Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

किन हासेर फर्के एस. जयशंकर ?

२४ मंगलबार , पौष २०८०१० महिना अगाडि

किन हासेर फर्के एस. जयशंकर ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका घरदेखि सत्तासम्मका सहयोगी, पहिले विदेश सचिव र अहिले विदेशमन्त्री एस जयशंकर नेपाल आउनुको रहस्य नेपाली नेताले बुझेनन् । सबैलाई थाहा छ, भारतीय राजदूतले गर्नसक्ने कार्यका लागि जयशंकर आएकै होइनन् । जयशंकरले भारतीयकरणको दह्रो जग हाल्न आएका थिए, जग हालेर  फर्किए, हाँस्दै हाँस्दै फर्किए ।
कठै केपी ओली, माधव नेपाल, शेरबहादुर देउवा । हाम्रा पूर्वप्रधानमन्त्रीहरू लाइन लागेर द्वारिका होटलमा विदेशमन्त्रीलाई जदौ गर्न पुगेनन् मात्रै, त्वम् शरणम्को योभन्दा ठूलो नजारा अरू के हुनसक्थ्यो र ? दुनियाँ हाँस्यो ।
हाम्रो सरकारले इपीजीको कुरा उठाउन सकेन, महाकाली सन्धिको कुरा पनि उठाएनन्, सीमामा भइरहेको अत्याचारको कुरा पनि उठान गरेनन्, यिनले नेपालको चुच्चे नक्सा किन भारतीय नक्सामा हालेको, किन नेपाली भूभाग कब्जा गरेको ? भनेर बोल्ने साहस हुने कुरै थिएन, त्यस्तो दुस्साहस गरेनन् । यिनहरू भन्छन्– लोकतन्त्र कार्यान्वयन भइसक्यो, गणतान्त्रिक लोकतन्त्र निकै बलियो भएको छ । अब प्रतिगमनकारीले हल्लाउन पनि सक्दैनन् ।
हो, हिन्दुवादी र राजतन्त्रवादीको आन्दोलनले लोकतन्त्र ढाल्न सक्दैनन् । तर राजतन्त्रवादीको हौसला र विद्रोह झन झन बढेर गएको दृश्य विश्वले देखेको छ । कुनै पनि बेला श्रीलंकामा देखिएजस्तो जनताको भीडले भ्रष्ट शासकलाई खेदेको दृश्य नेपालमा देखियो भने आश्चर्य नमाने पनि हुन्छ, किनकि जनता आक्रोसित छन् ।
शासकहरूले ठानेका छन्– भारतलाई २० करोडसम्म कुनै पनि योजनामा लगानी गरे हुन्छ भनेर लाइसेन्स दिएका छन् । विश्वका कुनै पनि एक देशले अर्को देशमा यसरी सिधै लगानी गर्न पाउँछ ? विश्वका कुनै दुईदेशवीच १८८० किलोमिटर लामो नियमन नै नहुने खुला सिमाना छ ? ०४६ सालमा विदेश, सुरक्षानीति र २० लाखलाई नागरिकता दिन नमानेको राजतन्त्रलाई ढालेर भारतले जुन राजनीतिक अवस्था सिर्जना गरेको छ, त्यसबाट भरपूर दोहन गरिरहेको छ र बिस्तारै नेपाललाई भारतीयकरण गर्दै गएको देखिन्छ । भारतले दिने सामान्य कोटा, छात्रबृत्ति, एम्बुलेन्सका लागि हारगुहार गर्ने हाम्रो राजनीतिक नेतृत्व स्कूल, पानी, बाटोघाटोजस्ता योजनामा २० करोडसम्मका योजना माग्न लाइन लागेर धाउने छन् र भ्रष्टाचारसमेत गर्नेछन् । १९७५ मा जस्तो परिदृश्य देखिएको थियो सिक्किममा, ३२ मध्ये ३१ सांसदले भारतमा मिल्न तैयार छौं भनेर संसदमा प्रस्ताव नै पारित गरेका थिए, कतै त्यस्तो दुर्दिन नेपाल र नेपालीले भोग्न नपरोस् ।
भारतका विदेशमन्त्रीले नेपालमा भारतीयकरणको ठूलै सनसनी फैलाएर गएका छन् । यसबाट मोदी खुशी होलान्, नेपालमा खुशी मनाउने कुनै कारण छैन । किनकि नेपालमा महाकालीसन्धिदेखि भ्रम फैलाइएको हो, फैलाइँदै छ ।