Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

छोरीलाई योगमाया किन नबनाउने ?

२२ मंगलबार , फाल्गुण २०८०२ महिना अगाडि

छोरीलाई योगमाया किन नबनाउने ?

केटीहरूलाई सानैबाट महिला बनाउन हाम्रा कृयाकलाप धेरै महत्वपूर्ण रहन्छ  । सानैदेखि केटीलाई डल अर्थात् खेलौनाकी परी बनाईन्छ । रंगीचंगी लुगा, चुरा, माला, गाजल, टीका, रङ्गीचङ्गी रिवनडोरीले सजाईदिएर राम्री बनाउने होडबाजी लगाईन्छ । संसारकै सुन्दर वस्तुसंग दाँजेर उसलाई फुरूङ्ग पार्ने गरिन्छ । उमेर बिकास क्रममा केटीलाई आमाको आँचलमा लुटपुटिनु, पिताको मायालु हातले शिरमा सुमसुम्याउनु जस्ता ब्यावहारले उसले सहारा अनि सुरक्षा पाएको महसुस गर्छे । जब कि केटाहरू यस्तो खालको ब्यवहारलाई नाटकजस्तो मान्छन् बिस्तारै उनिहरू कठोर बन्दै गईरहेका हुन्छन् । यता केटीलाई डल बनाईरहँदा केटालाई मानिस बन्न भनिन्छ । क्रमिक रूपमा यी ब्यवहारले केटीहरू अलि अलि गर्दै परनिर्भरजस्तै बन्नथाले । सुन्दरी बन्नेचाहना बढ्दो रह्यो । अरूले सुन्दरी भनिदिंदा मनमा आनन्द महसुस गर्ने, प्रफुल्लित हुने स्वभाव बढ्दो रह्यो । उनिहरूमा सुन्दरी बन्ने चाहनाले आफ्नो भित्री सुन्दरतालाई कुल्चिदिएर बजारी वस्तुलाई मुहुर्त बनाउन थाले । मानसिक शक्ति सुन्दरताको बजारमा हल्का बन्छ भन्ने बिचारबाट अचेतना तर्फको भाव बलियो भयो ।
बिकसित हुने क्रममा सिकाईएका कतिपय हाम्रा क्षीण सन्देशले पनि केटीहरूलाई महिला बनाउन मद्दत गर्यो । जुन अर्तिउपदेश केटीलाई दिईयोे त्यहि उपदेश केटालाई दिइएन । केटीलाई खानदेखि लिएर बोल्न हिड्न सम्म सिमारेखा कोरिए तर ती सिमारेखा केटालाई कोरिएन । केटालाई मर्द, मानिस बन, लोग्ने मान्छे बन, तिमी कठोर हुनुपर्दछ । घरपरिवार, समाज, देशका साथै तिमीले आमा दिदीबैनी, पत्नी, छोरीको रक्षा गर्नुपर्छ भनेर सिकाइयो तर केटीलाई तिमी त कोमल हृदयकी,सुन्दरी, लजालु, शान्त बत्तीस लक्षणयुक्त असल नारी बन्नुपर्छ भनियो । तिम्रो रक्षार्थ बाबा, दाजुभाई, पति अनि छोरा हुनेछन् भनियो तर उसलाई तिमी आफ्नो सुरक्षा आफै गर्न सक्छौ, तिमीमा पनि आँट साहस हुनुपर्छ र छ, त्यसको प्रयोग गर्नुपर्छ, समयपरिस्थिति अनुसार आईलाग्ने माथि जाईलाग्नु पर्छ भनेर सिकाइएन । उनलाई सिकाइयो त केवल पतिपरमेश्वरको सेवामा जुट्नुपर्छ, सहनशिल हुनुपर्छ, दुईचार अत्याचार त पियर बस्नुपर्छ भनेर सिकाइयो सोही सिक नै आज हाम्रो संस्कार बन्यो । त्यहि संस्कार अनुसार आज पनि केटी महिला नै बनिरहेका छन् । अर्थात् तिनै सजिएर पतिको अगाडि जानुपर्ने, सुन्दरी देखिनु पर्ने अनि वस्तु जसरी प्रस्तुत हुनुपर्ने ब्यवहार हावी भयो ।
मानवलाई आचरणको निर्देशन गर्ने धेरै बिधिबिधानहरू छन् । मनुसंहिता मानव जातीका लागि त्यस्तै बिधिनियम हो । आजसम्म पनि हिन्दुहरू मनुस्मृतिकै अनुशरण गर्दछन् । मनुस्मृतिमा लेखिएका बिधिहरू भागवत गीतामा समेत उल्लेख गरिएका छन् । मनुस्मृतिमा लेखिएको छ– स्त्रीहरूलाई स्वतन्त्रता प्रदान गरिनु हुदैन भनेर ।स्त्रीलाई बालकसँग दांजिएको छ । स्वतन्त्रता नदिनुको अर्थ दास बनाउनु थिएन स्त्रीलाई स्वतन्त्रता दिइयो भने संसारको सामाजिक स्थिति सुधार हुँदैन भन्ने मान्यता थियो सोही अनुरूप स्त्रीलाई बाल्यकालमा पिताद्वारा, यौवनावस्थामा पतिद्वारा र बृद्धाअबस्थामा छोराद्वारा संरक्षण दिनुपर्छ भन्ने लेखियो र आज पनि मनस्मृति अनुशरण गर्नेहरूमा एक किसिमको छाप बस्यो । त्यहि छाप पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आएको छ ।
छोरीलाई महिला बनाउनमा हाम्रा धार्मिक ग्रन्थ अगाडि नै छ । धार्मिक ग्रन्थ अनुसार छोरीलाई ज्ञान र शिक्षा आर्जन अधिकारबाट बन्चित गराइयो ।बेद,भागवत पढ्न हँुदैन भनियो । ती ग्रन्थहरूबाट महिला पात्रहरू अगाडि उभ्याइयो जसको अनुशरण गरि उनिहरू जस्तै बनुन् । छोरीलाई सीता, सतिसाबित्री, मन्दोदरी,गोमा जस्ता बन्नुपर्छ भनियो तर म्याडम क्युरी, जुन्कोे तावेइ, योगमाया, गार्गी बन भनेर जोडबल दिईदैन ।
संस्कृति, साहित्य, धर्मशास्त्रबाट छोरीलाई छोराजस्तो आँटिलो, आक्रामक, जिम्मेवार बन्न पर्खाल लाग्यो ।
सिनेमा, सुन्दरी प्रतियोगिताले महिला शसक्त नदेखाउने अर्थात परनिर्भर हुनुपर्ने वास्तविकतामा जोड दिएको हुन्छ । यसले त झन् छोरीलाई बाह्य आवरणको सुन्दरताका लागि हौस्यायो । यसैले उनिहरू महिला बन्दै जान्छन् ।
गौण कुरा त के भने छोरी जन्मदादेखी नै पराया धन मान्ने हाम्रो संस्कारले सम्पत्तिको हकबाट बन्चित गरिदियो त्यसबेला ऊ पुरूष सरह मानव पनि हुदिन । यसउसले पनि छोरी महिला बन्दै जान्छे । जन्म दिने बाबुको घरमा त उ पराया हुन्छे भने पछि सम्बन्ध बनाएको घर कसरी बन्ला आफ्नो ? प्रश्न मनमनै गर्छे, ब्यक्त गर्दिन किनकी छोरी सृष्टि हो, पृथ्वी हो उसले सहनु पर्छ भन्ने मानसिकता बोकेकी हुन्छे । जुन सिख सिकाइयो त्यसको प्रभाव आज पनि हामी महिलामा प्रचुर मात्रामा छ । त्यहि सिख हामी छोरीहरूलाई दिईरहेका छौं । हामी अर्काको मुखबाट आफ्नो बाहिरी सुन्दरताको बयान सुन्न चाहान्छौं, त्यसैमा सफल ठान्छौं र त आज पनि बजारिया बस्तुको प्रभावमा छौं । बजारिया वस्तुले हाम्रो भित्री सुन्दरताको खिल्ली उडाउँदा हामी हर्षबिभोर हुन्छौं । छोरी वयस्क बनिसकेपछि सुन्दरी बन्न लालायित हुन्छन् । उनलाई उनको सुन्दरता के हो चिनाउने बजारिया सामान हैन उनी भित्रको क्षमता, कुशलता, आँट, हौसला हो भनेर किन नसिकाउने ? तिमी सक्छौ भनेर हौसला किन नदिने ? अब छोरीलाई सतिसावित्री, मन्दोदरी बनाईरहने कि पासाङ ल्हामु, योगमाया, म्याडम क्युरीहरू बनाउने ?
असली घोडा ! !