थापाको नाम। यसै नाममा एक नाम अर्को थप भएको छ संघीय मामिला तथा स्थानिय विकास राज्यमन्त्री विराज विष्टको। उल्लेख गर्न आवश्यक छैन कि उनी पनि राप्रपा नेपाल कै हुन् र सहअध्यक्ष केशरबहादुर विष्टका छोरा हुन। सपथग्रहणको दिन प्रधानमन्त्रीले वाचा गरेको एकवर्षमा मुलुकलाई तुईनमुक्त बनाउने घोषणामा मुलुकका हजारौ तुईन मध्ये एक तुईन विस्थापन उनले गरे। प्रधानमन्त्रीका कैयौ वाचा र सरकारले अनिवार्य गर्नुपर्ने काममध्येमा केवल तिनै मन्त्रालयमा मात्र सिन्को भाँचिएको छ जो राप्रपा नेपालको भागमा परेका छन्। त्यो तुइन डोलिडारले निर्माण गरेको हो। र, आइतवार तुइन बिस्थापन मौखिक उद्देश्य बोकेका प्रधानमन्त्रीले दुईथान हेलिकोप्टर प्रयोग गरेर त्यो तुइनको उद्घाटन गरेका हुन्। त्यही अवसरमा प्रधानमन्त्री ओलीले भने– अव सरकार र जनताले मिलेर काम गर्नुपर्छ। आफू केही नगर्ने र एउटा तुइन उद्घाटन गरेर के के न गरेजस्तो गर्ने ओलीको भाषण सुनेर जनताले हाँसो उडाए।
राप्रपा नेपाललाई सत्तामा जान र सरकार बचाएर क्षणिक राहत पुर्याउनु भन्दा आफ्नो एजेण्डामा अडिग भएर दिर्घकालिन सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने जिम्मेवारी जनताले सुम्पेका हुन। यो बाटोबाट उ चुकेको अनुभूति त कम भएको छैन तैपनि अलिकति शितलता भने महशुस भएकै छ। यो एजेेण्डा एकपटक बोक्नेहरु पनि अन्य भन्दा क्षमतावान रहेछन् भन्ने सावित हुनु राष्ट्रवादीको निमित्त सुखद नै हो। जव राप्रपा नेपालमा त यति क्षमतावान छन् भने एक पलको निमित्त पनि राष्ट्रभक्ति र एजेण्डा नछोडेर अडिग वसेका त्यो भन्दा बहिरका राष्ट्रवादीहरु कति सक्षम होलान्, स्वतः अनुमान गर्न सकिन्छ।
यो नेपाली जनता, छिमेकी लगायत सम्पूर्ण विश्वलाई सन्देश हो राष्ट्रवादीहरु जस्तोसुकै संकटबाट पनि मुलुकलाई पार लगाउने क्षमता राख्छन्। होला कति भाषण गर्न जान्दैनन्, होला कति अझै बहिष्किृत भएर नै रहेका छन्। तर यो पक्का हो जुन पलदेखि उनीहरुले राष्ट्रको जिम्मेवारी सम्हाल्नेछन् त्यही पलदेखि मुलुककोे अधोगति तर्फको यात्रा समाप्त हुनेछ। केही दिन भित्रैदेखि राम्रा खवर सुनिन र राम्रो देखिन थाल्ने छ। यो कुरा कोरा दम्भमात्र हैन ठोस सत्य हो भन्ने उदाहरण देखिन थालेको छ। सम्पूर्ण विपरित परिस्थितिको साथमा, विपरित विचारधाराका व्यक्ति भरिएको टोलीमा छ लाख जनताको समर्थनको जगमा एजेण्डा छोडेको शंका गरिएको राप्रपा नेपालले बिस्तारै बिस्तारै उदाहरण देखाई रहेको छ।
दलहरुको जस्तो राष्ट्रवादी शक्तिलाई काम गर्न पद नै चाहिन्न, मुलुकलाई आवश्यक परेको वेला स्वतस्फूर्त आफूले सकेको गर्न अगाडी बढेको छ। तर त्यो काममा सरकारले हमेशा रोक लगाएको छ। दैवी प्रकोपमा परेका मुलुकवासीसँग जाँदा निर्वाचन आचारसंहिता उल्लंघन भएको फत्तुर लगाएर फर्काइएको छ। भुईचालो पिडितलाई तात्कालिन राहत दिन खोज्दा कानुनले छेकिएको छ। जाडोमा कठ्यांग्रियर मृत्युवरण गर्दै गरेका भुईचालो प्रभावितको अवस्था टुलुटुलु हेर्न बाध्य बनाईएको छ। कम से कम अव त बुझ्नेले बुझुन राष्ट्रवादीहरु वाहेक अरुसंग काम गर्ने ल्याकत नै रहेन छ। आखिर तिनै राष्ट्रवादी शिविरबाट त्यहाँ गएकाहरु सँगै ल्याकत र मेहेनत रहेछ। राष्ट्रवादीलाई प्रतिगामी भन्ने हो भने त्यही सही तर यो मुलुक अव राष्ट्रवादीले मात्र पार लगाउन सक्छ, फिर्ता गर्न विलम्व नहोस्।
बिलम्ब हुनु भनेको देश र देशबासीको अहित हुनु हो। असक्षमहरुले अझै देश र देशवासीलाई आपत र बिपतमा कति छटपटिन बाध्य पार्ने? राष्ट्रवादी अव अग्रसर हुनुपर्छ।