banner
banner

नेतृत्वप्रति जनतामा किन नैराश्यता बढ्यो ?

राजन कार्की - - - 
राजनीति सेवा हो कि व्यवसाय ? राजनीति सबै नीतिहरूमा श्रेष्ठ हो कि निकृष्ठ ? यही छेउछन्द नभेट्टाउँदा नेपालको राजनीति र राजनीतिले हाँकेको प्रशासन प्रति जनताले आश्वस्त र विश्वस्त हुन नसक्नुको मुख्य कारण बनेको छ । राजनीति सफल हुन नसकेपछि देश असफल हुनेरहेछ ।
हिजो राजतन्त्र थियो, यो त सामन्ततन्त्र भयो भनेर स्याल हुइया चलाइयो र किनारा लगाइयो । हिन्दुराष्ट्र थियो, राजनीतिक बल प्रयोग गरेर महिमा मण्डन गरियो, यसलाई पनि किनारा लगाएर धर्मनिरपेक्षता ल्याइयो । राजनीतिको चक्रव्यूहमा फसेको राजतन्त्र र हिन्दुधर्म १५ वर्षदेखि चूपचाप मृतमय बनेका छन् । नेपाल अब स्वर्ग बन्छ, बनाइन्छ भन्ने तारणहारहरू अझै पनि भ्रम छरिरहेका छन् । नेपाल स्वर्ग बन्न सकेन, भएको नेपाल पनि अस्तित्वको संकटमा फस्न पुगेको छ ।
मुक्ति दिने कसले ? जो युवा छन्, विवेकशील छन्, बोल्न सक्दैनन् । जो नेतृत्वमा छन्, उनीहरू आफ्नै अस्तित्व र बाहुबली स्थापित गर्ने धूनमा छन् । एकले अर्कोलाई देखिसहदैनन्, देशका लागि एकता पनि गर्न सक्दैनन् । देश दुर्भाग्य भोगिरहेको छ । नेतृत्व आफ्नै रणनीतिमा मोहित भइरहेको छ । जब कि नेताहरूको रणनीति न जनताका लागि हो, न देशका लागि । उनीहरूको नेतृत्व कहिले प्रशंसनीय हुनसकेन ।
अब त कोही अघि सर्नुप¥यो । चुनाव आयो, जनताका सामु उही कानै चिरिएका जोगीमात्र छन् । विकल्प छैन । विकल्प बन्ने को ? दिने कसले ? कोही दिन सक्दैनन् भने परम्परागत शक्ति अघि सर्नुपर्छ । देशमा हिजो भक्ति थापाजस्ता वीर थिए । पुर्षाले रगत पसिना र बलिदान दिएर देश निर्माण गरे, हामीले यो गौरवलाई बचाउनु पर्छ, आउने पुस्तालाई सग्लो देश दिनुपर्छ, यस्तो हेक्का राख्न सकेको भए देश यसरी बर्बादी र लथालिङ्ग हुने थिएन । देश असफल राष्ट्र घोषणा हुनमात्र बाँकी छ, यसकारण नेतृत्वमा कसैले त कम्मर कस्नैपर्छ, अघि सर्नैपर्छ ।
नेता गलत भए, त्यसको महगो मूल्य देश र जनताले चुकाउनु परेको छ । विधिको शासन कसरी स्थापित हुनसक्छ, यस विषयमा राष्ट्रिय बहस गर्न अबेर भइसकेको छ । विषय नेताको अनुहारमा होइन, समयले उभ्याएको प्रश्नमा हुनुपर्छ । ध्यान सबैले दिनैपर्छ । अन्यथा यो अँध्यारो रात फारिन सक्दैन । नेपाल भ्रष्टाचार र हिंसाको पोखरीमा परिणत हुँदै जानेछ । लोकराज्य हिंसा राज्य भनेर चिनिने छ । अहिले नै ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारी मुलुकको प्रमाण दिइसकेको छ । यो बदनामी हटाउने जिम्मेवारी निर्वाह गरौं । अन्यथा हामी भ्रष्टाचार र कुशासनको अँध्यारोमा हराउने जोखिम बढ्दै जाने छ ।
नेताहरूको झेलका कारणले लोकतन्त्र फेल भयो । पद्धति, प्रणालीमात्र फेल भएको भए हुनुथियो, देश नै फेल अवस्थामा पुग्यो र पो कहाली लाग्न थालेको छ । देशलाई सम्हाल्ने, नेतृत्व दिने सक्षम नेतृत्व देखिएन । जुन पार्टी वा नेता सत्तामा पुग्छन्, उनीहरू आफ्नो स्वार्थ मात्र हेर्छन् । भनिन्छ, सक्षम नेतृत्वले नित्य अनुशासनको प्रयोग गर्नुपर्दछ, नियमलाई मात्र हेर्नु हुँदैन । नियमको साथमा अनुशासनलाई सधैं पालना गर्नुपर्छ । हाम्रो राजनीति, प्रशासन सदैव अनुशासन र नियमलाई स्वार्थमा प्रयोग गर्ने हतियार बनाइदिए । जसका कारणले नेतृत्व झेली देखियो, लोकतन्त्र फेल भयो । संविधान कागजको खोस्टो बन्यो । अराजकता, निरन्तर अराजकताको सिकार बन्नपुग्यो मुलुक ।
