banner
banner

रत्न भए पो, खोटासिक्का कसरी चम्कियुन् ?

राजन कार्की - -
चुनाव आयो, प्रत्येक नेपालीले भोट हाल्नुभन्दा पहिला आफ्ना नेतालाई सोध्नुपर्छ– तपाईले जीवनभर देश र जनताका लागि के गर्नुभयो ?
सुनलाई वाणाले घोटेर सुन कि पित्तल, सुन भए नम्बरी हो होइन पत्ता लगाए झैं, जनप्रतिनिधि सही हो कि गलत भनेर जनताले खरी घस्नुपर्छ । खरी घस्ने चुनावमै हो । अरू बेला त नेतालाई जनताले भेट्न पनि सक्दैनन् । 
जनताले अहिले बुझ्नैपर्छ– इमान गुमाएका बेइमानहरूलाई सत्ता र शक्तिको मात्र चिन्ता छ । सीमा किन लुटियो, सुशासन किन भत्कियो, जनता किन के भनेर चिच्याइरहेछन्, शिक्षा स्वास्थ्यको हालत के छ, कसरी सुधार गर्ने ? कुनै पनि विषयमा गठबन्धन सरकारलाई न चासो छ, न सरोकार ।
गठबन्धन सरकारको एउटै लक्ष्य चुनाव हो । जसरी पनि एमालेलाई सडकमा पाहा पछारेझैं पछारेर सत्ता कब्जा गर्ने । त्यसो भए किन दुई दलीय व्यवस्थामा नजाने ? कांग्रेस, माओवादी, मधेशवादी, जनमोर्चाजस्ता पार्टीमा सैद्धान्तिक विभेद बाँकी रहेन भने एउटै चिन्हमा चुनाव लड्नेमात्र किन एउटै दल बनाए भइहाल्यो ।
बिगत १५ वर्षमा देखिएको सत्ता स्वार्थ र भ्रष्टाचारमात्र हो । कुनै पनि नेताप्रति जनविश्वास छैन । बिकल्प नभएकाले यिनैले जित्तै आएका छन्, अब पनि यिनैले जित्नेछन् । एकाध बिरालाकोटीबाहेक स्वतन्त्र अथवा विवेकशील युवाले चुनाव जित्नेछैनन् । हातमुख जोर्ने समस्यामा भएका जनताले विद्रोह गर्न सक्दैनन्, बाँकी पार्टीका झोला बोकेका छन्, तिनका लागि गाई भैंंसी बराबर ।  यसकारण २०६३ सालपछिका सबै परिवर्तन बुलेट टे«नको गतिमा भयो, परिवर्तन जनताको जीवनचरित्र बन्न सकेन । केहीवर्ष अघि जयनगरबाट जनकपुरतिर जानुपर्ने रेल एकदिन चालक बस्दै नबसी कुद्यो । धन्न त्यतिबेला ठूलो दुर्घटना भएन । त्यस्तै पारा छ नेपालको लोकतन्त्रको । चालक छन्, झगडा गरेर समय बिताइरहेका छन्, लोकतन्त्र आफै चलिरहेको छ । प्रष्ट कुरो के हो भने व्यवहारिक रूपमा लोकतन्त्र दुर्घटनाग्रस्त भइसक्यो । लोकतन्त्रका चालकहरू मानसिक सन्तुलन र इमानमा छैनन् ।
हाटबजारमा मेला लाग्छ, बजार लाग्छ । जात्रे हुन्छन्, जात्रा देखिन्छ । राजनीति गर्छु भन्नेहरूले लोकतन्त्रलाई जात्रा बनाइदिए । नेतृत्व भनेको लाखे नाच भयो । संसदीय व्यवस्थामा अदालतले सरकार बनाइदियो । यसपछि गठबन्धन सरकारले जुन तमासा देखाइरहेको छ, त्यो रत्नपार्कमा चटकेले देखाउने चटकभन्दा भिन्न छैन ।
आखिर नेपाली नेता भनेका धुलाघाटका हाट बाजारू न रहेछन् । विदेशी आउँछन्, स्वार्थ लाद्छन्, हाम्रा नेताहरू दलाली भाग खाएर डकारिरहेका छन् । यिनका लागि राष्ट्रियता सत्ता स्वार्थभन्दा कत्ति महत्वको रहेन । हामी समृद्ध बन्ने नारा लगाएर बिक्री हुदै गइरहेका छौं, सुशासनको कुरा गरेर कूशासित भइरहेका छौं । हामी लाइन लागेर बिदेशीने क्रम जारी छ, स्वदेशमै बेचिनु हाम्रो नियति हो । हामी कति डरलाग्दो भ्रममा श्वास फेरिरहेका छौं, त्यो बुझ्नेहरूले बुझेका छन् । सोझा नेपालीले चप्पलेहरूको नवाबी परिवर्तन कहिल्यै बुझेनौं । हुने र नहुनेहरूको खाडल किन चौंडा बन्दैछ, बुझ्ने चेष्टा गरेनौं । कहिल्यै चेतेनौं र जान्ने प्रयत्न नै गरेनौं । नेताका खोक्रा नारामा सुख र सपना सजाउने हाम्रो सरलपन हाम्रै लागि सराप बन्दै गएको छ । भन्नैपर्छ, लोकतन्त्र लोकमय हुनसकेन ।
मान्छेका शरीरमा अझै जनयुद्ध र युद्धका बिभिषिका, गोलीको होली र आफन्त गुमाउनु परेको पीडा चहराइरहेकै छ । बुद्धभुमिका भूमि पुत्रपुत्रीहरूको छटपटी बेपत्ता र मेलमिलाप आयोगमा दर्ता भएका ६४ हजार उजुरीको चाङमा साक्षी छन् । ती आयोग सुतेर बसेका छन्, तिनले पीडितहरू न्याय पाउने क्षण पर्खिरहेको भेउ पाउनै सकेका छैनन् । छानबिन हुन्न, अनुसन्धान गरिन्न र पीडितलाई थप पीडा दिइन्छ भने किन ती आयोग गठन गरियो ? विश्व अधिकारकर्मीहरू दण्डहीनता अन्त गर भनिरहेका छन्, जन्मकैद पाएका व्यक्तिहरू आममाफी पाउँछन् । यो दृष्टान्त दुर्योधन शासन होइन र ?
जनयुद्धमा १७ हजार मार्ने माओवादी सत्तामा छ । ०२८ सालमा १४ जना गिड्ने एमाले ले दुई तिहाइको सरकार चलायो । अहिले कांग्रेस, माओवादी, जनवादीको गठबन्धन सरकार छ । दण्डित हुनुपर्नेहरू दिनदिनै पुरस्कृत भइरहेका छन् । जेलमा जानुपर्नेले सत्ता हाँक्ने ? योभन्दा लोकतान्त्रिक मजाक अरू के हुन्छ ?
१५ वर्षदेखि भ्रष्टाचार र अनियमितता खूब चम्कियो । जनताको आँखामा न फूल फुल्यो, न उज्यालो आयो । निरङ्कूशता गयो भनियो, अन्धकार युगबाट नेपालले मुक्ति पाएन । परिवर्तनको थेगो यस्तो पेण्डाराको बाकस रहेछ, जति जति खुल्दै गएका छन्, त्यति त्यति राष्ट्र र जनता निसास्सिदै छन्, सकस बढ्दै गएको छ । जे भइरहेको छ, त्यो सेटिङ् र भीडतन्त्र हो, भ्रष्टाचारतन्त्र हो ।
निरङ्कूशता गयो भनियो, अन्धकार युगबाट नेपालले मुक्ति पाएन । परिवर्तनको थेगो यस्तो पेण्डाराको बाकस रहेछ, जति जति खुल्दै गएका छन्, त्यति त्यति राष्ट्र र जनता निसास्सिदै छन्, सकस बढ्दै गएको छ ।जे भइरहेको छ, त्यो सेटिङ् र भीडतन्त्र हो, भ्रष्टाचारतन्त्र हो ।
निर्मला पन्तको बलात्कारपछि हत्या भयो, प्रमाण नष्ट गरियो । छोरा मार्नेलाई कारवाही होस् भनेर गंगामायाँ अस्पतालमा काल कुरिरहेकी छिन् । उनका पतिको लाश किन ७५ वर्षदेखि टिचिङ अस्पतालको फ्रिजमा हिउँको डल्लो बनाएर राखिएको छ ? बालुवाटार जग्गा काण्डदेखि वाइडबडी, कोरोनाको औषधि खरिद हरेक कुरामा भ्रष्टाचार । सुनकाण्ड, हत्याकाण्ड सामसुम भइसक्यो । अदालत अपराधीलाई सुनपानी छर्कने बाइसधारा बनेपछि सुशासन भत्किनु स्वभाविक हो । यहीकारण नेपाल अस्तित्वको संकटमा परेको छ ।
विद्वानले उहिल्यै लोककल्याणकारी राज्यका सन्दर्भमा भनेका थिए– इमान बेच्नुहुन्न, काम ठग्नु हुन्न, सत्य र सच्चरित्र अँगालेर संयमी बनेर समयको बेगलाई समात्नुपर्छ । यो चेतमा को सजग छ ? बीउ गुनाको बाली, फल हेरेर बोट चिनिन्छ भन्ने लोकोक्ति नेपालको वर्तमान हो । बगिसकेको पानीले घट्ट घुमाउन सक्दैन भनेको यही हो । लोकतन्त्र– खोटतन्त्र, खुनीतन्त्र, पहुँचतन्त्र, प्रभावतन्त्र, अयोग्य पुजित तन्त्र, नातावादतन्त्र भयो ।
भारतीय टीभी दुरदर्शनले १९८९ को मार्च महिनामा नेपाली ऋषिकेश शाहलाई ‘फोकस’ कार्यक्रममा बकायो– नेपालले सुरक्षा भारतको हातमा दिनुपर्छ, सुरक्षा छाता ओढेर सुरक्षित बस्नुपर्छ । त्यसपछि बीबीसीले नेपाल भारतमा मिलाउनु ठिक कि बेठिक भनेर सर्भेक्षण नै गरायो । ३ वर्षदेखि नेपालको कालापानी, लिपुलेक भारतले खाइदियो, हामी नक्सा समातेर बसेका छौं । नागरिकता बाँड्ने निर्णय हुन्छ, स्वाधीनतामा बहस नै हुँदैन ।
नागरिकताकै कारण दरवार हत्याकाण्ड भयो । राजाको त्यो राष्ट्रवाद, त्यो नेपालप्रेम २०५८ सालको दरवार हत्याकाण्डपछि जनताले राजाको काजकिरियामात्र गरेनन्, आजसम्म त्यो राजाको फोटोमा धुपबत्ती गरेर आरती उतारिरहेबाट अनुभव गर्न सकिन्छ । राजनेता कस्तो हुनुपर्छ ? आज त्यस्तो राजनेता को छ ? राजनेता बन्ने इच्छाशक्ति कुन नेतामा छ ? हिजो थिङ्क टेङ्क थिए, देशका लागि थिङ्क गर्थे । आज गनाउने छिपाको घ्याम्पो छ र घ्याम्पो आफैमा लठ्याउने तत्व हो । जो कुअन्न कुहाएको घ्याम्पोमा डुब्छ, उसले कसरी सफा थिङ्क गर्न सक्छ ? आज थिङ्क टेङ्क छन्, देख्नाका डाल, खानका काल ।
सन १७६५–१८६८ सम्मका अन्तिम पाटनका मल्लराजा तेज नरसिंह मल्लले ६ प्रधानलाई अघि सारेर शासन चलाएका थिए । राजा पाटन दरवारमा झुल्थे, ६ प्रधान शासनमा भुल्थे । ६ प्रधानले मन नपरेकालाई षडयन्त्र र चक्रव्युहमा फसाइ फसाइ आँखा निकालेका घटना पनि भए । डरलाग्दा ती इतिहासका पानामा अङ्कित घटना र वर्तमान नेपाल, पीडितलाई थाहा छ । आमनागरिक ऐया ऐया भनेर चिच्याइरहेका छन्, सुन्ने सरकार छैन । उही देउवा, ओली, प्रचण्ड जो स्वार्थको घट्ट घुमेझैं घुमिरहेका छन् । यो त अति भयो भनेर कराउने कराइरहेका छन्, सुन्ने कोही छैन ।
मुगल सम्राट अकबरले नवरत्नमार्फत शासन गरेको इतिहास छ । अब्दुल मुवारक प्रधानमन्त्री, राजा तोडल मल अर्थ र वाणिज्य मन्त्री, अव्दुल रहिम खान रक्षा, राजा बीरबल विदेशमन्त्री, मुल्ला दो पियाजो गृह, फैजी शिक्षा, फकिर अजियो दिन धर्म, तानसेन संस्कृति, राजा मानसिंह सेनापति । अकवर र वीरवलका अनेक किस्साहरू चर्चित छन् । हाम्रो लोक शासनमा रत्न नभएरै नचम्किएका पक्का भयो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper