Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

Image

अब केशरबहादुर बिष्टको आन्दोलन

शाश्वत शर्मा

२० मंगलबार , चैत्र २०८०२ महिना अगाडि

अब केशरबहादुर बिष्टको आन्दोलन

दुर्गा प्रसाई थाकेजस्तो छ, अब केशरबहादुर बिष्ट राष्ट्रिय शक्ति अभियानसहित  तातेका छन् । चैत २३ गते हिन्दुधर्म र संवैधानिक राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन गर्ने बुझिएको छ । यो कार्यक्रममा विश्वहिन्दु महासंघ, शिवसेना, वीपी कांग्रेसबाट चोइटिएकालगायतले साथ दिदैछन् । राप्रपा, राप्रपा नेपालसँग कुरा हुँदैछ । हिन्दुराष्ट्र र राजतन्त्रका नाममा बनेका ६ दर्जन संघसंस्थाहरू एकाकार नसकेको प्रमाण यो अर्को आन्दोलन हो । राष्ट्रियता, धर्मसंस्कृति, राजसंस्था, हिन्दुराष्ट्रका विषयहरूमा धेरैपटक सडकमा जुलुस निस्किए, सबै पानीको फोकासरह हुनपुगे । निराश र हतास जनता तुरून्तै परिवर्तन चाहन्छन्, समस्या परिणाममुखी आन्दोलनको छ । यो तप्काले गरेको आन्दोलन मोटरसाइकल ¥याली, जुलुस, आमसभामा सिमित छ । एक वा एकाध दिने आन्दोलनजस्तो गर्ने गरिएको छ । यस्ता हलुका आन्दोलनबाट गैंडाको छालाजस्ता भइसकेका गणतन्त्रबादीलाई तातोपानी पनि लागेन, लाग्दैन । हिजो दुर्गा प्रसाई, शिवसेना, वीर गोर्खालीहरूले आन्दोलनको नाटक मञ्चन गरे । कसैलाई विश्वास छैन, यस्ता आन्दोलनले परिवर्तन ल्याउँछ भनेर । बिद्रोह गर्ने ताकत कसैसँग छैन । अब केशरबहादुर बिष्ट तातेका छन्, उनको यो तताइले पनि केही होलाजस्तो लाग्दैन, हेरौं ।

ढुंगामुढा गरेर ल्याएको गणतन्त्र, लुटतन्त्रमा रूपान्तरण भइसकेको छ । सडकबाट माग्दैमा यिनले सर्लक्क गणतन्त्र बुझाउँछन् भन्नेमा कसैलाई विश्वास छैन । खाली तमासा देखाउने र हिन्दुधर्म तथा राजतन्त्रको बेइजत गर्नेमात्र काम भइरहेको छ । केशर बिष्टको आन्दोलनमा कति मानिस जम्मा हुन्छन् ? आन्दोलन गर्न र आफ्नो अधिकार लिन पनि ज्याला खाने बानी परेका नेपालीले केशर बिष्टको आन्दोलनमा साथ देलान् र ? राष्ट्र दोहन गरेर र पैसा बाँडेर राजनीति गर्न पल्केकाहरूले आफैलाई चुस्नु चुसेको जनताले बुझेका छन्, चेतेका छैनन् । जबसम्म लूट बन्द गरिदैन, यी लुटाहाहरूले पैसाको राजनीति गर्न छाड्ने छैनन् । यसकारण पनि राष्ट्रियता, राजतन्त्र, हिन्दुराष्ट्रका लागि हुने आन्दोलन सफल हुँदैनन् ।
 

नेपालमा परिवर्तनका लागि हिजो विदेशीले साथ दिए, सहयोग गरे । त्यो चाहिने रहेछ । सुरक्षा निकायले पनि साथ दिनुपर्ने रहेछ । विदेशी चलखेल गर्न पाएका छन्, धर्मपरिवर्तन गर्न छुट छ, अनि किन सहयोग गर्थे र ? राजतन्त्र आयो भने जेमन्त गर्ने छुट पाइदैन । फेरि युवाजति विदेशमा, बाँकी बचेका भ्रष्टनेताहरूको शरणमा छन् । जनता पीडामा छन् तर चुनावका बेलामा यिनै लोभीपापीलाई मत दिन्छन्, जिताउँछन् । जबसम्म जनता प्रभावमा पर्छन्, भ्रष्टलाई जिताउँछन्, यो देशमा परिवर्तन सम्भव नै छैन, सुशासन हुँदै हुँदैन । राज्य मान्छे मार्छ, १० लाख दिन्छ, जनता चूप लाग्छन् । अन्याय सहन्छन् । नियति पीडादायी नभए के हुन्छ ?
 

भन्नुको तात्पर्य नेपाली जनता यो हदसम्म बिग्रिसकेका छन् । ज्यानसँग पैसा साट्ने, पैसासँग चुनाव जिताइदिने, चुनाव जित्नेहरू जनतामाथि नै अत्याचार गरिरहने । यस्ता जनतालाई बिद्रोह गराउन सक्ने ताकत केशरबहादुर बिष्टसँग पनि छैन । बरू अन्तर्वार्ता दिएर बसेकै बेस । हिन्दुराष्ट्र, राजतन्त्र, राष्ट्रियता लोकतन्त्रवादीले लुट्ने, अरूले सडकमा तमासा देखाउने बिषय बन्यो । केहीले संसदमा पनि तमासा देखाइरहेका छन् । उपलब्धि शून्य । यस्ता केही हजार मानिसलाई सडकमा उतारेर भाषण गर्ने अनि आत्मरती गर्ने प्रकृया बन्द गरौं । गणतन्त्रवादीले जनता र देशको दोहन गरिरहेकै छन्, राष्ट्रवादीहरूले पनि जनतालाई अलमल्याउने कम नगरौं । एउटै विचार, सिद्धान्त, लक्ष्य भएकाहरू एक हुनसक्दैनन् भने तिनले आन्दोलनलाई परिणाममुखी बनाउनै सक्दैनन् । 

आन्दोलन सफल हुन्छ, राजाको निगाहको प्रधानमन्त्री हुन अहिले नै यिनीहरूवीच झगडा छ भन्ने पनि सुनिन्छ । कठै, सपनामा घ्यूको लड्डु खानेहरू ? दया लाग्छ । पूर्वराजाको कर्णालीतिर भ्रमण भए हुन्छ । अन्यत्रका जनताले जयजयकार गरेजस्तै त्यो क्षेत्रमा पनि जनताले जयकार गर्नेछन् । पक्का छ, जबसम्म हिन्दुवादी र राजतन्त्रवादी एक हुनसक्दैनन्, तबसम्म कुनै आन्दोलनले लूटतन्त्रलाई परिवर्तन गर्न सक्दैनन् । यसकारण केशरबहादुर बिष्टको आन्दोलन पनि दुर्गा प्रसाईकै गतिमतिमा पुग्नेवाला छ । हेर्दै गए हुन्छ ।