हाम्रो राजनीतिले पालना गर्न नसकेको विषय भनेको सहनशीलता र दूरदर्शिता हो । शासन प्रशासनको अन्धकार यही हो । चेतना हुनुपर्ने हो अन्धकार प्रकाशतर्फ चल्दछ, अन्धोपन मृत्युतर्फ । नेपाली राजनीति अन्धकारमात्र होइन, अन्धोपनबाट पनि ग्रसित देखिन्छ । यसकारण त नेतृत्व होसमा छ, चेतमा पनि छ तर घमण्डले चूर छ ।
यतिबेला नेपालको राजनीति चुनावतर्फ उन्मुख छ । चुनाव नियमित प्रकृया हो लोकतन्त्रमा । तर नेतृत्वले जहिले पनि चुनावलाई जीवन मरणको सवाल बनाएका छन् । घोषणापत्र, कार्यक्रमको खाका, दिन खोजेको उपलब्धि भाषणमा सिमित राख्छन् । सुखद भ्रम फैलाउँछन् र सुख कहिले पनि दिने प्रयास गर्दैनन् । यसकारण त १५ वर्षे लोकतन्त्रलाई सुकेनास लागेको छ । कहिल्यै हल्किन सकेन । लोकतन्त्रजस्तो विश्व खुश राख्नसक्ने व्यवस्था पाएर पनि नेपालमा मुर्खहरूको अड्डाजस्ता बन्नपुगेको छ । हाम्रा नेताहरूले बुझ्ने कहिले– नैतिकता नै धर्म हो, धर्म नै नैतिकता । नैतिकता छैन भने धर्म पनि छैन । त्यसैले नैतिकता नै धर्मको सार रूप हो । नेपाली राजनीतिमा खड्को विषय नै यही हो । राजनीति सग्लो नबन्नाले नेतृत्वले राजनीतिलार्य व्यवसाय बनाइदिए । नैतिकधर्म विर्सिदिए । आचरण त डाँकाको भन्दा निर्घिणी देखियो ।
स्थानीय चुनाव जति जति नजिकियो, सत्तारूढ र प्रतिपक्षीबीच पेच हानाहान बढ्दै गएको छ । सत्तारूढ गठबन्धनका ५ दलबीचको पिरलो गठबन्धन भत्किएला र अस्तित्व संकटमा पर्ला भन्ने रहेको छ भने प्रतिपक्षी एमाले गठबन्धन भत्काउन सकिएन भने गठबन्धनले बढार्ला भन्ने चिन्ता रहेको देखिन्छ । शीर्ष नेतामा नेतृत्व असफल होला भन्ने हुटहुटी छ भने दोस्रो र तेस्रो तहका नेताहरू टिकट नपाइएला भन्ने उकुसमुकुसमा छन् । सत्तारूढ दल आफ्ना नेताहरू प्रतिपक्षीमा जालान् भन्ने समस्यामा छन् भने प्रतिपक्षीलाई सत्तारूढका चुनाव जित्नसक्ने खालका नेताहरूलाई आफ्नो दलमा प्रवेश गराउन पाए हुनेथियो भन्ने छ । यही उद्देश्यका लागि सत्तारूढ पाँचै दल र प्रतिपक्षी एमाले हिमाल, पहाड, तराई सबैतिर दौडादौड गर्न थालेका छन् । अर्थात्, यसपल्टको स्थानीय चुनावले प्रदेश र केन्द्रको चुनावको परिदृश्य देखिनेछ भन्छन् निर्वाचन विशेषज्ञहरू ।
अन्य साना दलहरूका आआफ्नै समस्या छन् । राप्रपाजस्तो बैकल्पिक शक्ति बन्छु भन्ने दलले समेत हलो चिन्ह नपाए चुनाव बहिष्कार गरिन्छ भन्ने घोषणा गर्न पुग्यो । राप्रपा नेपाल, जसपा, मधेश लोकतान्त्रिक र अन्य साना दलहरूको छटपटी कुन कुन पार्टीसँग गठबन्धन गर्न पाए चुनाव जितिन्थ्यो भन्ने रहेको छ ।
यसैबीच नेकपा क्रान्तिकारी अर्थात वैद्य समूहले चुनाव बहिष्कार गर्ने घोषणा गरिसकेको छ भने अन्य केही दलले नो भोटको माँग गरिरहेका छन् । यसपल्ट पनि नो भोट र राम्रो काम नगरेका जनप्रतिनिधिलाई फिर्ता गर्नसक्ने अधिकार मतदाताले नपाउने भएका छन् ।
चुनावको कडी गठबन्धन सरकार र प्रमुख प्रतिपक्षी एमालेमा छ । उनीहरू चुनावका लागि तानाबाना बुनेर चुनाव जित्ने रणनीतिमा लागिसकेका छन् । गठबन्धनका दुई ठूला घटक भनिएका माओवादी केन्द्र र नेकपा सका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल प्रधानमन्त्रीलाई मनाएर जसरी पनि गठबन्धनका साथ चुनावमा जान चाहन्छन् । नेपाल कांग्रेस भनेको शेरबहादुर देउवा र उनी नै प्रधानमन्त्रीसमेत रहेकाले उनको निर्णय नेपाली कांग्रेसमा निर्णायक हुने पक्का छ । गगन थापाहरू एक्लै चुनावमा जाने भनेर चिच्याउँदैमा केही हुनेवाला छैन । घरदैलो कार्यक्रममा गठबन्धन कहाँ कहाँ गर्ने भनेर सुझाव पनि संकलन भइरहेकाले त्यसपछि कांग्रेसले गठबन्धनका साथ चुनावमा जाने निर्णय गर्नेछ ।
त्यसो त कांग्रेसलाई पनि एमसिसीका कारणले एमालेले स्वीप गरेर चुनाव जित्ला भन्ने भय छ । प्रचण्ड र माधवलाई त अस्तित्वकै संकट परेको देखिन्छ । यसकारण गठबन्धनका साथ एमालेको आमने सामने टक्करपर्ने निश्चित छ ।
चुनाव लाग्यो, देश चुनावमय बन्दै गएको छ । अर्थमन्त्रालयले बजेट दिए वा नदिए पनि चुनाव हुन्छ । सत्तारूढ गठबन्धन ‘जसरी पनि’ एमालेलाई पछार्ने मनस्थितिमा पुगेका छन् ।
तर, देश र जनतालाई सोच्ने कोही छैनन् । एमसिसी पारित भएपछि चीनका विदेशमन्त्री चैत्र १२ गते नेपाल भ्रमणमा आउने छन् । उनले बीआरआईको प्रश्नमात्र उठाउने छैनन्, एमसिसी पारित गरेपनि नेपाल किन आइपिएसजस्तो अमेरिकी सैनिक रणनीतिमा प्रवेश गरेको ? भन्ने प्रश्नको जवाफ पनि खोज्नेछ । त्यसो त ग्लोबल टाइम्समा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै एक अन्तर्वार्ता दिएर नेपाली भूमि चीनविरूद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएकी छिन् । नेपालको कथनी र करनीमा भिन्नता बढेपछि चीन नेपाली नेताहरूप्रति सशंकित भएकै कारण चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन् ।
चीनले नेपालको झण्डै १४ सय किलोमिटर लामो सीमामा आफ्नो सैनिक उपस्थिति बढाएको खबर छ । नेपालसँगको सीमामा सैनिक सिल बढाउनु भनेको नेपालप्रतिको विश्वासको भर चीनले नगरेकै हो । लामो समयदेखि चीनले नेपालसँग जोडिएका नाकामा कडीकडाउ गर्दै आएको छ । नेपाल चीनबीचका व्यापारमा कटौति गरेको छ । चीनले केही कन्टेनर सेवा रसुवानाकाबाट खोल्ने भने पनि तातोपानी नाका अर्थात मितेरी पुलको मितेरी साइनो भूकम्पपछि साँघुरिएको छ ।
पञ्चशील र असंलग्न परराष्ट्रनीतिमा नेपाल चुक्दै जानुले नेपालको कूटनीतिक क्षमतामा ह्रास आएको पक्कै हो । स्थानीय र त्यसपछि प्रदेश तथा संघीय चुनावका बेलामा राजनीतिक तिक्तता बढ्ने र नेपालको कूटनीतिमा ध्यान कम जाने भएकाले नेपालको विश्व व्यक्तित्व अरू चाउरिनेछ ।
देश र जनताप्रति संवेदनशील हुनुपर्ने स्थायी सरकारको रूपमा रहेको प्रशासन, नागरिक समाज, बुद्धिजीवी, प्रेसले राजनीतिकरण भइदिंदा नेपालको अस्तित्व जोखिममा पर्दैगएको छ । यसतिर ध्यान दिने कसले ? 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper